विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकाको महेन्द्रनगरबाट बाङ्गे हुँदै धरान जोड्ने सडकको तीन पटक म्याद थप गर्दा पनि निर्माण पूरा नगर्ने ठेकेदार कम्पनीलाई कारबाही हुने भएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको सडकको काम रोकेर श्री लुम्बिनी गजुरमुखी जे.भि. कम्पनीका सञ्चालक दीपक गौतम सम्पर्कविहीन भएपछि सडक पूर्वाधर तथा सहरी विकास मन्त्रालय प्रदेश १ ले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको हो ।
वराह क्षेत्रको महेन्द्रनगर र धरान जोड्ने १३.७ किलोमिटर सडक २०७८ भदौ १२ गते सम्पन्न हुनुपर्ने थियो । आर्थिक वर्ष २०७५/०७६ को बजेट अन्तर्गत २०७६ भदौ १२ गतेदेखि निर्माण सुरु गर्ने सम्झौता ठेकेदार कम्पनीसँग भएको थियो । लुम्बिनी गजुरमुखी जेभीले ३७ करोड २३ लाखमा ठेक्का पाएको सडकको काम रोकेर ठेकेदार कम्पनी सम्र्पकविहीन भएपछि स्थानीयवासी मङ्गलबार विराटनगरस्थित मन्त्रालयमा ध्यानाकर्षण गराउँदै कारबाहीको माग राख्न आइपुगेका हुन् ।
वराहक्षेत्र नगरपालिका–५ का कालीदास रेग्मीले ठेकेदारको ढिलासुस्तीको कारणले सडक निर्माणको काम रोकिएपछि मन्त्रालयमा आएर ध्यानाकर्षण गराएको बताए । ‘सडक निर्माण सुरु भएको वर्षौं भइसक्यो । तीन पटक म्याद थप हुँदा पनि निर्माणको काम पूरा भएको छैन । सडक नबन्दा यहाँका स्थानीय बिरामी भइसकेका छन् । धुवाँ र धुलोले यहाँका स्थानीय आजित भइसकेका छन्’ उनले भने, ‘यसरी समयमै काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर नयाँ सम्झौता गरी प्रक्रिया अगाडि बढाउनु पर्दछ ।’
वराहक्षेत्र नगरपालिका अन्तर्गत महेन्द्रनगर, बाङ्गे, हर्दिया, कालाबन्जार, तीनकुने, भलुवाचौरी हुँदै धरानसम्मको दूरी निर्माणाधीन सडकले तय गर्दछ । ठेकेदारसँग सम्झौता हुँदा दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि कोभिड–१९ सङ्क्रमणका कारण सरकारले एकवर्ष म्याद थप गरेको थियो ।
सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधनपछि सडक निर्माणको म्याद २०८० असार १२ गतेसम्म थपिएको छ । म्याद थप भएको अवधिमा समेत सडक निर्माणको सम्भावना नदेखिएपछि आजित भएका स्थानीयले मन्त्रालयको ध्यानाकर्षण गराउन वराहक्षेत्रबाट विराटनगर आएका थिए ।
वराहक्षेत्र नगरपालिका–५ का देवेन्द्र विष्टले सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने सरकारी संयन्त्रको समेत मिलेमतो देखिएको आरोप लगाए । उनले सरकारसँग भएको सम्झौता पालना नगर्ने कम्पनीका प्रोप्राइटर दीपक गौतमको प्रभावमा इन्जिनियर, मन्त्रालयका सचिव र मन्त्रीसमेत परेको दाबी गरे । सम्झौता अनुसारको १३ किलोमिटरमध्ये ६ किलोमिटर दूरीमा ड्रेन, पर्खाल, सडक बेसको काम गरिएको छ । त्यसबाहेक ७ किलोमिटर दूरीको काम थालिएको छैन । ६ किलोमिटर दूरीमा प्रारम्भिक चरणको काम सकेपछि असारयता ठेकेदार पुनः फर्केका छैनन् ।
सडक सेवा क्षेत्रका नागरिकले मन्त्रालयका सचिव असोककुमार साहलाई ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्रसमेत बुझाएका छन् । सचिव साहले बारम्बार ठेकेदारलाई पत्राचार गर्दासमेत नटेरेकोले अब कालोसूचीमा राख्ने प्रक्रिया थाल्ने आवश्वासन दिएका छन् ।
सम्झौता गरेका ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ प्रक्रियाको थालनी गर्दा उक्त सडकको काम सुरु हुन ६ महिना बढी समय लाग्नेछ । सडकको सेवा क्षेत्रभित्र ६ वटा विद्यालय रहेका छन् ।
सरकारी र निजी विद्यालयमा आउजाउ गर्ने विद्यार्थीले दैनिक धुलोभित्र रुमल्लिनु पर्ने अवस्थाले कष्टकर अवस्था भोग्नुपरेको स्थानीयको गुनासो छ । वराहक्षेत्र–१ घर भई जडेज माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दिनेश खत्रीले सरकारी बजेटमा निर्माण भइरहेको सडकको काममा ठेकेदार हाबी भएको देख्दा आफूलाई अचम्म लागेको बताए । उनले सर्वसाधारणले सास्ती पाइरहेको देख्दादेख्दै ठेकेदारले काम नगर्दा तत्काल कारबाही गरेर नयाँ प्रक्रियाको थालनी गर्नुपर्ने बताए ।
प्राविधिक स्टिमेटअनुसार सडकको केन्द्रभाग ५ दशमलव ५ मिटर चौडाइ पर्नेगरी कालोपत्रे गर्नु पर्नेछ । सडकको दुवैतर्फ १ दशमलव १ मिटर ‘सेटब्याक’ छोड्नुपर्ने हुन्छ । सडकको कालोपत्रे ४० एमएम, बेस २० सिएम र ग्राभेल २० सिएम रहेको छ ।