धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा दाबी शोधभर्नाका लागि बिमा बोर्डलाई ताकेता गरे पनि बेवास्ता गरेपछि करिब २४ करोड रुपैयाँ डुब्ने सङ्केत देखिएको छ ।

प्रतिष्ठानले दुई साताअघि बिमा बोर्डले दिनुपर्ने २६ करोड ५० लाख रुपैयाँ नदिएपछि फागुन १५ गतेसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको दुईसाता बितिसक्दा पनि बोर्डले भने प्रतिष्ठानले गरेको बिमा दाबी शोधभर्नाप्रति चासो देखाएको छैन । चासो देखाउनुको सट्टा बाँकी बक्यौता रकम नै नदिने सङ्केत देखाएपछि प्रतिष्ठानका पदाधिकारीहरू थप असमञ्जसमा परेका छन् । बोर्डले बिमाको कागजपत्र हरेर प्रमाणीकरण गर्न र रकम निकासा गर्न जनशक्तिको अभाव भएको भन्दै यसअघि आलटाल गर्दै आएको थियो ।

स्वास्थ्य बिमा बोर्डले निजी लगानीमा सञ्चालित अस्पताल र मेडिकल कलेजमा बिमित बिरामीको उपचार गरेबापतको रकम भने तत्काल प्रमाणीकरण गरेर रकम निकासा गर्दै आएको छ । तर, बीपी प्रतिष्ठान र अन्य धेरै सरकारी अस्पतालले बिमितको उपचार गरे बापतको बिमा रकम भने बोर्डबाट सहज रूपमा पाउन सकेका छैनन् । प्रतिष्ठान स्रोतका अनुसार बिमा बोर्डले निजी स्तरमा सञ्चालित अस्पतालका पदाधिकारीसँग सेटिङ गरेर कमिसन लिने गरेकाले स्वास्थ्य बिमा बापतको रकम तत्काल निकासा गर्ने गरेको छ ।

स्रोतले भन्यो, ‘कतिपय निजी रूपमा सञ्चालित अस्पतालहरूले सामान्य बेडमा राखेर उपचार गरेका बिरामीको डकुमेन्ट पनि आइसियुमा राखेर उपचार गरेको बनाएर बढी रकम असुल्ने गरेका छन् । तर, बीपी प्रतिष्ठानले त्यस्तो गर्न सक्दैन । विशेषज्ञ सेवा दिएर पनि बोर्डले तोकेको दररेटमा सेवा दिइरहेको छ । तिनै बिरामीको उपचार सेवा गरेबापतको रकम दिनसमेत बोर्डले आनाकानी गर्नु भनेको घुमाउरो शैलीमा ‘कमिसन’ माग्न खोजेको देखिन्छ ।’

मुलुकभरिका अस्पतालमध्ये ४ सय ३८ अस्पतालहरूसँग बिमा बोर्डले सम्झौता गरेको छ । यति धेरै अस्पतालमा उपचार गरेका बिमित बिरामीको रकमको हिसाब किताब राख्न र रकम निकासा गर्न बोर्डमा जनशक्ति अभाव भएकाले प्रतिष्ठान र अन्य सरकारी अस्पातालले बेलैमा मागदाबी गरेअनुसारको शोधभर्ना नपाए पनि निजी अस्पतालले भने पाइरहनुले कमिसनकै खेल भएको आशङ्का गर्न थालिएको छ ।

एक महिने अल्टिमेटम दिएपछि फागुन २३ गते बोर्डका तर्फबाट वरिष्ठ कर्मचारी शम्भु ज्ञवाली, बिमा माग दाबीको हिसाब हेर्ने उमेश आचार्य र आइटी प्राविधिक कालुसिंह कार्कीलाई प्रतिष्ठान पठाइएको थियो । बोर्डले पठाएका कर्मचारीसँगको भेटघाट र अन्तरक्रियामा प्रतिष्ठानले बोर्डले बाँकी बक्यौता तत्काल तिर्नुपर्ने, स्वास्थ्य बिमा सम्झौता नवीकरण गर्नुपर्ने, दररेट परिमार्जन गर्नुपर्ने, दाबी प्रक्रिया सहज बनाउनुपर्ने र पेश्की रकम अग्रिम उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेको थियो । तर, बोर्डका पदाधिकारीको हैसियतमा ती कर्मचारीको भूमिका नभएकाले उनीहरूले बोर्डमा प्रतिष्ठानको कुरा राख्नेमात्र भनेर पन्छिएका थिए ।

