विराटनगर । भोजपुर घर भएका वृद्ध भगवाननाथ सुवेदी ८० वर्ष पुगे । उनी विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा बस्दै आएका चार वर्ष पुरा भएको छ । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दिनन् । तर उमेर ढल्कँदै जाँदा श्रवण शक्ति पनि कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उनको दिन निकै कष्टपूर्ण बन्यो ।

असाध्यै अप्ठ्यारोमा परे पनि उनको सुविधासम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । विराटनगर – ८ अशोकचौकमा रहेको आश्रममा विराटनगर १४ मलायरोडमा रहेको दिब्य ज्योती अस्पतालले निःशुल्क आँखा शिविर राखेको थियो । शिविरमा जाँच गरिएको ज्येष्ठ नागरिकहरुमध्ये कसैको शल्यक्रिया गरिनुपर्ने भयो भने दिब्य ज्योती अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेको थियो ।

६५ जना ज्येष्ठ नागरिकहरुको आँखा जाँच गरेको मध्ये १४ जना ज्येष्ठ नागरिहरुमा आँखामा जलबिन्दु र मोतियाबिन्दु देखा परेपछि शल्यक्रिया गरिनुपर्ने भएको थियो । अस्पतालले १४ जना ज्येष्ठ नागरिकहरुलाई आइतबार अस्पतालमा लिएर आए ।

अस्पतालका जलबिन्दु रोग विशेषज्ञ डा. प्रमोद शर्मा गौतम सहित आँखा रोग विशेषज्ञ डा. हरिस यादव र डा. उदयचन्द्र प्रकाशको टिमले १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको सफल शल्यक्रिया गरेका थिए । १४ मध्ये आँखाको सफल शल्यक्रिया भएपछि सोमबार डिस्र्चाज भएर आश्रम जाने तयारीमा रहेका सुवेदी गुमेको दृष्टि फर्किएर आएपछि खुसी देखिन्थे ।

शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि अहिले भगवानाथसहित १४ जना ज्येष्ठ नागरिकहरु खुसी छन् । शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर घर जाने तयारीमा रहेकी ७७ वर्षीय सीता पराजुली पनि आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो भएको बताइन् । वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै उनले भनिन्, ‘आश्रममा रहेका आफुसँगै रहेका साथीहरु चिन्न पनि गाह्रो थियो ।

अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।’ गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको उनको अनुभव छ । ज्येष्ठ नागरिकहरु बसोवास गर्ने वृद्धाश्रममा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने सुवेदी र पराजुली प्रतिनिधि पात्रहरु मात्रै हुन् ।

७८ वर्षिय सन्तोष भट्टराई आँखाको शल्यक्रियापछि अब राम्रोसँग देख्नसक्ने भएको बताए । ‘शल्यक्रिया गरिनुभन्दा अगाडी आश्रममा बस्दा आँखाले धमिलो देख्ने गरेको थियो । अहिले शल्यक्रिया गरेपछि वरपरको दृष्य राम्रोसँग देख्नसक्ने भएको छु,’ उनले भने, ‘राम्रोसँग आँखा देख्न सक्ने भएपछि आश्रममा वरपर हिडडुल गर्न सहज हुनेछ ।’

आश्रममा रहेका ६० देखि १ सय २ वर्षका १४ जना ज्येष्ठ नागरिकहरुको आँखाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक देवा यादवले बताए । जलबिन्दु सचेतना सप्ताहको अवसर पारेर अस्पतालले विभिन्न कार्यक्रम गरि मनाएको उनले बताए ।

शल्यक्रिया गरिएको १४ जना ज्येष्ठ नागरिक र विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यायाललाई अस्पतालले सम्मान गरेको पनि गरेको थियो । यसक्रममा अस्पतालले शल्यक्रिया गरिएको ज्येष्ठ नागरिकहरुलाई चश्मा, औषधि र खान र बस्ने पनि निःशुल्क गरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गरिएको ज्येष्ठ नागरिकहरुको आँखामा औषधी हाल्न अस्पतालबाट एक जना स्वास्थ्यकर्मी पनि परिचालन गरिने निर्देशक यादवले बताए ।

  अस्पतालले सामाजिक उतरदायित्व अन्तर्गत आश्रममा रहेका ज्येष्ठ नागकिरहरुलाई सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष कमलेश कुमार कर्णले बताए । यस्ता सामाजिक कार्य आगमी दिनमा पनि गर्ने बताए । 

विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद आर्यालले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकालाई समेत उपचारमा जान प्रोत्साहित गरेर अस्पतालले पुन्यको काम गरेको बताए ।