धरान । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नियुक्त भएका प्रधानमन्त्री दाहाललाई सपथ ग्रहण गराएकी थिइन् । त्यसपछि प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । पौडेलले अर्थमन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी समेत पाएका छन् ।
त्यस्तै एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पनि मन्त्रीको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूको कार्यभार पछि तोकिने बताइएको छ । सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।
निर्मलाको न्यायका लागि पहल गर्ने निर्णय
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गरेलगत्तै मन्त्री लामीछानेले निर्मला पन्त घटनाको पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशनसमेत दिएका छन् । सोमबार सपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री लामीछानेले आफू सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी जनगुनासो गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देखेकाले आफूले गृह मन्त्रालय रोजेको बताएका छन् ।
अनलाइन सिष्टम लागू गर्ने
अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय र मातहतका निकायमा अनलाइन सिष्टम लागू गर्ने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय र मातहतका कार्यालयमा डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
भ्रष्टाचार रोक्ने दाबी
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार रोक्ने दाबी गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अबाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । उनले पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानून बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन सकिएको बुझ्दा हुने बताएका थिए ।