धरान । नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धन टुटेलगत्तै नेपाली काङ्ग्रेस ‘माछो माछो भ्यागुतो’ को स्थितिमा पुगेको छ । मङ्सिर ४ गतेको चुनावबाट देशको सबैभन्दा ठूलो दल बनेको काङ्ग्रेसले ‘प्रधानमन्त्री र राष्ट्रपति’ आफ्नै ‘कोर्ट’ मा पार्ने असफल प्रयासका कारण माछो माछो भ्यागुतोको स्थिति बनेको हो ।
काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफै पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने र आफ्नै दलबाट राष्ट्रपति बनाउने प्रयास अन्ततः असफल मात्रै भएको छैन, सातैवटा प्रदेशमा काङ्ग्रेसको सरकार नबन्ने भएको छ । माओवादीले सत्ता गठबन्धनसँग सम्बन्ध तोडेलगत्तै सत्ता समीकरणमा ट्वीस्ट आएको छ ।
अब ‘बल’ नेकपा (एमाले)को कोर्टमा आइपुगेको छ । दोस्रो ठूलो दल एमालेले गठबन्धन तोडेर आएमा सोच्न सकिने बताउँदै आएको थियो । त्यसका लागि एमालेले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो भने माओवादीबाट वर्षमान पुनः सक्रिय रहेका थिए । एमालेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने सम्भावना जीवित राखेको थियो । त्यही सम्भावनाकै अन्ततः सत्ता साझेदारीमा पुगेर टुङ्गिएको छ ।
देशको सबैभन्दा ठूलो दल प्रतिपक्षमा बस्न बाध्य बनेको छ । एमालेको कोर्टबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त मात्रै भएका छैनन्, आज (सोमबार) साँझ ४ः०० बजे सपथ ग्रहण गराइने राष्ट्रपति कार्यालयले जनाएको छ । उनी देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । त्यसो त यसअघि २०६४ सालको संविधानसभाको चुनावबाट पनि उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । सातवटा दल र तीनजना स्वतन्त्र सांसद्सहित १ सय ६९ जना सांसद्को समर्थन लिई प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् ।
सरकारको नेतृत्व गर्नका लागि १ सय ३८ सङ्ख्या भए पुग्थ्यो । प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीनजना स्वतन्त्र सांसद्हरूले साथ दिएका छन् । एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्तिको ३ र तीनजना स्वतन्त्र गरी १ सय ६९ सांसद्को समर्थन रहेको छ ।
काङ्ग्रेसले सत्ता गठबन्धनको क्रममा आधा–आधा कार्यकाल सञ्चालन गर्ने भनी मौखिक सहमति गरेको थियो । उक्त सहमतिअनुरूप पहिलो कार्यकाल माओवादी केन्द्रले दाबी गरेको थियो । यता काङ्ग्रेसले भने पहिलो कार्यकाल दिन नसकिने र दोस्रो कार्यकालका लागि तयार रहेको जनाएको थियो ।
सोहीअनुरूप आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको थियो । छलफल चलिरहेकै बेला प्रचण्ड बाहिरिँदै गठबन्धन टुटाएको सन्देश प्रवाह गरेका थिए । ‘सरकार गठनमा उहाँहरू सकारात्मक भए पनि मुख्य पोष्टहरू उहाँहरूले (काङ्ग्रेस) नै राख्ने भनेपछि गठबन्धन टुटेको हो’–माओवादी नेता देव गुरुङले फोनसम्पर्कमा भने । उनका अनुसार सरकार गठनपश्चात् नै कार्यकालको विषयमा विस्तारमा कुरा हुनेछ ।
बालुवाटारको बैठक छाडेर उनी सिधै एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास बालकोट पुगेका थिए । बालकोटमा माओवादीसँगै अन्य पार्टीहरू पनि सहभागी भई प्रचण्डलाई प्रधानमन्त्री दिनका लागि सहमत भएका थिए । यता काङ्ग्रेसका अग्रज नेता रामचन्द्र पौडेलले देउवा आफै पुनः प्रधानमन्त्री हुन खोज्ने रणनीतिका कारण सत्ता गुमेको भन्दै असन्तुष्टि जाहेर गरेका छन् । उनले सत्ता गठबन्धन जोगाउनुभन्दा आफ्नो सत्ता टिकाउनतिर लाग्दाको परिणाम भएको बताए । उनले प्रचण्डलाई काङ्ग्रेसले धोका भएको बताए । ‘धोका दिएको भन्ने पक्षमा म छैन, धोका भएको हो’–उनले भने ।
एमालेले भने राष्ट्रपति र सभामुखका लागि दाबी गर्ने भएको छ । राष्ट्रपति कार्यालयले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि सात दिनको समयसीमा दिएको थियो । समयसीमा आइतबार नै सकिँदै थियो । त्यसअवधिमा सरकार निर्माणका लागि निकै कसरत भए पनि असफल भएको थियो । त्यही बेला एमालेले सरकार गठनका लागि ‘आफ्नो कोर्ट’ खुला राखेको थियो ।
सरकार गठनका लागि कसैको पनि एकल बहुमत पुग्ने अवस्था नभएका कारण पनि नेपालको संविधान धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा निर्वाचित दलहरूको समर्थन जुटाएर सरकार गठन गर्ने अवस्था रहेको थियो । यस्तो अवस्थामा सत्ता साझेदार जो पनि हुनसक्ने सम्भावना जीवित रहेको थियो । त्यसका लागि ‘माओवादी केन्द्र’ जता ध्रुवीकरण हुने स्थिति बन्थ्यो, त्यतै सरकार बन्ने सम्भावना रहेको थियो ।