विराटनगर । डा. वीरेन्द्रकुमार विष्ट पूर्र्वी नेपालमा न्यूरोलोजीका अगुवाको रूपमा परिचित रहेका छन् । पूर्वी नेपालका पहाडी जिल्ला, तराई र भारतका धेरै बिरामीको उपचार गरेर ख्याति आर्जन गरेका कारण मात्रै होइन, पूर्वमा न्यूरो उपचार सेवाको भरपर्दो विकल्प पेश गरेका कारण पनि डा. विष्टको यस्तो पहिचान बनेको हो ।
जन्मथलो विराटनगरलाई नै कर्मथलो बनाएर तीन दशकदेखि अनवरत स्वास्थ्य उपचार सेवा दिइरहेका उनले हजारौंलाई बचाएका छन् । उनले आर्जन गरेको सीपले प्रदेश १, मधेश प्रदेश र भारतका हजारौं मानिसको जीवनलाई सहज बनाएको छ । डा. विष्ट पूर्वाञ्चलमा पहिलोपटक न्यूरोलोजी सेवा भित्र्याउने चिकित्सक हुन् ।
दैनिक औसत ८० देखि एक सय जना बिरामीलाई सेवा दिँदै आएका उनले २० वर्षको अवधिमा ५ लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं बिरामीलाई नयाँ जीवन दिएर डा. विष्ट ती बिरामीका परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । आफ्नै नेतृत्वमा स्थापना भएको न्यूरो अस्पतालमा काम गर्दा डा. विष्ट अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरूलाई देउता सम्झन्थे ।
जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् । उनले पूर्वमा न्यूरोलोजी सेवा सुरु गर्नुभन्दा अघि यहाँका बिरामी भारतको सिलिगुडी र काठमाडौं जानुपर्ने अवस्था थियो । स्थानीयस्तरमा न्यूरो सेवा सुरु भएपछि त्यो बाध्यता अन्त्य भएको छ । न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र मधेश प्रदेशका बिरामीले न्यूरोसम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् ।
बुबा गङ्गाप्रसाद र आमा कृष्णकुमारी विष्टको कोखबाट २०१४ साल माघ १७ गते डा. विष्टको विराटनगरमा जन्म भएको हो । परिवारका कान्छा छोरा उनले विराटनगरको आदर्श उच्च माविबाट एसएलसी उत्तीर्ण गरे । उच्चशिक्षा भारतबाट र सन् १९८९ मा भारतको जम्मुकश्मीरबाट एमबीबीएस गरे । मेडिकल अफिसर भएर स्वदेश आएपछि विराटनगरको कोसी अस्पताल, टिचिङ हस्पिटल र माल्दिभ्समा पनि गएर सेवा गरे ।
त्यसपछि उनी इङ्ल्याण्ड गए । लन्डनको युनिभर्सिटी कलेज अफ लण्डनको इन्स्टिच्युट अफ न्यूरोलोजी क्विन स्क्वायरबाट न्यूरोलोजीमा ‘पिजी’ गरेका थिए । उनले न्यूरोलोजीमा पिजी गरेको सन् १९९९ मा हो । न्यूरोलोजिष्ट भएपछि स्वदेशमै सेवा दिने उद्देश्यले विराटनगर आए र आफ्नै लगानीमा १० शय्याको न्यूरो अस्पताल खोलेर सेवा सुरु गरे । त्यसपछि ५० शय्या हुँदै अहिले १ सय ५० शøयाको अस्पताल रहेको छ । थप विकास गरेर ३ सय शøयाको अस्पताल बनाउने योजना रहेको उनले सुनाए ।
‘आमा मधुमेहको बिरामी हुनुहुन्थ्यो । आमा बिरामी भइराख्ने समस्याले गर्दा पनि आफूलाई डाक्टर भएर बिरामीको सेवा गर्ने इच्छा थियो’ उनले आफ्नो लक्ष्य सुनाउँदै भने, ‘डाक्टर भएर स्थानीयस्तरमा बिरामीको सेवा गर्ने इच्छा थियो । त्यो पूरा भएको छ ।’ बिरामीसँगको उनको सामीप्यता अझ लोभलाग्दो छ ।
