विजयपुर । समानुपातिक निर्वाचन प्रणालीको उपहास गर्दै दलका प्रभावशाली नेताले पत्नीसहित आफन्तलाई सांसद् बनाएका छन् तर, ठूला नेतासँग पहुँच नहुनेहरूको भने अगाडिको नाम पनि पछाडि पारेर संसद्को ढोका बन्द गरिएको छ ।

नेपाली काङ्ग्रेस झापा जिल्लाबाट प्रदेशसभा सदस्य समानुपातिकमा पम्फा विश्वकर्माको नाम १ नम्बरमा थियो । ‘समानुपातिकमा पार्टीले सिफारिस गर्दा पहिलो नम्बरमा थिएँ’ विश्वकर्माले भनिन्, ‘१ नं. मा भएपछि निश्चित जस्तै भएर होला धेरैले बधाई दिए । बधाई ग्रहण पनि गरे । तर, भित्रभित्रै अर्कै खेल भयो ।’

सुरुमा एक नम्बरमा नाम पर्दा त उनलाई जिल्ला र प्रदेशस्तरका नेता तथा आफन्तले मात्र होइन, काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले समेत फोन गरे । ‘मीन विश्वकर्माले पनि फोन गर्नुभयो र मलाई सोध्नुभयो । कहाँ हुनुहुन्छ ? म झापामा छु भनेपछि माननीय हुने मान्छे झापा बसेर हुन्छ त ?’ भन्नुभयो’ उनले भनिन्, ‘प्रभावशाली नेतादेखि सबैले १ नं. नाम छ, निश्चित भयो भनेपछि म विश्वस्त नै थिएँ ।’

तर, निर्वाचन आयोगले नाम प्रकाशित गर्दा १ नं. मा रहेको पम्फाको नाम ४ नं. पुग्यो । हाल प्रदेशसभामा सदस्यमा परेकी सुनितादेवी गुरुङको नाम ४ नं.बाट १ नं. आएको पम्फाले बताइन् । २ र ३ नम्बरमा भने भोजपुरका रोहित विश्वकर्मा र धरानका गोविन्द दर्नालको नाम थियो । उनले भनिन्, ‘सुनिताको तीनपुस्ते कागजातमा दलित छैन । भर्खरै दलितसँग विवाह गरेको भन्ने सुनियो ।’

सूचीमा १ नं. मा भएको नाम ४ नम्बरमा पुग्नमा आर्थिक चलखेल भएको उनको भनाइ छ । उनले आफू अन्यायमा परेको भन्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएकी छन् । उनले दिएको उजुरीमा संविधानले दिएको अधिकार पनि आयातित दलितहरूले छड्के बाटो प्रयोग गरी दलितलाई बञ्चित गरेको उल्लेख छ ।

एक नेताका अनुसार समानुातिकमा पर्ने गुरुङ विजय गच्छदार निकट मानिन्छिन् । ती नेताका अनुसार गुरुङ पार्टीको कुनै जनवर्गीय सङ्गठनमा छैनन् । उनी शिक्षिका हुन् । उनले मनोनयन दर्ताकै दिन राजीनामा दिएकी थिइन् । ती नेताले भने, ‘सुनिता पार्टी सदस्य पनि थिइनन् । दलित सङ्घ–संस्थामा पनि रेकर्ड छैन ।’

उत्पीडित वर्गलाई बञ्चित गराएका दलहरूले नेताका आफन्तलाई भने सांसद् बनाएका छन् । १ नं. प्रदेशका मुख्यमन्त्री बनिसकेका भीमप्रसाद आचार्यकी पत्नी निरदेवी खनाल आचार्य समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी छन् । आचार्य पनि सुनसरी क्षेत्र नं. २ बाट प्रत्यक्षमा निर्वाचित भएका छन् ।

उपप्रधानमन्त्रीसमेत भइसकेका जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईकी पत्नी सुशिला श्रेष्ठ पनि समानुपातिक सांसद् बनेकी छन् । अध्यक्ष राई सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् ।

यस्तै पटक–पटक उपप्रधानमन्त्री भइसकेका विजय गच्छदारले भाइबुहारी सुनिता गच्छदारलाई प्रदेश सांसद् बनाएका छन् । यस्तै विजय गच्छदारले प्रतिनिधिसभा सदस्य पनि आफन्त भदैनी कल्पना बस्नेत गच्छदार बनाएको काङ्ग्रेस निकट स्रोतले बताएको छ । प्रदेशसभामा परेकी सुनितादेवी गुरुङलाई पनि गच्छदारकै जोडबलमा सांसद् बनाइएको काङ्ग्रेसकै एक नेता बताउँछन् ।

यी त १ नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेताका पत्नीलगायत आफन्त समानुपातिक सांसद् बनेका केही उदाहरण मात्रै हुन् । प्रधानमन्त्री, मन्त्री, प्रभावशाली नेताका पत्नीलगायत आफन्तलाई पनि समानुपातिक सांसद् बनाएका छन् । उपेक्षित वर्ग समुदायलाई नीति निर्माण तहमा पु¥याउने संविधानको मूल मर्मअनुरूप निर्वाचनमा समानुपातिक व्यवस्था गरिएको हो ।

तर, राजनीतिक दलका नेताले समानुपातिक प्रणालीलाई आफू र आफन्तलाई सत्तामा पु¥याउने माध्यम बनाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन लड्न नसक्नेहरू नीति निर्माण तहमा पुग्न सकुन् भनेर गरिएको व्यवस्थामा प्रधानमन्त्री, पटक–पटक मन्त्री तथा सांसद् बनेका र प्रभावशाली नेताका श्रीमती, दिदी–बहिनीदेखि, भाइबुहारी, भदैभदैनीलगायत आफन्तलाई ठूला राजनीतिक दलहरूले समानुपातिक सांसद् बनाएका छन् । राजनीतिक विश्लेषक डा. अमृत श्रेष्ठ भन्छन्, ‘नेताका आफन्तलाई प्राथमिकतामा राखेपछि व्यवस्थाप्रति नै प्रश्न उठेको छ । यो राम्रो होइन ।’ 

