धरान । परिवर्तनका लागि सामाजिक अभियानको बाह्रौं सामाजिक स्वास्थ्य क्लिनिक धरान–१ स्थित धुलिखेल समाजको सभाहलमा सम्पन्न भएको छ ।

अभियानले वडा–वडामा सामाजिक स्वास्थ्य क्लिनिकलाई निरन्तरता दिएको छ । त्यसअन्तर्गत यसपटक धुलिखेल समाजको सहकार्यमा धरान–१ का वडावासी ज्येष्ठ नागरिकहरूलाई सेवा दिइएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

उनका अनुसार पाक्षिक रूपमा आयोजना गर्दै आएको क्लिनिकमा ४८ जनाले सेवा लिएका थिए । १० औं क्लिनिक कार्यक्रमबाट वडा–वडामा सुरु गरिएको हो । स्वास्थ्य क्लिनिकमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहले स्वास्थ्य जाँच गरेका थिए ।

क्लिनिकमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सेवा दिने अभिप्रायले संस्थाले मुटुरोग विशेषज्ञ डा. साहसँगको सहकार्यमा काम गर्दै आएको छ । सेवा लिन आउनेहरूलाई निःशुल्क रूपमा सेवा दिँदै आएको छ । अभियानले स्वास्थ्यसँगै शिक्षामा पनि काम गर्ने योजना अघि सारेको छ ।

जसमा निःशुल्क ट्युसन पढाउने तयारी भइरहेको अध्यक्ष बरालले जानकारी दिए । कार्यक्रममा धुलिखेल समाजका अध्यक्ष युगलकिशोर तखाछेले आयोजक संस्थालाई विशेष धन्यवाद दिँदै यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई सहज हुने बताए ।