विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी डा. रोशन कलवारलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गर्ने निर्णय गरेको छ भने अन्यलाई सचेत गराएको छ ।
नेपाल मेडिकल काउन्सिलले डा. कलवारलाई शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेको भन्दै निलम्बन गर्न लागेको हो । मेडिकल काउन्सिलका आचार–संहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्तीका अनुसार काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्र्ने निर्णय गरेको हो ।
पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रियामा कुन रड लगाउने विषयमा डा. कलवारको समूहमा विवाद उत्पन्न भएको थियो । बिरामीका आफन्तले चिकित्सकका लापरबाहीका कारणले ज्यान खतरामा परेको र खर्च पनि वृद्धि भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।
उक्त घटनाको विषयमा छानबिन गरी कारबाहीको माग गर्दै प्रतिष्ठान प्रशासनले काउन्सिलमा उजुरी दिएको थियो । डा. कलवार आफैले पनि उजुरी दिएका थिए । उजुरी परेपछि घटनाको छानबिन गर्न काउन्सिलका डा. वस्तीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो । छानबिन समितिमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्री र हाडजोर्नी विशेषज्ञ डा. गणेश गुरुङ सदस्य रहेका थिए ।
समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । संयोजक डा. वस्तीका अनुसार काउन्सिलको पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनले भने, ‘काउन्सिलको पहिलो पूर्ण बैठकले निलम्बन गर्ने निर्णय हो । तर, उनलाई थप स्पष्टीकरण सोधिएको छ ।’ उनले स्पष्टीकरण जवाफ आएपछि एक हप्तामा पुनः काउन्सिलको पूर्ण बैठकले कारबाहीको निर्णय गर्ने बताए ।
डा. कलवारलाई ३ महिनाका लागि व्यावसायिक कार्य गर्नबाट निलम्बन किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । डा. वस्तीले भने, ‘पहिलो पूर्ण बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।’ कुन–कुन चिकित्सकलाई निलम्बन गर्ने भन्ने जिज्ञासामा डा. वस्तीले घटनामा संलग्न चिकित्सकलाई गल्तीका आधारमा तहगत रूपमा कारबाही हुने बताए । उनले भने, ‘कारबाहीको पनि ग्रेडिङ होला ।’ उ
नले पटक–पटक प्रतिष्ठानमा विवाद हुँदा गम्भीर नहुनु प्रतिष्ठान प्रशासनको पनि कमजोरी भएको बताए । काउन्सिलले प्रतिष्ठानलाई विदेशी दातृ निकायबाट प्राप्त साइन नेलसम्बन्धी आवश्यक निर्देशिका बनाउनसमेत निर्देशन दिने भएको छ । उक्त घटनामा संलग्न अन्य २ चिकित्सक डा. अमितविक्रम साह र डा. अमित लिम्बूलाई सचेत गराउने निर्णय गरेको काउन्सिलले जनाएको छ ।
विभागीय प्रमुख डा. विक्रमप्रसाद श्रेष्ठलाई पनि सचेत गराउने भएको छ । घटनामा संलग्न डा. अमितविक्रम साह र अमित लिम्बूलाई भने थप स्पष्टीकरण सोधिएको छैन । डा. अमितविक्रम साहले भने, ‘एक पटकको स्पष्टीकरणको जवाफ दिइसकेका छौँ । पुनः स्पष्टीकरण आएको छैन ।’
डा. कलवारले अमेरिकी दातृसंस्थाले निःशुल्क दिएको साइन नेल बिक्री गर्ने गरेको पुष्टि नै भएको थियो । उनले निःशुल्क रड बिक्री गरेको पीडितहरूले बताएका थिए । प्रहरीमा उजुरी दिएपछि डा. कलवारले पीडितहरूको पैसा फिर्ता दिई माफीसमेत मागेका थिए ।
बिक्री गरेको पुष्टि भएपछि प्रतिष्ठानले डा. कलवारलाई साइन नेल प्रयोग गर्न रोक लगाएको थियो । पुस २७ गते डा. कलवारले रोक लगाएको साइन नेल आफै झोलामा बोकेर ल्याई जबरजस्ती प्रयोग गर्ने प्रयास गरेका थिए । उनकै नेतृत्वमा रहेको अन्य चिकित्सकहरूले साइन नेल प्रयोगमा रोक लगाइएकाले प्रयोग नगर्न आग्रह गर्दा विवाद उत्पन्न भएको थियो ।