डाक्टरले बिरामीबाट सुनेर, बिरामी छामेर र आँखाले हेरेर पनि जटिलताबारे बुझ्न सक्ने भएकाले यो प्रक्रिया डा. विष्टले अवलम्बन गर्दै आएका छन् । बिरामीका घरायसी पक्ष, रोजगारी, पारिवारिक, आर्थिक अवस्था, व्यक्तिगत तनाव, स्वास्थ्य जटिलता आदिबारे डाक्टरले सुनेपछि बिरामीमा विश्वास बढ्ने उनको बुझाइ छ । आधुनिक प्रविधिको रिपोर्टमा मात्र पूर्ण भर पर्दा बिरामीको मर्म बुझ्न नसकिने भएकाले निकटता र विश्वास नबढ्ने उनको निष्कर्ष छ ।
‘हालसालै एक जना बिरामी यहाँ आएका थिए । उनी धेरै ठाउँमा उपचार गर्न गएका रहेछन् । तर, कतै ठीक भएको थिएन । दुखाइका कारण उनको शरीभरि पेटी बाँधेर ल्याइएको थियो । उपचारको लागि धैरे ठाउँ भांैतारिएका उनी कतै केही सीप नलागेपछि न्यूरो अस्पताल आएका थिए । तीन दिन हस्पिटलमा राखेर उपचार गरेपछि उनी ठीक भएर गए’ उपचार गरेको घटना सुनाउँदै डा. विष्टले सुनाए, ‘यस्ता थुप्रै बिरामीहरू यसरी निको भएर गएका छन् ।’
नेपालमा न्यूरो सेवाका डाक्टर एकदमै कम छन् । डा. विष्ट न्यूरोलोजी सकेर नेपाल फर्किंदा नेपालमा एक जनामात्रै न्यूरोलोजिष्ट थिए । डा. दिनेशविक्रम साहपछि दोस्रो न्यूरोलोजिष्ट डा. विष्ट हुन् । अहिले पनि देशभरिमा न्यूरोलोजिष्ट औंलामा गन्न सकिने मात्र छन् । डेढ लाख जनसङ्ख्यामा कम्तीमा एक जना न्यूरोलोजिष्ट र न्यूरो सर्जन चाहिने हो ।
‘नेपाल सरकारको तर्फबाट न्यूरोलोजी सेवासम्बन्धी नीतिगत सुधार हुनुपर्ने खाँचो रहेको छ । यसका साथै न्यूरोलोजीसम्बन्धमा समय–समयमा अन्तर्राष्ट्रियस्तरमा हुने गरेको सेमीनार गोष्ठीहरू नेपालभित्र पनि आयोजना गर्नसके विज्ञहरूको सल्लाह सुझावलाई अवलम्बन गर्न सहज हुने र प्रभावकारी उपाय तथा पद्दतिको विकास हुने थियो’ डा. विष्टले भने, ‘न्यूरोलोजी साइन्स राज्यको प्राथमिकताको क्षेत्रमा परेको देखिँदैन । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनमा बढावा दिनुपर्ने देखिन्छ । देशमा विज्ञ जनशक्ति भएमा दिनानु दिन बढ्दै गएको न्यूरोलोजीका रोगीहरूलाई सहज र सरल ढङ्गबाट उपचार सम्भव हुने थियो ।’
जनचेतामूलक कार्यक्रमहरू स्थानीयस्तरबाट गरिनुपर्नेे उनले बताए । पेशाले चिकित्सक भए पनि डा. विष्ट सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी विभिन्न सङ्घ–संस्थाहरूमा आबद्ध रहेका छन् । उनी रोटरी क्लब अफ विराटनगर मिड टाउनका पूर्व अध्यक्ष, लायन्स क्लब अफ विराटनगरका पूर्व अध्यक्ष पनि हुन् । उनले सामाजिक सङ्घ–संस्थाहरूको माध्यमबाट सामाजिक काम गर्दै आएका छन् ।
फुर्सदमा परिवारसँग रमाइलो गर्न रुचाउने डा. विष्टका दुवै छोराछोरी चिकित्सा क्षेत्रमै छन् । छोरी रोश्नी विष्ट पनि डाक्टर हुन् । छोरा ऋतिक विष्ट एमबीबीएस गर्दैछन् । सुप्रबल जनसेवाश्री पदकबाट विभूषित बनेका डा. विष्ट पूर्वाञ्चलमा चिकित्सा क्षेत्रबाट यो पुरस्कार पाउने पहिलो व्यक्ति हुन् ।