कम्बोडियाको पोइपेट सहर स्थित ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा भएको आगलागी हुँदा झापाका निराकर पाण्डेको मृत्यु भएको छ ।

बुधबार राती भएको आगलागीमा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय   निराकरको मृत्यु भएको हो । उनी उक्त वडाका वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।  आगलागी हुँदा होटेलमा फसेका निराकरले आफूलाई बचाउने कोसिसमा होटेलको १२ औँ तलाबाट हाम फालेको बताइएको छ ।  होटेलमा फसेका निराकरलाई बचाउन अनेक प्रयास गर्दा पनि सम्भव नभएको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष  दीपक ओलीले बताएका छन् । 

होटेलमा आगलागी भएपछि बाहिर निस्कने सबै ठोकाहरू बन्द भएसँगै हाम फाल्नु अघि परिवारसँग भिडियो कलमार्फत कुरा गरेको उनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  उक्त भिडियोमा उनले  ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै गरेको सुन्न सकिन्छ ।