धरान । धरानका नगरप्रमुख हर्कराज साम्पाङ (राई) को अभिव्यक्तिका कारण ‘डेड लक’ को स्थितिमा रहेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सोमबारदेखि सौहार्द्रपूर्ण वातावरणमा सुरु भएको छ ।

गत असोज १३ गतेयतादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । बीचमा कार्यपालिका बैठक डाकिए पनि कार्यपालिका सदस्यहरूले नगरप्रमुखको अभिव्यक्तिप्रति आत्मालोचित बन्नुपर्ने अडान राख्दै आएका थिए । उक्त अडानपश्चात् नगरप्रमुख राईले पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा मागसमेत गर्न भ्याएका थिए ।

जुन संविधानतः गलत थियो । ब्लाष्टलाई प्राप्त जानकारीअनुसार नगरप्रमुख राईलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसम्मले कार्यपालिका बैठकलाई सौहाद्र्रपूर्ण वातावरणमा सञ्चालन गर्न फोनमार्फत् निर्देशन दिएका थिए । उक्त निर्देशन जिल्ला तहबाट भन्दा पनि केन्द्र तहबाटै आएको जानकार स्रोतहरू बताउँछन् ।

त्यसयता चौतर्फी दबावमा पर्दै आएका नगर प्रमुखले अनौपचारिक रूपमा ‘काम गर्दै जाँदा मबाट पनि त्रुटि भयो होला, तपाईंहरूबाट पनि भयो होला, हामी सबै सच्चिएर जानुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएपश्चात् नै कार्यपालिका बैठकले निरन्तरता पाएको हो ।
असोज १३ गतेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानलाई बहुसांस्कृतिक पार्कको विषयमा आफ्नो राय राख्ने क्रममा ‘बाहिर जानू’ भन्ने निर्देशन दिएका थिए ।

उक्त निर्देशन कै कारण कार्यपालिका सदस्यहरू नगरप्रमुखसँग रुष्ट बन्दै कार्यपालिका बैठक बहिष्कार गर्दै आएका थिए । उनले कात्तिक १७ गते, कात्तिक २४ गते र मङ्सिर ९ गते कार्यपालिका बैठक डाकेको भए पनि बस्न सकेको थिएन । तर, यसबीचमा नेपालको राजनीतिमा आएको उतारचढाव झैँ नगरप्रमुखमा पनि चौतर्फी दबाव सिर्जना भएका कारण कार्यपालिका बैठक बस्ने वातावरण सिर्जना भएको हो ।

कार्यपालिका बैठकलाई सञ्चालन गर्न भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घ, बुद्धिजीवीको समूहले ज्ञापन–पत्र बुझाएको थियो । यता नगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले पनि अनौपचारिक र औपचारिक रूपमा ‘हिजो भएका गल्तीहरूप्रति सबैले आत्मालोचना गर्दै अगाडि बढ्न’ सङ्केत गरेका थिए ।

यसबीचमा नगरप्रमुख राईका समर्थकहरूले धरानको भानुचौकदेखि वडा–वडा कार्यालयहरूमा गई दबाव सिर्जना गर्ने काम पनि गरेका थिए । त्यसले गर्दा माहौल झन् बिग्रिने भन्दै इलाका प्रहरी कार्यालय धरानले नगरप्रमुखका समर्थकहरूलाई दबाव नदिनका लागि निर्देशन दिएको थियो ।

नगरप्रमुख राईले काङ्ग्रेसका केही नेताहरूलाई पनि मिलाइदिनका लागि आग्रह गरेका थिए । काङ्ग्रेसका एक नेता भन्छन्, ‘कार्यपालिकाका कारण उपमहानगर नै डेड लकको स्थितिमा भएपछि मिलाइदिन आग्रह भयो । सोहीअनुसार सबै नेताहरूलाई आग्रह गर्यौँ ।’

विविधसहित १२ वडा एजेन्डा पारित
लामो समयसम्मको रस्साकस्सीपछि सोमबार बसेको धरान कार्यपालिकाको बैठकले विविधसहित १२ वटा एजेन्डा प्रस्तुत गर्दै पारित गरेको छ । यस एजेन्डाभित्र गत असोज १३ गते विवादको कारण बनेको बहुसांस्कृतिक पार्कले पनि प्रवेश पाएको छ ।

नगरप्रमुख राईले सोमबारको बैठकमा पनि धरान–१७ को सप्तरङ्गी पार्कमै बहुसांस्कृतिक पार्क बनाउनुपर्ने धारणा राखेका थिए । तर, बहुमत कार्यपालिका सदस्यले धरान–१४ मा बहुजातीय सङ्ग्रहालय निर्माण भइरहेको र सो सङ्ग्रहालय बहुसांस्कृतिक पार्ककै अवधारणा रहेको बताएका थिए ।

नगरप्रमुख र कार्यपालिका सदस्यहरूबीच विचार बाझाबाझ भएपछि नगरप्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको नगरका प्रवक्ता एवम् धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए । उनका अनुसार नगरप्रमुख राईको संयोजकत्वमा आफूसहित धरान–१५ का वडाध्यक्ष नरेश इवारम, धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण), सावित्री परियार रहेको समिति गठन भएको छ ।

उक्त समितिले बहुसांस्कृतिक पार्कका लागि जग्गा पहिचान गर्ने र खोज्ने बताइएको छ । तर, समयसीमा भने नरहेको जनाइएको छ ।

त्यस्तै धरान डे मनाउने एजेन्डा पारित भएको छ । तीन दिनसम्म धरान डे मनाउने गरी एजेन्डा पारित भएको उनले जानकारी दिए । अन्य एजेन्डामा नगरसभा आह्वान गर्ने पनि रहेको छ ।

आउँदो माघ १५ गते नगरसभा गर्ने निर्णय पारित भएको छ । त्यस्तै धरानका खोलाहरूको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्ने एजेन्डा पनि पारित भएको छ । यस्तै गणपूरक सङ्ख्या पुर्याउने, अघिल्लो बैठकको समीक्षा, बाटोको नामकरण र मापदण्ड, ल्याव सामग्रीको दररेट, करार कर्मचारी, इन्जिनियरको असाधारण बिदा स्वीकृति र विविध एजेन्डा प्रस्तुत गरी पारित गरिएको छ ।

त्यस्तै सङ्घीय सरकारमा समपूरक र विशेष अनुदानका लागि आर्थिक वर्ष २०८०/०८१ को योजना छनौट गरी केन्द्रमा पठाउने निर्णय पनि पारित भएको छ । जसमा धरानको बसपार्कको योजनाका लाग २४ करोड ९७ लाख रुपैयाँ बजेट माग गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।