विराटनगर । प्रदेश १ प्रदेशसभामा सोमबारको दृश्य निकै रोचक र उत्साहपूर्ण देखिन्थ्यो । सपथ ग्रहण समारोहमा आएका नवनिर्वाचित प्रदेश सांसद्लाई स्वागत गर्न बिहानैदेखि प्रदेश सभाका कर्मचारी तयारीमा थिए ।

दिउँसो साढे १ बजे सपथ ग्रहणको समय तय भए पनि १२ बजेदेखि नै सांसद्हरू आइसकेका थिए । जहाँ कोही नयाँ थिए त कोही पुराना । सांसद्हरूलाई सपथ ग्रहण गराउन पुगेका प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय काङ्ग्रेसका गयानन्द मण्डल गनगाईंदेखि ३६ वर्षीय जीवन आचार्यसम्मको उपस्थिति रोचक थियो । पहिलोपटक सांसद् बनेकाहरूमा नयाँ सोच र उत्साह थियो भने दोहोरिएकाहरूको पनि आत्मविश्वास बढेको देखिन्थ्यो ।

सांसद्हरूको आफ्नो जातीय पोसाकसहितको उपस्थितिले संसद् भवनमा अर्कै रौनक छाएको थियो । कोही राष्ट्रिय पोसाक दौरा–सुरुवालमा त कोही आफ्नै जातीय भेषभूषा र संस्कृति झल्कने पहिरनमा सजिएका थिए । यस्ता दृश्यले सिङ्गो मुलुकको प्रतिनिधित्व गरेको प्रदेश सभा भवनमा देखिन्थ्यो ।

यसरी आफ्नो जातीय पहिरनमा सजिएर सपथ लिन आउनेहरूमा एमालेकी सांसद् मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ, नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू र जनता समाजवादी पार्टीकी सांसद् निर्मला लिम्बू थिए ।

उनीहरूको जातीय पहिरनले सदनमा समावेशी र विविधता झल्किएको छ । सांसद्हरूको आफ्नो जातीय पोसाकसहितको उपस्थितिले प्रदेश सभा परिसरमा रौनक छाएको थियो ।

प्रदेशसभामा नवनिर्वाचित सदस्यहरूले पनि सपथ लिँदा बहुभाषिक, बहुजातीय र बहुसंस्कृतिमूलक हो भन्ने सत्यलाई पुष्टि गर्ने गरी आ–आफ्नै मौलिक पोसाकमा सजिएर आए । पोसाक मात्रै होइन हरेक सदस्यका हाउभाउ, बोलचाल र गतिविधिले प्रदेश सभा भवन परिसरको दृश्य रोचक देखिन्थ्यो ।

फरक फरक पार्टीबाट निर्वाचन जितेर आएको भए पनि प्रदेशसभा भवनभित्र प्रवेश गरेपछि नयाँ र पुरानाबीचको चिनजान गरेको माहौल झनै अर्थपूर्ण थियो । केही सांसद् भने रमाइलो मान्दै बैठक कक्षदेखि प्रदेशसभा भवनपरिसरमै सेल्फी र फोटो खिच्न व्यस्त भए । सपथ लिएपछि प्रदेशसभाबाहिर ज्येष्ठ सदस्य मण्डलले नवनिर्वाचित प्रदेश सांसद्हरूलाई खादा र माला लगाएर बधाई ज्ञापन गरेका थिए ।

प्रदेश १ का सांसद्ले लिए सपथ
विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसद्हरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसद्हरूलाई सोमबार सपथ ग्रहण गराएका हुन् ।
प्रदेश १ का ६ जना प्रदेश सांसद्ले मातृभाषामा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य मण्डलले सपथ ग्रहण गराए ।

मातृभाषामा सपथ लिने प्रदेश सांसद्हरूमा पाँचथर १(२) बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बूले मातृभाषा याक्थुङ (लिम्बू) भाषामा सपथ लिएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, काङ्ग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मातृभाषा याक्थुङ (लिम्बू) भाषामा सपथ लिएका हुन् । काङ्ग्रेसकी सुनिता गच्छदार चौधरीले थारू भाषामा सपथ लिएकी छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, काङ्ग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद् रहेका छन् ।

जसमा आदिवासी जनजाति समुदायका ३९, खस÷आर्य समुदायका ३७, मधेसी समुदायका ६, थारू र राजवंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जनाले प्रतिनिधित्व रहेको छ । सपथ ग्रहणमा ५६ निर्वाचित र ३७ सामानुपातिक प्रदेश सांसद्हरूले सोमबार सपथ लिएका छन् ।

प्रदेश १ मा एमालेले सरकार बनाउने सम्भावना छ । केन्द्रमा एमालेको सहयोगमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै यहाँ पनि एमालेको सरकार बन्ने सम्भावना बढेको हो ।