भद्रपुर । डाक्टरलाई अपशब्द प्रयोग गर्दै भौतिक आक्रमण गर्नेसम्मको धम्की पछि झापा हल्दीबारी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।  हल्दीबारी २ का ५२ बर्षीय काशी आचार्यले उपचारको क्रममा हल्दीबारी गाउँपालिकाका डाक्टर विकाश ढकाललाई अपशब्द प्रयोग गर्दै भौतिक क्षतिसमेत गर्ने चेतावनी दिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

स्वास्थ्यकर्मीहरुले विहीबार एक बिज्ञप्ति जारी गरि भौतिक क्षति गर्ने चेतावनी दिएको कार्यको भर्सना गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुले चैत्र २ गते बिरामी भएर उपचारका लागि आएका आचार्यले डाक्टर ढकाललाई गालिगलौज गर्दै अपशब्द बोलेको र भौतिक क्षतिसम्म गर्ने चेतावनी दिएको भन्दै आचार्यलाई कानुनी कारबाहीको माग गरेका छन् ।

 आचार्यलाई कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनलाई ज्ञापन पत्रसमेत बुझाएको गोलधाप स्वास्थ्य चौकीका प्रमुख सिनीयर अहेव अधिकृत यामप्रसाद न्यौपानेले बताए । तीन दिनभित्र पीडकलाई कानुनी कारबाही नगरिए आइतबारदेखि गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाबन्द गर्ने विज्ञप्ति मार्फत जानकारी गराइएको उनले जनाए ।

डाक्टर ढकालले आचार्यलाई स्वास्थ्य जाँचपछि आवश्यक औषधी लेखिदिएको तर आचार्यले अन्य औषधीसमेत घर लगेर राख्ने भन्दै मागेपछि डाक्टर ढकालले लक्षण नभएको रोगको औषधी दिन नमिल्ने बताएपछि विवाद भएको बताइएको छ ।