धरान । नेपाली काङ्ग्रेस संसदीय दलको नेता बन्न आज (बुधबार) मतदान हुँदैछ । संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले मङ्गलबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् ।
वर्तमान राजनीतिक परिवेशमा नेपाली काङ्ग्रेस संसदीय दलको नेता चुनिनु अब बन्ने सरकारको प्रधानमन्त्रीका लागि लगभग पक्का हुनुसरह हो । त्यसैले पनि थापा र देउवाबीचको प्रतिस्पर्धालाई महŒवपूर्ण रूपमा हेरिएको छ ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा.शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।
सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार उम्मेदवारी दर्तापछि उनीहरूले मुलुकको अहिलेको आवश्यकता र जनताको चाहनाबमोजिम नै आफूहरूले उम्मेदवारी दिएको तर्क गरेका छन् । सभापति देउवाका प्रस्तावक रहेका पार्टीका वरिष्ठ नेता पौडेलले मुलुकको अहिलेको आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान सक्ने अनुभवी नेतृत्वका लागि सभापति देउवाको उम्मेदवारी रहेको बताएका छन् । उनले सभापति देउवालाई सर्वसम्मतिले संसदीय दलको नेता बनाउनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गरेका छन् ।
यसैगरी सभापति देउवाका समर्थक रहेका पार्टी उपसभापति खड्काले संविधानको रक्षा र कार्यान्वयन, राजनीतिक स्थायित्व र मुलुकको उन्नति, प्रगतिलाई द्रुत गतिमा अघि बढाउन तथा पार्टीको हितका लागि समेत सभापति देउवाको नेतृत्व आवश्यक रहेको बताएका छन् । गठबन्धन दललाई मिलाएर लैजान सक्ने अनुभवको उपयोगिताको आवश्यकता र सबैले स्वीकार्ने नेतृत्वअनुसार सभापति देउवाको उम्मेदवारी रहेको उनले तर्क गरे ।
संसदीय दलको नेताका अर्का उम्मेदवार पार्टीका महामन्त्री थापाले परिवर्तनको चाहनालाई सँगै लिएर जानसक्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको उल्लेख गर्दै पार्टीलाई रूपान्तरण गर्नसक्ने र संसद्भित्र काङ्ग्रेसको तर्फबाट नेतृत्व गरेर गौरव गर्नलायक काम गरेर सरकार चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनचाहनाअनुसार आफूले पार्टीलाई बदल्ने र देशलाई पनि बदल्ने क्षमताका साथ उम्मेदवारी दिएको तर्क गरे ।
महामन्त्री थापाका प्रस्तावक रहेका पार्टीका नेता डा.कोइरालाले आफूहरूले विभिन्न चरणमा छलफल गरेर तथा स्थायित्व र निरन्तरताको एजेण्डाका साथ महामन्त्री थापालाई समर्थन गरेको जानकारी दिए ।
निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । काङ्ग्रेस संसदीय दलको नेताको निर्वाचन आज (बुधबार) हुँदैछ । काङ्ग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् ।
मतदान आज बिहान ८ बजेदेखि १० बजेसम्म काङ्ग्रेस संसदीय दलको कार्यालयपरिसर सिंहदरबारमा हुनेछ । समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क ५१ हजार तोकेको छ । मतदान समाप्त भएपश्चात् मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । पार्टीका नेता भीष्मराज आङ्देम्बे संयोजकत्वको निर्वाचन समितिमा नेताहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काङ्ग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा काङ्ग्रेसले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्नका लागि पहल गर्न सुरु गरिसकेको छ ।
काङ्ग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । काङ्ग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
एमालेमा ओली सर्वसम्मत
धरान । नेकपा (एमाले)मा भने केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
संसदीय दलको बैठकका क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावमा अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेपछि ओली दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
एमालेले मङ्सिर ४ मा निर्वाचित सांसद्हरूका लागि मङ्गलबार प्रज्ञा भवनमा विशेष कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा निर्वाचित सांसद्हरूलाई बधाई दिइएको छ । यसका साथै समानुपातिकतर्फ लोकप्रिय पहिलो मत दिएको भन्दै एमालेले मतदातालाई पनि धन्यवाद दिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अनेक षड्यन्त्र र बुथ कब्जाबीच एमाले देशको लोकप्रिय पार्टी भएको दाबी गरे ।