प्रतिष्ठानमा स्वास्थ्य बिमा कार्यक्रम हेर्दै आएका प्रमुख सुरज ढुङ्गानाका अनुसार प्रतिष्ठानले अल्टिमेटम दिएपछि बोर्डले करिब ५ करोड रुपैयाँ बराबरको बिमित बिरामीका कागजपत्र प्रमाणीकरण गरेको छ । कात्तिकदेखि हालसम्म कुनै पनि कागजको प्रमाणीकरण गरेर रकम निकासा नगर्दा करिब २९ करोड हाराहारीमा पुगेको थियो ।

तर, पछिल्लो समयमा ५ करोडको प्रमाणीकरण गर्दा हाल २३ करोड ९१ लाख रुपैयाँको भने प्रमाणीकरण अझै नभएको प्रमुख ढुङ्गानाले बताए । उनले भने, ‘बिमा बोर्डले ५ करोडको भ्यालुएसन गरेको जानकारी दिए पनि रकम भने दिएको छैन । प्रतिष्ठानबाट पठाएका बिमितको कागजपत्रको प्रमाणीकरण नगर्दा प्रतिष्ठानले पाउनुपर्ने रकम रोकिएपछि चिकित्सक, नर्स, कर्मचारीले तलब खान नपाएको अवस्था छ ।’

प्रतिष्ठानले स्वास्थ्य बिमाका बिमितहरूलाई सेवा दिए बापत अपनाइएको बिमा व्यवस्थापन सूचना प्रणाली बोर्ड र प्रतिष्ठानबीचमा केही फरक रहेकाले समस्या उत्पन्न भएको बताइएको छ । बोर्डले प्रतिष्ठानलाई इलेक्ट्रोनिकल मेडिकल रेकर्ड सिस्टम (इएमआर) अपनाउन भनेको छ । तर, प्रतिष्ठानले भने केही प्राविधिक समस्या भएकाले उक्त प्रणाली नअपनाएसम्मका बिमितका कागजपत्र प्रमाणीकरण गर्न आग्रह गर्दै आएको छ ।

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साहले भने, ‘बोर्डले भनेजस्तै प्रणाली अपनाउने तयारी गरिरहेका छौं तर, भनेको बेला सबै काम एकैचोटी गर्न सक्ने अवस्था बीपीमा छैन । त्यसैले हामीले बोर्डका पदाधिकारीलाई भनेका पनि छौं कि विश्वास नलागे बोर्डका विज्ञ कर्मचारीहरूलाई पठाएर प्रतिष्ठानमा कसरी बिमित बिरामीले सेवा पाएका छन्, ती सबै निरीक्षण गर्न सक्छन् ।’

प्रतिष्ठानले इमर्जेन्सी, ओपिडी र वार्डमा भर्ना भएका बिमित बिरामीको कागजात व्यवस्थापन र बोर्डमा पठाउन वेब एपिआइ सिस्टम अपनाएको छ । तर, त्यसमा पनि प्राविधिक समस्या उत्पन्न हुने गरेकाले बिमा दाबी प्रक्रिया जटिल बनेको छ । उक्त जटिल प्रक्रियालाई सहज बनाउन पनि प्रतिष्ठानले बिमा बोर्डसँग आग्रह गरेको छ ।

बोर्डले अस्पतालमा आएका बिरामीको पुर्जीमा चिकित्सकले लेखिदिएको पेस्क्राइवदेखि बिलसम्म स्क्यान गरेर पठाउनुपर्ने भन्दै आएको छ । तर, प्रतिष्ठानमा बिमाका दैनिक हजार बढीको विभिन्न पुर्जी र पेस्क्राइव गरेका कागज तीन हजारभन्दा बढी पेज हुने भएकाले त्यो सम्भव नभएको बिमा कार्यक्रम प्रमुख ढुङ्गेलले बताए । उनले भने, ‘जिल्ला अस्पतालमा दैनिक तीन–चार सय बिरामी आउँछन् । यहाँ त बिमाकै मात्र हजार जना बढी दैनिक आउँछन् । उनीहरूका प्रत्येक कागजलाई स्क्यान गरेर बोर्डमा पठाउन सम्भव छैन ।’

उनले यस्ता जटिलतालाई सहज बनाएर प्रतिष्ठानले पाउनुपर्ने सबै रकम दिनुपर्ने बताए । उक्त रकम प्रतिष्ठानले अब पनि नपाए प्रतिष्ठानले आफ्नो आन्तरिक आयस्रोतबाट बिमा कार्यक्रमलाई निरन्तरता दिन सक्ने अवस्था नभएको यसअघि नै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साह र अस्पताल प्रशासन प्रमुख अशोक साहले बताएका थिए । बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले बीपी प्रतिष्ठानले भुक्तानीका लागि माग दाबी गरेको रकम निकासा गर्न ढिलाइ भएको तर, क्रमशः दिँदै जाने आश्वासन भने दिएका थिए ।