देउराली । खेलकुदको उर्वर भूमिको रूपमा चिनिएको धरानमा खेलकुद तथा आधारभूत पत्रकारिता तालिम बुधबारबाट सुरु भएको छ । धरान उपमहानगरपालिकाको उपमेयर कोषको सहयोगमा धरान मित्र मिलन क्लब धरानले आयोजना गरेको उक्त तालिम ३ दिन सम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।
खेल क्षेत्रबाट राष्ट्रिय पहिचान र आर्थिक तथा सामाजिक विकास गर्न सकिने भए पनि खेलकुदको वृद्धि विकासका लागि प्रचारप्रसारको अभाव देखिएको भन्दै युवा पुस्ताका पत्रकारहरूलाई खेलकुद क्षेत्रको रिपोर्टिङमा दक्षता अभिवृद्धि गर्नका लागि उक्त तालिमको आयोजना गरिएको क्लबका संरक्षक तथा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता किशोर राईले बताएका छन् ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै राईले भने "धरानलाई खेलकुदले पनि चिनाएको छ । खेलकुदको माध्यमबाट पनि आर्थिक विकास हुन्छ । त्यसकालागि खेलकुदमा लगानी र त्यसको प्रचारप्रसार हुन जरुरी छ । हरेक स्थानीय तहमा पनि खेलकुदको लागि छुट्टै स्पोर्ट मिडिया पर्सन अनिवार्य गरेर त्यहाँ रहेका समग्र खेल क्षेत्रको प्रचार प्रसार गरेर त्यसलाई व्यावसायिकतासँग जोड्न जरुरी छ । "
पत्रकार महासङ्घ सुनसरीको प्राविधिक सहयोगमा भइरहेको तालिमका प्रशिक्षकहरूमा पत्रकार तथा उपप्राध्यापक राजेश विद्रोही, ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, पत्रकार रोहित राईले आधारभूत पत्रकारिता, अनलाइन पत्रकारिता तथा खेलकुद सम्बन्धी प्रशिक्षण दिनेछन् भने फुटबल खेलसम्बन्धी प्राविधिक ज्ञानबारे पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइलीले प्रशिक्षण दिने क्लबका अध्यक्ष गोपाल कार्कीको बताए । उनका अनुसार तालिममा २५ जना सहभागीहरू रहेका छन्।
होटल पूर्विस्टारमा आयोजित कार्यक्रम वरिष्ठ पत्रकार हर्ष सुब्बाले सामाजिक सञ्जालबाट हुने गरेको नागरिक पत्रकारिताले समाजलाई बिगार्ने मात्र नभएर राम्रा कामहरू पनि गरेको बताए । सामाजिक सञ्जाललाई आमसञ्चारको रूपमा परिभाषित गर्नुपर्ने भन्ने माग भइरहँदा त्यसलाई मर्यादित बनाउन प्रयोगकर्ताहरूका लागि पनि आधारभूत पत्रकारिता तालिम आवश्यक भएको सुब्बाले बताए ।
धरान कार्यपालिका विवाद : प्रमुख प्रशासकीय अधिकृतकाे सकारात्मक भूमिका देखिएन–वडाध्यक्ष भट्टराई
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै धरान १६ नम्बर वडाका वडाध्यक्ष तथा काँग्रेस सुनसरी १ खका सभापति मुरारी भट्टराईले धरानको कार्यपालिका बैठकमा देखिएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । उनले नगर प्रमुख हर्कराज राईले हिजो हामीबाट जे–जस्ता भए पनि त्यसलाई बिर्सिएर अगाडि बढौँ भन्न सक्नु पर्ने बताउँदै मबाहेक अरू सबै गलत भन्ने भावना त्याग गर्नुपर्ने बताए ।
भट्टराईले धरानमा देखिएको वर्तमान समस्यामा प्रमुख प्रशासकीय अधिकृतले पनि सकारात्मक भूमिका खेल्नु पर्नेमा त्यस्तो नदेखिएको भन्दै यसले पर्ने दूरगामी असरको जिम्मेवारी नगर प्रमुख राई, उपप्रमुख अइन्द्रविक्रम बेघा र हालका उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतले समेत लिनुपर्ने बताए । उनले उक्त विषयलाई लिएर आफ्ना समर्थक तथा सङ्गठनहरूलाई उतार्दा मुठभेडको स्थिति समेत आइपर्नसक्ने भन्दै त्यसबारे सबै सचेत र संयम हुनुपर्ने बताए ।
त्यस्तै, उद्घाटनमा बोल्दै काँग्रेस सुनसरी क्षेत्र नम्बर एकका महासचिव उमेश थापाले धरानको विकाशमा गति दिनु पर्ने जिम्मेवारी रहेको उपमहानगरपालिकामा जनप्रतिनिधिको दम्भपूर्ण स्वभावका कारण गाईजात्रा भइरहेको बताएका छन् । उनले स्वतन्त्र व्यक्ति निर्वाचित भएका अन्य क्षेत्रहरूमा जनप्रतिनिधि मिलेर काम गरेकोले कार्यसम्पादनको चर्चा हुने गरेको भए पनि धरानमा त्यसको ठिक विपरीत भएको बताएका छन् ।
उनले नगर प्रमुखले आफू मात्रै निर्वाचित भएको जसरी व्यक्तिवादी अहमलाई त्यागेर आफ्ना कमिकमजोरीहरू सच्याइ जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । पछिल्लो समय सामाजिक सञ्जालमा सूचनाको वितरण व्यापक भएको भए पनि आम सञ्चारको रूपमा कस्ता विषयवस्तु आउनुपर्ने र कस्तो नआउनु पर्ने भन्ने भिन्नता छुट्टिन नसकेको उनले बताए । थापाले यस्तो स्थितले समाजमा द्वन्द्व सिर्जना गर्ने धारणा राखेका थिए ।