धरान । उपचार गर्दागर्दै ४ वर्षीय बालकको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाको पश्चिम राजमार्गमा सञ्चालित एपेक्स अस्पतालविरुद्ध मृतक बालकका आफन्तहरू आन्दोलित भएका छन् । चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै बिहीबार दिनभर इटहरी तनावग्रस्त भएको थियो ।
आक्रोसित आफन्तहरूले अस्पतालकै अगाडि बालकको शव राखेर अस्पतालमा तोडफोड गरेका थिए । प्रहरी प्रशासनले दुवै पक्षलाई राखेर सहमति गराउन खोजे पनि बिहीबार बेलुका यो समाचार तयार पार्दासम्म कुनै सहमति नभएपछि आक्रोसितहरूले बालकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका थिए ।
घटना विवरणअनुसार बुधबार बिहानदेखि वान्ता नरोकिएपछि इटहरी–२ तरहराका नवीन साहले आफ्नो छोरा सन्दीप साहलाई एपेक्स हस्पिटलमा पुर्याएका थिए । मृतक बालकलाई अस्पतालमा भर्ना गरेर उपचार सुरु भएको थियो । उपचार गरिरहँदा चिकित्सकहरूले ल्याव परीक्षणपछि बालकका अभिभावकलाई ‘फुड पोइजनिङ’ भएको र आत्तिनु पर्ने अवस्था नभएको बताएका थिए ।
मृतक बालकका अभिभावकका अनुसार एपेक्स अस्पतालका चिकित्सकले सुरुमा बालकको अवस्थालाई नजरअन्दाज गरेर उपचारमा लापरबाही भएपछि सन्दीपको ज्यान बचाउन नसक्ने अवस्था भएपछि राति करिब साढे १ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिदिएको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएलगत्तै चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेका थिए । एपेक्स अस्पतालकै चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको ठहर गर्दै आक्रोसित भएका आफन्त र गाउँलेहरूले बिहीबार बिहान ३ बजेतिर नै तोडफोड गरेर प्रदर्शन गरेका थिए ।
मृतक बालकलाई सुरुमा आफन्तले काखमा काखेर हस्पिटलअगाडि प्रदर्शन गरे पनि दिउँसोदेखि भने सडकमा बरफ राख्ने बक्सभित्र राखेर प्रदर्शन गरेका थिए । हस्पिटलअगाडि प्रदर्शन गर्दा इटहरीस्थित पूर्व–पश्चिम राजमार्ग तनावग्रस्त बन्न पुगेको थियो । मृतक बालकका आफन्त अरविन्द साहले भने, ‘फुड पोइजन भएकाले उपचारका लागि एपेक्स हस्पिटलमा भर्ना गरिएको थियो । बिरामी बच्चालाई सुईमार्फत् ओभरडोज औषधि दिएर मृत्यु भयो । बिरामी बालकलाई पानी पनि खान नदिइकन सुईमार्फत् ओभरडोजको औषधि लगाएर बच्चा मारिदिए ।’
एपेक्स अस्पताल प्रशासनले भने बच्चालाई अस्पतालमा ल्याउँदा ल्याउँदै अवस्था जटिल भएको जनाएको छ । अवस्था जटिल हुँदाहुँदै पनि त्यहीँ भर्ना गरेको तर, अन्यत्र रिफर नगरेको विषयमा भने अस्पताल प्रशासनले केही भन्न सकेको छैन । अस्पतालका व्यवस्थापक नेत्र पन्तले भने, ‘बिरामी बालकलाई केही दिन अघिदेखि अन्यत्र नै उपचार गरेर अन्तिममा एपेक्स ल्याएकोमा केही समय उपचार गरेर धरान रेफर गरिएको थियो । एपेक्समा ल्याउनुभन्दा अघि इटहरीकै केही क्लिनिकमा लगिएको रहेछ ।’
यसैबीच मृतक बालकका आफन्त र गाउँले र अस्पताल प्रशासन दुवै पक्षलाई राखेर वार्ता गर्न प्रहरी प्रशासनले प्रयास गरिहेको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेका छन् । उता एपेक्स अस्पतालले भने सरकारी स्तरमा छानबिन समिति गठन गरेर त्यसबाट आएको निष्कर्षका आधारमा जे हुन्छ, त्यही गर्ने जनाएको छ ।
दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि बिहीबार बेलुकासम्म वार्ता टुङ्गोमा पुग्न नसकेको इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए । उनले भने, ‘दुवै पक्षलाई वार्तामा बस्न भनिरहेका छौं । तर, धेरै प्रयास गर्दा पनि कुनै निर्णय हुन सकेको छैन् ।’ आक्रोसित भीडले बालकको पोष्टमार्टम गर्न दिएको छैन ।
मृतक बालकका परिवारले हस्पिटलविरुद्ध उजुरी दिने तयारी गरेको प्रहरीले जनाएको छ । डिएसपी खगेन्द्रबहादुर खड्काले मृतक बालकका आफन्तले उजुरी दिएमा अब कानूनी प्रक्रियाअनुसार अनुसन्धान गर्ने बताए ।