विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेश १ को मुख्यमन्त्री एमाले–माओवादीमा कसले पाउला भन्ने विषयमा चर्चा सुरु भएको छ ।
प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता साझेदार दलहरू अझै टुङ्गोमा पुगिसकेका छैनन् । तर, नेतृत्वका बारेमा छलफल भने चलाइरहेका छन् । सरकार गठनको तयारीसँगै सत्ता साझेदार दलमध्ये नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् ।
नेकपा (एमाले)ले मुख्यमन्त्रीको रूपमा पोलिटब्यूरो सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई अघि सारेको छ । नेकपा (एमाले) ले प्रदेश १ संसदीय दलको नेतामा पनि कार्कीलाई सर्वसम्मत रूपमा चयन गरिसकेको छ ।
नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीका रूपमा इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । मङ्गलबार बसेको संसदीय दलको बैठकले आङ्बोलाई नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी नेता तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । आङ्बो पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् । अघिल्लो प्रदेशसभामा पनि आङ्बो दलका नेता थिए भने हाल प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
‘प्रदेश १ मा एमालेले दुई पटक र एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिसकेका छन् । यो पटक माओवादी केन्द्रले सशक्त दाबी गर्छ’ उनले भने, ‘सत्ता साझेदार दलहरूभित्र दाबी रहने नै भयो । नेकपा (एमाले)ले पनि प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेकै छ । अन्य प्रदेशमा एमालेले नेतृत्व दिने माथिल्लो तहमा कुराकानी भइरहेकाले प्रदेश १ को नेतृत्व माओवादीले लिन्छ ।’ यसका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको उनले बताए । सङ्घीय सरकार गठनमा सहयोगी भूमिका निर्वाह गरेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपाका सासंद्हरू मिलेर नै प्रदेशमा पनि सरकार गठन हुने उनले बताए ।
नेकपा (एमाले) प्रदेश १ का संसदीय दलका नेता कार्कीले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने दाबी गरे । प्रदेशको ठूलो दल भएकोले प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने बताए । एमालेले प्रदेश सरकार गठनका लागि अन्य दलसँग वार्ता र संवाद गर्न समिति बनाएको छ । कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिका सदस्यहरूमा तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलावल्लभ अधिकारी छन् । प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसद्को समर्थन आवश्यक हुन्छ ।
प्रदेश सभामा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । माओवादी केन्द्रसँग ९ प्रत्यक्ष र चार समानुपातिक गरी १३, राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद् मात्र हुन्छन् । नयाँ समीकरणमा थपिएको माओवादी केन्द्रको जम्मा १३ सिट पाएको छ । यहाँ १ सिट जसपाको छ ।
४७ सांसद्को समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ । यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ । अर्कोतिर नेपाली काङ्ग्रेसको प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सिट तथा नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सिट पाएको छ ।