विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राई र वडाध्यक्षहरूबीचको विवाद झन् चर्किंदै गएको छ ।

पहिला कार्यपालिका बैठकमा देखिँदै आएको विवाद अहिले त्यसभन्दा बाहिर आइसकेको छ । बिहीबार धरान नगरका वडाध्यक्षहरूले पत्रकार सम्मेलन गरेर नगरप्रमुखको कार्यशैलीप्रति विरोध जनाएका छन् । आज (शुक्रबार) नगरप्रमुख राईले पनि यही विषयमा आफ्ना कुरा राख्न पत्रकार बोलाएका छन् । वडाध्यक्षहरू र नगर प्रमुखबीचको विवाद बढ्दै जाँदा कार्यपालिका बैठक बस्न सकेको छैन, त्यसको प्रत्यक्ष असर धरानका विकास आयोजनाहरूमा परिरहेको छ ।

बिहीबार पनि कार्यपालिका बैठक राखिएको थियो तर, अधिकांश वडाध्यक्षहरू बैठकमा उपस्थित भएनन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नगरप्रमुखले माफी माग्नुपर्ने अडान लिए । कार्यपालिका सदस्यलाई अपमानित गरेकोमा नगरप्रमुखले माफी माग्नुपर्ने वडाध्यक्षहरूको पुरानै माग हो ।

वडाध्यक्षहरूले नगरप्रमुख राई ऐन कानूनविपरीत अघि बढेकाले सच्चिएर नगरको विकासमा लाग्न पनि माग गरेका छन् । बिहीबार धरानका २० वटै वडाका वडाध्यक्षहरूसहित कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । नगरप्रमुख राईले भदौ १३ गतेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकका प्रस्तावमा राय राख्ने क्रममा राय राख्न रोक लगाउँदै बाहिर निस्केर जान निर्देशन दिएका थिए । सोही विषयमा माफी माग्नु पर्ने वडाध्यक्षहरूको माग छ ।

वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा ‘नगरप्रमुख राईलाई आत्मालोचना गरी बैठकलाई सुचारु गर्न माग गर्दा म आत्मालोचना गर्दिनँ भनी स्वेच्छाचारी प्रवृत्ति देखाएकाले बैठक स्थगित गरिएको’ उल्लेख छ । नगरको नेतृत्व गरिरहेका राईले सहजीकरण गरी बैठकलाई सुचारु गर्न पहल गर्ने अपेक्षा गरिए पनि त्यस्तो नभएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको वडाध्यक्षहरूले बताएका छन् ।

कार्यपालिका बैठक स्थगित भएपछि नगरप्रमुख राईले ऐन कानूनविपरीत तोक आदेशमा नगरपालिका सञ्चालन गर्ने अभिव्यक्ति दिएका थिए । यसअघि एउटा कार्यपालिका बैठक पनि स्थगित भएको थियो । यसअघिका २ कार्यपालिका बैठक र बिहीबारको कार्यपालिका बैठक पनि माफी माग्नुपर्ने अडान लिएका कारणले बस्न नसकेको वडाध्यक्षहरूले बताएका छन् ।

नगरपनलिकाका प्रवक्ता तथा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले नगरप्रमुखले नीतिविपरीत गरेका कार्यहरू सच्याउन पनि माग गरेका छन् । उनीहरूले नगरप्रमुख राईले ‘तोक आदेशमा सञ्चालन गर्छु’ भन्नेअभिव्यक्तिलाई व्यहारमा उतारेको निष्कर्ष निकालेको बताएका छन् ।

नगरप्रमुख गैरसंवैधानिक, गैरकानूनीरूपमा नगरका विकासीय समिति गठनमा रोक, विना निर्णय साबुन उद्योगको निर्माण कार्य सुरु, बीपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखी श्रम संस्कृतिपार्क नामकरण, सामाजिक सञ्जाल (फेसबुक) मा तुच्छ शब्दहरू प्रयोग गरी गालीगलौज, जातीय सद्भाव खल्बलिने गरी ‘चमारे’ भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएको, सेवाग्राहीहरूलाई हप्कीदप्की गर्नुका साथै राष्ट्रसेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेको बताएका छन् ।

साथै जनताले आफ्ना गुनासा तथा कामहरू लिएर आउँदा हप्कीदप्की गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्दासमेत लगाएको जनाएका छन् । प्रवक्ता भट्टराई भने, ‘नागरिक गुनासो लिएर आउँदा प्रहरी लगाएर धरपकड गर्न मिल्छ ?’ यसअघि बोलाइएको कार्यपालिका बैठकमा माफी माग्नु पर्ने अडान लिँदा नगरप्रमुख राई आफै बैठकबाट बाहिर निस्किएको विज्ञप्तिमा उल्लेख छ ।

नगरप्रमुख राईको स्वेच्छाचारी र अराजक प्रवृत्तिका कारण कार्यपालिकाले गर्नु पर्ने महत्वपूर्ण विषयका निर्णयहरू गर्न नसकेको वडाध्यक्षहरूले जनाएका छन् । विज्ञप्तिमा नगरप्रमुख राईको कार्यशैली, व्यवहार, तुच्छ शब्दहरूको कारण समग्र धरानवासी लज्जित हुनुपरेको जनाएका छन् । उनीहरूले नगरप्रमुख राईले कार्यशैली परिवर्तन गरी ‘म’ होइन ‘हामी’ भन्ने भावना अनुरूप धरानको विकासका लागि एकताबद्धरूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न माग गरेका छन् । वडाध्यक्षहरूले कार्यपालिका बैठक पनि फेसबुकमार्फत् जानकारी गराएको बताएका छन् । स्थानीय सरकारको सूचना दिने आधिकारिक माध्यम हुनुपर्ने पनि वडाध्यक्षहरूले बताए ।

प्रमुख राई फायल रोक्दै
नगरप्रमुख राईले नगर तथा वडा कार्यालयका फायलहरू पनि रोकेर राखेका छन् । कतिपय वडाका फायल त वडाध्यक्षलाई देखाउनू भनेर फिर्ता पठाइदिनेसम्म गरेको वडाध्यक्षहरूले बताएका छन् ।

वडाध्यक्ष भट्टराईले नगर प्रमुख राईले आफ्ना २ वटा फायल पनि फर्काएको बताए । अन्य वडाध्यक्षहरूले पनि फायल रोकेर राखेको बताएका छन् । एक वडाध्यक्षका अनुसार जनताका कामका करिब १ सय ५० वटा फायल रोकेर राखेको बताएका छन् ।