झरीपछि टण्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ । यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फङ्गल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ । त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ ।

– मौसम बदलिने बेलामा र अझ झरी सकिए लगत्तैका दिनमा हेपाटाइटिस र टाइफाइड लाग्ने जोखिम बढी हुन्छ । यसबाट बच्न सडकमा बेच्न राखेका खानेकुरा र पेय पदार्थ सकभर खानु हुँदैन । सकेसम्म घरमै खानपिन गर्नुपर्छ ।

–मौसम परिवर्तन भइरहेको बेला उमालेको पानी पिउने गर्नुपर्छ । जथाभावी पानी पिउनु हुँदैन । किनकि, बदलिँदो मौसममा पानीबाट धेरै रोग सङ्क्रमण हुने जोखिम बढी हुन्छ ।
–झरी सकिएपछि पानीको दह ठाउँ–ठाउँमा जम्ने भएको हुन्छ, जहाँ अनेक खालका कीटाणु र ब्याक्टेरिया हुर्किने, बढ्ने गर्छन् । हिँड्दा यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा मौसम परिवर्तन भइरहेको अहिलेको अवस्थामा दिनहुँ नुहाउने गर्नुपर्छ । नुहाउँदा ‘एण्टिब्याक्टेरियल’ साबुन प्रयोग गर्नु लाभदायक हुन्छ ।

– विशेषगरी महिलाले नुहाइसकेपछि कपाललाई सुक्न दिनुपर्छ । चिसै कपाल बाटेर काममा हिँड्नुभयो भने यस्तो समयमा कपाल टुक्रने, झर्ने जोखिम बढी हुन्छ ।

– अहिलेको बदलिँदो मौसममा सङ्क्रमण हुनसक्ने अर्को रोग हो, हैजा । देशका कतिपय स्थानमा हैजा रोग फैलिएको समाचार केही समयअघिदेखि नै आइरहेका छन् । त्यही भएर बासी खाना सकभर खानु हुँदैन । तातो खाना खाने र खाना, पानी आदिलाई छोपेर राख्ने गर्नुपर्छ ।

– बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्य रूपले साबुन पानीले हात धुने गर्नुपर्छ ।

– ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे लाग्ने भएकाले मलेरिया, डेङ्गूजस्ता रोग झरी लगत्तैको समयमा लाग्ने सम्भावना बढी हुन्छ । त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल हाल्न अल्छी गर्नु हुँदैन । अथवा, लामखुट्टे भगाउने क्वाइल, स्प्रे आदिसमेत प्रयोग गर्न सकिन्छ ।

–झरीलगत्तै मौसम बदलिँदा धेरैलाई रुघाखोकी लाग्ने गर्छ । किनकि, यस्तो बेलामा मानिसमा रोगप्रतिरोधी क्षमता कम हुने गर्छ । यस्तो मौसममा रुघाखोकीबाट बच्न घरबाट निस्किने बेलामा मास्क र टोपी अथवा स्कार्फ लगाउने बानी बसाल्नुपर्छ । शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ ।

–मौसम बदलिरहेको अहिलेको समयमा पेट गडबड हुने, एसिडिटी बढ्ने, कब्जियत हुने आदि जोखिम पनि बढी हुन्छ । यस्तो जोखिम कम गर्न ताजा खाना खाने र प्रशस्त पानी पिउने गर्नुपर्छ । अहिलेको जस्तो बदलिँदो मौसममा केही घण्टाअघि काटेर राखेको फलफूल खानु हुँदैन । किनकि, यस्ता फलफूलमा जीवाणु सङ्क्रमण भएको हुन सक्छ ।

–काखी, खुट्टा, औँलाको काप, हिप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँमा अहिलेको बदलिँदो मौसममा ‘फङ्गल इन्फेक्सन’ हुने जोखिम बढी हुन्छ । यसबाट बच्न शरीरलाई सकभर चिसो राख्नु हुँदैन र नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ । साथै, काखी, काछ आदिको सरसफाइमा अतिरिक्त ध्यान दिने र पेण्टी र रुमाल दिनहुँ धोएर मात्र प्रयोग गर्ने गर्नुपर्छ ।

–अहिले कोरोना भाइरसको सङ्क्रमण दरमा केही कमी आएको भए पनि जोखिम भने टरेको छैन । त्यसकारण जनस्वास्थ्यका मापदण्डहरू जस्तै भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने गर्नुपर्छ ।
–स्वास्थ्यखबर