विजयपुर । पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग तीन वर्षअघि कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा नगरपालिका प्रथम पटक देखिएको थियो । यस पटक पनि चैतमा सुरु भएको लम्पी स्किन कोशीबाट नै देशभर फैलिएको छ । तर, यसै प्रदेशमा तीन महिनाभित्र कति आर्थिक क्षति भयो भन्ने यकिन तथ्याङ्क आएको छैन । 

‘लम्पी स्किन’ बारे प्रदेशभर काम गर्ने निकाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगर हो । तर, निर्देशनालयले प्रदेशभरमा ‘लम्पी स्किन’ रोगबाट कति आर्थिक क्षति भयो भन्ने तथ्याङ्क अद्यावधिक गर्न सकेको छैन ।

पशु विभागले भने राष्ट्रियस्तरको आर्थिक क्षतिसहितको आँकडा दिइरहेको छ । तथ्याङ्कको विषयमा पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय पशु चिकित्सक तथा सूचना अधिकारी विनोदकुमार साहले आर्थिक क्षतिको तथ्याङ्क आइनसकेको बताए । उनले भने, ‘अहिले क्लोजिङमा छौँ । क्षतिको तथ्याङ्क निकालेको छैन ।’

पशु सेवा विभागले असार २५ गतेसम्मको तथ्याङ्क सार्वजनिक गर्दा कोशी प्रदेशको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयले असार २२ गतेसम्मको मात्रै आँकडा मात्र अद्यावधिक भएको जनाएको छ । प्रदेश निर्देशनालयले तथ्याङ्क अद्यावधिक नगराई विभागमा कसरी तथ्याङ्क अद्यावधिक भयो ? भन्ने प्रश्न उठेको छ ।

निर्देशनालयका सूचना अधिकारी साहले यसअघि असार अन्तिमसम्म क्षतिको तथ्याङ्क अद्यावधिक हुने बताएका थिए । तर, हालसम्म क्षतिको यकिन तथ्याङ्क नआएको जनाएको छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार असार २२ सम्ममा ४ हजार ३ सय ९१ चौपाया गाईगोरु, भैँसीराँगा मरेका छन् । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार प्रतिपशुलाई न्यूनतम् ४९ हजार १ सय ३५ रुपैयाँ पर्ने देखाएको छ ।

प्रतिचौपायाको न्यूनतम् मूल्यको आधारमा मरेका चौपायाको मूल्य २१ करोड ५७ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ क्षति भएको आँकलन गरिएको छ ।

‘लम्पी स्किन’ रोग सङ्क्रमित पशुबाट दूध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजनन् ह्रास आउने, छाला उत्पादनमा समस्या, निको भएका पशु पूर्ववत् अवस्थामा ल्याउन थप पोषणमा खर्च गर्नुपर्नेलगायत समस्या देखिन्छन् ।

‘लम्पी स्किन’ बाट अधिकांश गाईगोरु सङ्क्रमित भएकाले कृषि उत्पादनमा पनि प्रभाव पर्ने हुँदा क्षति धेरै हुने अनुमान गरिन्छ । विज्ञहरूले कुल गार्हस्थ्य उत्पादनमा ठूलो असर पर्ने बताउँदै आएका छन् ।

पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय कोशी प्रदेश बिराटनगरका अनुसार २०८० असार २२ गतेसम्म २० हजार ७ सय ५० चौपाया ‘लम्पी स्किन’ बाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमा सबै गाईगोरु मात्रै छन्  । चार सय ७६ पशु मरेका छन् भने ३० हजार चार सय ५६ पशुलाई खोप लगाइएको छ । इलाममा ३० हजार चार सय ७८ पशु सङ्क्रमित भएका छन् । जसमा नौ वटा भैँसीराँगा रहेका छन् ।