निर्वाचन आयोगको निर्देशिकामा आदिवासी जनजाति, दलित, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा समावेश गर्नु पर्ने व्यवस्था रहेको छ । तर, उक्त व्यवस्थाको दुरुपयोग गर्दै आफन्त नातेदारदेखि पुँजीपतिलाई राजनीतिक दलले समानुपातिबाट सांसद् बनाएका छन् ।

उत्पीडित वर्ग समुदायलाई राख्नुपर्ने समानुपातिक कोटामा पहुँचवालाका आफन्त राखेका विषयमा वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्की संविधानको मूल मर्मलाई राजनीतिक दलले नै उपहास गरेको बताउँछन् । उनी संविधानको सबै जातजातिको संसद्मा प्रतिनिधित्व गराउने मर्म रहेको बताउँदै भन्छन्, ‘यो लोकतन्त्रका लागि हानिकारक कुरा हो ।’ उनी संविधानको सैद्धान्तिक विषयलाई दलले व्यवहारमा लागू नगरेको बताउँछन् । उनी भन्छन्, ‘दलले संविधानको मर्म र लक्ष्यलाई बहिष्करण गरे । संविधान नमान्ने र उल्लङ्घन गर्ने अभ्यास दलबाटै सुरु भयो ।’

प्रभावशाली नेताका आफन्तले समानुपातिकमा प्राथमिकता पाएपछि राजनीतिक आन्दोलनमा योगदान गर्ने सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडा, उत्पीडित वर्ग समुदायहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको छ । बुद्धिजीवी डा. राजेन्द्र शर्मा राजनीतिक दलले गत निर्वाचनमा पनि आर्थिक चलखेलमा समानुपातिकमा सांसद् बनाएपछि निर्वाचन आयोगले क्रम मिच्न नपाउने व्यवस्था गरेको बताउँछन् । उनी भन्छन्, ‘क्रम राख्ने बेलामा नै आर्थिक चलखेल गरेको देखियो ।’

उनी नेपालका राजनीतिक दलको धमिलोपना समानुपातिक उम्मेदवार सिफारिसमा पनि देखिएको बताउँछन् । उनी भन्छन्, ‘समानुपातिक उम्मेदवार सिफारिसले दलका नेता बेइमान छन् भन्ने प्रमाणीकरण भयो । यो व्यवस्थामाथिको प्रश्न हो ।’ उनी दल नसच्चिए नागरिकले सच्याउने बताउँदै भन्छन्, ‘सच्याउन सुरु गरिसके ।’

राजनीतिक विश्लेषक डा. अमृत श्रेष्ठ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उत्पीडित वर्ग समुदाय निर्वाचन लड्न सक्दैनन् भनेर समानुपातिक व्यवस्था गरिएको बताउँछन् । उनी भन्छन्, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उत्पीडितहरू निर्वाचित हुन सक्दैनन् । यो निर्वाचन प्रणालीको दोष हो । उक्त दोषलाई हटाउन समानुपातिक व्यवस्था गरिएको हो ।’

उनी समानुपातिक निर्वाचन प्रणाली असल भए तापनि प्रधानमन्त्री, मन्त्रीलगायत प्रभावशाली नेताका पत्नी, आफन्त राख्नाले प्रणालीमाथि नै गलत धारणा बसेको बताउँछन् । उनी भन्छन्, ‘व्यवस्था गलत होइन । व्यक्तिले गरेको कमजोरी हो । यसको अर्थ नेताका पत्नीले राजनीतिमा नआउन् भनेको होइन । उनीहरू प्रत्यक्षबाट आउनुपर्छ ।’ डा. श्रेष्ठ लोकतन्त्रमा लोकतन्त्रको विकल्प लोकतन्त्र हुने बताउँदै भन्छन्, ‘दलले नसच्याए नागरिकले सच्याउँछन् ।’

प्रभावशालीका आफन्त सांसद्
मुलुकका सबै राजनीतिक दलका प्रभावशाली नेताले आफ्नै पत्नीलगायतका आफन्तलाई समानुपातिकमा प्राथमिकता दिएका छन् । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफ्नी पत्नी आरजु राणा देउवालाई समानुपातिकतर्फ महिला कोटाबाट सांसद् बनाएका छन् ।

पूर्वगृहमन्त्री विमलेन्द्र निधि आफै मधेशी कोटाबाट समानुपातिक सांसद् बनेका छन् । यसअघि पनि समानुपातिबाट सांसद् भई मन्त्री बनिसकेका काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यसपटक समानुपातिकबाट सांसद् बनेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नी पत्नी मञ्जु खाँणलाई सांसद् बनाएका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ की पत्नी नैनकला थापालाई समानुपातिक सांसद् बनाइएको छ । एमाले महासचिव शङ्कर पोखरेलले बहिनी मेनकाकुमारी पोखरेललाई समानुपातिक सांसद् बनाएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहिनी नारायणी शर्मालाई समानुपातिकबाट सांसद् बनाएका छन् ।

यस्तै नेता सूर्य सुवेदीकी पत्नी ज्ञानु बस्नेत र नेता शिवपूजन यादवकी आफन्त मीना यादव पनि समानुपातिकबाट सांसद् भएका छन् । राप्रपाले पनि पूर्वअध्यक्ष पशुपति शमशेर जबरादेखि पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलाई समानुपातिकबाट सांसद् बनाएको छ ।