सुनसरी । सामाजिक रूपमा सङ्गठित रहेका भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका युवाहरूले विकास निर्माण कार्यमा पनि निगरानी बढाउन थालेका छन् ।
विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध रहेका युवाहरूले सामाजिक कार्यमा सक्रियता बढाउनुका साथै विकास निर्माण कार्यमा निगरानी बढाउन थालेका हुन् । भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा स्थानीय तहको योजनाका साथै प्रदेश र सङ्घीय सरकारको योजनाअनुसार सञ्चालन हुने खासगरी भौतिक पूर्वाधार निर्माण कार्यमा आफूहरूले निगरानी गर्दै आएको स्थानीय चुनचुन झा बताउँछन् ।
केही दिनअगाडि भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित शारदा मार्गदेखि शारदा उच्च माध्यमिक विद्यालय रामपुरसम्म भइरहेको बाटो निर्माण कार्य स्टिमेटअनुसार नभएको पाइएपछि झालगायत स्थानीय रञ्जित मेहता, पृतम मेहतालगायतले काम रोकेका थिए । स्थानीय युवा झाले अन्दाजी डेढ किलोमिटर बाटो पिच गर्ने क्रममा ठेकेदार कम्पनीले कमसल सामग्रीका साथै स्टिमेटअनुसार काम नगरेको पाइएपछि काम रोक्दै ध्यानाकर्षण गराएको बताए ।
ठेकेदार कम्पनीले बाटो बनाउने काम गरे पनि नियमअनुसार राख्नुपर्ने सूचना पाटी पनि नराखिएको उनले बताए । सूचनाको हक अनुसार कुनै पनि काम भइरहेको बारेमा सर्वसाधारणको जानकारीको लागि ठेकेदार कम्पनीले राखिनुपर्ने व्यवस्था भए पनि सूचना पाटी नराखी ठेकेदार कम्पनीले मनोमानी हिसाबले काम गरेको पाइएपछि आफूहरूले तत्काल काम रोकेको झाले बताए । उनले आफूहरूले ध्यानाकर्षण गराएपछि स्थानीय वडाध्यक्षको समेत उपस्थितिमा स्टिमेटअनुसार काम गराएको बताए ।
‘हामीले यसरी ध्यानाकर्षण नगराएको भए ठेकेदार कम्पनीले मनोमानी हिसाबले काम गथ्र्यो’–अर्का स्थानीय रञ्जित मेहताले भने । भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर १ मा भइरहेको बाटो निर्माण कार्यबारे ध्यानाकर्षण गराएपछि ठेकेदार कम्पनीलाई स्टिमेटअनुसार काम गराउन जनप्रतिनिधिलाई पनि सचेत गराएको उनले बताए ।
यता भोक्राहा नरसिंह गाउँपालिकाका प्राविधिक प्रमुख आशिष साहले भोक्राहा नरसिंह गाउँपालिका–१ मा प्रदेश सरकारको सहयोगमा काम सम्पन्न भएकोले त्यसबारे आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए । उनले प्रदेश सरकारले स्थानीय तहसँग विकास निर्माण कार्य गर्दा समन्वय गरिनुपर्ने भए पनि उक्त योजनाको विषयमा भने आफूलाई जानकारी नभएको बताए ।
भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका युवाले पछिल्लो समय समूह बनाएर सामाजिक कार्यका साथै भौतिक निर्माण कार्यमा पनि निगरानी बढाउन थालेको सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद् इसराइल मन्सुरी बताउँछन् । वडास्तरका ग्रामीण सडकमा परेका खाल्डाखुल्डी पुर्न तथा भइरहेको विकास निर्माण कार्यबारे युवाहरूले चासो लिनु सकारात्मक कुरा भएको उनको भनाइ छ ।
वडाभित्रका युवाहरू एकजुट भएर विभिन्न विकास निर्माण कार्य बारे ध्यानाकर्षण गराउनुका साथै आवश्यकताअनुसार खबरदारी गर्ने काम पनि गर्दै आएको अर्का युवा पृतम मेहता बताउँछन् । उनी आफ्नो गाउँ ठाउँको विकास निर्माणका लागि युवावर्गले अग्रसरता लिनुपर्ने आवश्यकता रहेकोे बताउँछन् ।
सामाजिक समस्या समाधान तथा पहलका लागि युवाको पनि त्यतिकै कर्तव्य र जिम्मेवारी भएको भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष अजमल अख्तर आजाद बताउँछन् । ‘जनप्रतिनिधि र कर्मचारी मात्रै लागेर विकास निर्माण कार्य हुँदैन’ उनले भने, ‘विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्छ ।’
पछिल्लो समय भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा देखिएको युवाको निगरानी र सक्रियतालाई आफूहरूले सकारात्मक रूपमा लिएको अध्यक्ष आजादको भनाइ छ । आगामी दिनमा पनि आफूहरूले वडा–वडामा सञ्चालित विभिन्न योजना र विकास निर्माण कार्य प्रभावकारी भए–नभएको रेखदेख तथा विभिन्न योजनामा विनियोजित बजेटमा पारदर्शिता बारे निगरानी गरिरहने स्थानीय सचेत युवा बताउँछन् ।
यता आरके जोशी कन्स्ट्रक्सनका साइड इन्चार्ज एवम् सुपरभाइजर ओम यादवले प्रदेश सरकारको ५ करोड ५२ लाख लागतमा भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर १ स्थित शारदा मार्गदेखि शारदा उच्च माध्यमिक विद्यालय रामपुर ढोक सम्म १८ सय १० मिटर पिच गरिएको जानकारी दिए । आफूहरूले स्टिमेट अनुसार नै काम गरेको दाबी गर्दै उनले सूचना पाटी नराखिएको कुरामा सत्यता नभएको दाबी गरे ।