दुई भैँसीराँगासहित एक हजार तीन सय ५१ वटा पशुको मृत्यु भएको छ । २७ हजार ५४ वटा पशुमा खोप लगाइएको छ । पाँचथरमा ४९ भंैसीराँगासहित ३२ हजार ९ सय ५७ पशु सङ्क्रमित भएका छन् । जसमा ३ सय ५० गाईगोरु मरेका छन् । ताप्लेजुङमा ३९ भैंसीराँगासहित ६ हजार ७ सय १ सङ्क्रमित भएका छन् ।

जसमा १ सय २३ गाईगोरु मरेका छन् भने ६ हजार ६ सय २५ पशुमा खोप लगाइएको छ । मोरङमा २ सय ९६ भैंसीगोरुसहित १० हजार ६ सय ८२ पशु सङ्क्रमित भएका । जसमा १ भंैसीराँगासहित ४ सय २६ पशु मरेका छन् । ४ हजार ५ सय ९९ पशुमा खोप लगाइएको छ । उदयपुरमा ९ सय ३५ भैंसीगोरुसहित १८ हजार ३ सय ४५ सङ्क्रमित भएका छन् । जसमा ३२ भैंसीराँगासहित २ सय २६ पशु मरेका छन् भने १ हजार ३ सय ७५ पशुलाई खोप  लगाइएको छ ।

खोटाङमा ९ हजार १ सय २५ पशु सङ्क्रमित भएका छन् । जसमा ८ भैंसीराँगासहित २ सय ३ पशु मरेका छन् भने ४ हजार पशुलाई खोप लगाइएको छ । ओखलढुङ्गामा १ सय ७ भैंसीराँगासहित ५ हजार ८ सय १ पशु सङ्क्रमित भएका छन् । जसमा १ भैंसीराँगासहित १ सय ८२ पशु मरेका छन् । ३ हजार ५० पशुलाई खोप लगाइएको छ । सोलुखुम्बुमा ८ भैंसीराँगासहित ४ सय ७३ पशु सङ्क्रमित भएका छन् । जसमा ९ भैंसीराँगासहित २५ पशु मरेका छन् । २ सय पशुमा खोप लगाइएको  छ । 

धनकुटामा ४५ भैंसीराँगासहित २१ हजार ५ सय ५८ सङ्क्रमित भएका छन् । जसमा २ सय ७५ गाईगोरु मरेका छन् भने २ हजार २ सय पशुमा खोप लगाइएको छ । तेह्रथुममा २४ भैंसीराँगासहित १५ हजार ९ सय ८६ पशु सङ्क्रमित भएका छन् । जसमा २ भैंसीराँगासहित १ सय ४४ पशु मरेका छन् भने खोप लगाइएको छैन । 

सङ्खुवासभामा ६ भैंसीराँगासहित १२ हजार १ सय २९ पशु सङ्क्रमित भएका छन् । जसमा २ सय ४६ गाईगोरु सङ्क्रमित भएका छन् भने खोप लगाइएको छैन । भोजपुरमा ६ हजार ७१ गाईगोरु सङ्क्रमित भएका छन् । जसमा ५१ गाईगोरु मरेका छन् भने खोप लगाइएको छैन ।

सुनसरीमा १३ हजार १ सय ६४ गाईगोरु सङ्क्रमित भएका छन् भने ३ सय १३ गाईगोरु मरेका छन् र खोप लगाइएको छैन । कोशी प्रदेशका १४ जिल्लामा २ लाख ४ हजार २ सय २० पशु सङ्क्रमित भएका छन् भने ४ हजार ३ सय ९१ पशुको मृत्यु भएको छ । ९४ हजार ९ सय ५९ पशुमा खोप लगाइएको छ ।  

पशु सेवा विभागका अनुसार मुलुकभर असार २५ गतेसम्म ७ लाख ६४ हजार ६ सय ३८ पशु सङ्क्रमित भएका छन् । २६ हजार ९ सय ४१ पशु मरेका छन् भने ४ लाख ९३ हजार ४ सय ३९ पशु निको भए । २ लाख ४४ हजार २ सय ५८ पशुमा अझै रोग सक्रिय रूपमा रहेको पशु सेवा विभागले जनाएको छ । साढे ३७ अर्बको नोक्सानी भएको विभागले जनाएको छ ।