धरान । स्वास्थ्य बिमा बोर्डलाई बारम्बार ताकेता गर्दा पनि बिमा दाबी गरेअनुसारको रकम नदिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको छ । 

बीपी प्रतिष्ठानले सुनसरीसहित पूर्वका विभिन्न जिल्लाबाट सिफारिस भएर आउने दैनिक १२ सय जनाभन्दा बढी बिमित बिरामीको उपचार सेवा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत गर्दै आए पनि  बोर्डले रकम नपठाइदिएपछि बिमा कार्यक्रम स्थगित गर्नुपर्ने अवस्थामा पुगेको जनाएको छ । प्रतिष्ठानले चैत १५ गतेदेखि बिमा कार्डमार्फत् ओपिडी, आकस्मिक, तथा अन्तरङ्ग सेवा अन्तर्गत दिने सम्पूर्ण सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

बिमित बिरामीको उपचार गरेबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले नदिएपछि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । बिमा कार्यक्रमले बिमित सर्वसाधारणलाई फाइदा पुगे पनि बिमा बोर्डले प्रतिष्ठानलाई करोडौं रकमको भुक्तानी नगरेपछि आर्थिक रूपले सङ्कटग्रस्त भएकाले ‘बिमित बिरामी सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै बिमा कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेको जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भने, ‘नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका बिमितहरूलाई प्रतिष्ठानले ०७४ साउन महिनादेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा स्वास्थ्य सेवा दिए बापत दाबी गरेअनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन पटक–पटक लिखित अनुरोध गर्दा पनि हालसम्म बेवास्ता गरेपछि प्रतिष्ठानमा आर्थिक सङ्कट आइपरेकाले बिमा कार्यक्रम स्थगित गर्न बाध्य भएका छौं ।’

उनले बिमा बोर्डसँग गरेको सम्झौताअनुसार प्रतिष्ठानले सेवाग्राही बिमित बिरामीको उपचार सेवा गरेबापत प्राप्त हुनुपर्ने रकम समयमै प्राप्त हुन नसक्दा चिकित्सक, नर्स र कर्मचारीहरूको नियमित पारिश्रमिकलगायत दैनिक प्रशासन सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव पर्न गएको बताए । उनले भने, ‘प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारीवाला एवम् स्वशासित संस्था भएको र सरकारले पनि चिकित्सक, नर्स र कर्मचारीलाई तलब–भत्ता सुविधा दिँदैन । प्रतिष्ठानले आफ्नो व्ययभार आफै व्यहोर्नुपर्छ । तर, सरकार र बिमा बोर्डले यो कुरो कहिल्यै बुझेन ।’

यसअघि प्रतिष्ठानले स्वास्थ्य मन्त्रालय स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गर्दै बिमितको उपचार गरेबापत प्रतिष्ठानले सरकार र बोर्डसँग गरेको सम्झौताअनुसार पाउनु पर्ने रकम दिन एक महिने अल्टिमेटम दिएको थियो । तर, बिमा बोर्डले प्रतिष्ठानको अल्टिमेटमलाई बेवास्ता गरेपछि बिमा कार्यक्रमले प्रतिष्ठानको आर्थिक, शैक्षिक र स्वास्थ्य उपचार सेवा प्रभावित भएकाले बिमा कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेको अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले बताए ।