धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि स्थगित भएको छ ।
यसअघिका कार्यपालिका बैठकमा नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्यलाई अपमानजनक शब्दको प्रयोग गरेको भन्दै शब्द फिर्ता लिन र माफी माग्न भनेका थिए । नगर प्रमुख राईले माफी नमाग्ने भएपछि लगातार बैठक स्थगित हुँदै आएको छ । बैठक स्थगित भएकाे याे तेस्राे पटक हाे ।
आज बिहान ८ बजेका लागी समय तोकेको बैठकमा ४ जना वडाध्यक्षहरू मात्र उपस्थित भएका थिए । वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सुर्यबहादुर ( मनाेज) भट्टराईले कार्यपालिका सदस्यहरूको तर्फबाट कुरा राख्दै कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताए । उनले भने "कार्यपालिकामा हरेक सदस्य जनताको म्यान्डेटबाट आएका हुन् । कार्यपालिका बैठकमा नगर प्रमुखद्वारा शब्द प्रहार हुनु, कसैलाई मन पर्दा बैठकमा बस्न पाउने र कसैलाई मन नपर्दा बैठकबाट निस्कनुपर्ने भन्ने हुँदैन ।"
उनले नगर प्रमुखले समन्वयनकारी भूमिका खेल्नु पर्नेमा तोक आदेशबाट चलाउँछु भन्दै धम्की दिने गरेको तथा नगरको आधिकारिक धारणा जनतामा लाने विधि र संरचना बारेमा प्रश्न गरेका थिए । उनले साबुन उद्योगको संरक्षण समिति गठन गरेको विषयमा प्रश्न गर्दै त्यसको सञ्चालन कार्यविधिका बारेमा प्रश्न गरेका थिए ।
बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई सहभागी थिए प्रवक्ता भट्टराईले अाफ्नाे कुरा राखिसकेपछि नगर प्रमुख राईले माफी नमाग्ने भन्दै बैठकबाट बाहिरीएका थिए । नगर प्रमुख राई बैठकबाट बहिरिदै गर्दै अन्य उपस्थित कार्यपालिका सदस्यहरूले बैठकमा अन्य कुराहरू राख्नु पर्ने भएकाले केहिसमय बस्न अग्रह गरेका थिए ।
नगर प्रमुख राई बाहिरिएपछि उपप्रमुख अइन्द्रबिक्रम बेघाले मेयर र वडाअध्यक्षहरु लचिलाे भएर जनताकाे मुद्दाहरु ओझेल पार्नबाट राेकीनु पर्ने बताए ।