विजयपुर । आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा धरान उपमहानगरको पुँजीगत खर्च ९ दशमलव २४ प्रतिशत भएकोमा चालु आर्थिक वर्षको ५ महिनामा २० दशमलव २२ प्रतिशत खर्च भएको छ । तर, गतवर्ष काम सम्पन्न भई बजेटको अभावमा रोकिएको भुक्तानी चालु आर्थिक वर्षमा भुक्तानी गर्दा पुँजीगत खर्च बढेको देखिए तापनि वास्तविकता भने उस्तै रहेको छ ।
धरानका नगर प्रमुख हर्कराज राईले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा ‘बजेट पारेर वर्षको अन्तिममा मात्रै काम सुरु गर्ने, गराउने चलनको अन्त्य गरौँ’ भनेर लेखेका थिए । तर, धरानको हालसम्मको पुँजीगत खर्चको अवस्था केलाउँदा प्रमुख राई नेतृत्वकै सरकारको पनि असारे खर्च हुने देखिन्छ । धरानको विकास विकास निर्माणका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ कुल ६५ करोड ९९ लाख ४१ हजार ३८ रुपैयाँ विनियोजित बजेटमा चालु आर्थिक वर्षको ५ महिनामा १३ करोड ३४ लाख ५९ हजार २७ रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजित बजेटको २० दशमलव २२ प्रतिशत हो ।
गत आर्थिक वर्षको अनुमानित बजेट वास्तविकताभन्दा २ गुणा बढी थियो । तत्कालीन नगर प्रमुख तिलक राईको पालामा गत आर्थिक वर्षमा ७७ करोड घाटा बजेट बनाइएको थियो । वास्तविकताभन्दा बढी बजेट निर्माण गरेपछि ३९ करोड गत आर्थिक वर्षको दायित्व चालु वर्षमा सरेको थियो । गत आर्थिक वर्षको भुक्तानी चालु आर्थिक वर्षमा गरेपछि पुँजीगत खर्च बढेको देखिएको हो ।
धरान उपमहानगर आर्थिक प्रशासन महाशाखाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले गतवर्षको भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत खर्च बढी देखिएको बताए । उनले केही ठूला आयोजनाको भुक्तानी पनि भएकाले खर्च प्रतिशत बढेको बताए । उनले भने, ‘२० प्रतिशत खर्चमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको भुक्तानी ५०–५० प्रतिशत हाराहारीमा छ ।’ गतवर्षको ५० प्रतिशत हुँदा चालु आर्थिक वर्षको खर्च पनि गत आर्थिक वर्षकै हाराहारीमा खर्च भएको छ । गत आर्थिक वर्षको ५ महिनामा कुल बजेटको ९ दशमलव २४ प्रतिशत खर्च भएको थियो ।
अर्थविज्ञ कृष्णकुमार अग्रवालले नगरपालिकाकाको न्यून खर्च हुँदा विकासमा दीर्घकालीन असर पर्ने बताए । उनले भने, २० प्रतिशत खर्च हुनु सन्तोषजनक होइन । अझ धेरै त गत आर्थिक वर्षको भुक्तानी नै छ । गतवर्षको भुक्तानी गरेर उपलब्धि हुँदैन ।’ उनले आर्थिक वर्षको ५ महिनामा न्यूनतम् पनि कुल पुँजीगत बजेटको ४० प्रतिशत खर्च हुनुपर्ने बताए ।
उनले विकासमा नगरको ध्यान केन्द्रित नभएको बताउँदै भने, ‘सूक्ष्म र बृहत् योजना बनाउन आवश्यक छ ।’ स्वीकृत वार्षिक योजनाको महिनावारी लक्ष्य निर्धारण गरी कार्यान्वयनमा जानुपर्ने बताए । उनले प्रादेशिक र सङ्घीय सरकारको पनि पुँजीगत खर्चको स्थिति कमजोर रहेको बताए । उनले भने, ‘खर्च कम हुँदा नगरमा आर्थिक दुरावस्था निम्तिन्छ । जसको असर साधारण वर्गमा पर्छ ।’
पुँजीगत खर्च अन्तर्गतका कतिपय शीर्षकको त खर्च नै भएको छैन । आवासीय भवन निर्माण÷खरिद र जग्गा विकास कार्यमा २ लाख ५० हजार रुपैयाँ विनियोजित बजेट खर्च भएको छैन । यस्तै कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्चको १५ लाख ५० हजार रुपैयाँ र पुँजीगत परामर्श खर्च २२ लाख विनियोजित बजेटमा खर्च भएको छैन ।
धरान नगर प्रमुख राईको प्राथमिकता रहेको खानेपानी संरचना निर्माणमा विनियोजित बजेटको १ दशमलव ६३ प्रतिशत मात्रै खर्च भएको छ । खानेपानी संरचना निर्माणमा १ करोड ५२ लाख ७५ हजार ५ सय रुपैयाँ विनियोजित बजेटमा २ लाख ४८ हजार ४ सय रुपैयाँ मात्रै खर्च भएको छ ।
निर्मित भवनको संरचनात्मक सुधारमा विनियोजित बजेटको १० प्रतिशत खर्च भएको छ । सवारी साधनमा विनियोजित बजेटको ५३ दशमलव ६३ प्रतिशत खर्च भएको छ । मेसिनरी तथा औजारमा १ करोड १६ लाख २० हजार ८ सय १० रुपैयाँ विनियोजित बजेटको १२ दशमलव २६ प्रतिशत खर्च भएको छ । फर्निचर तथा फिक्चर्समा ४१ लाख ६६ हजार ७ सय ३० रुपैयाँ विनियोजित बजेटमा ११ दशमलव ६९ प्रतिशत खर्च भएको छ ।
सडक तथा पुल निर्माणमा २७ करोड २८ लाख ५९ हजार १ सय ९७ रुपैयाँ विनियोजित बजेटमा २० दशमलव ४२ प्रतिशत खर्च भएको छ । विद्युत् संरचना निर्माणमा २१ लख ३८ हजार विनियोजित बजेटको ११ दशमलव ४ प्रतिशत खर्चको भएको छ । तटबन्ध तथा बाँध निर्माणमा १ करोड २४ लाख ९० हजार रुपैयाँ विनियोजित बजेटमा ४ दशमलव २४ प्रतिशत मात्रै खर्च भएको छ ।
वन तथा वातावरण संरक्षणमा २० लाख विनियोजित बजेटमा ३ दशमलव ६ प्रतिशत खर्च भएको छ । सरसफाइ संरचना निर्माणमा ४३ लाख ५५ हजार विनियोजित बजेटको शून्य दशमलव ५६ प्रतिशत मात्रै खर्च भएको छ । अन्य सार्वजनिक निर्माणमा २५ करोड ४४ लाख १९ हजार रुपैयाँ विनियोजित बजेटमा २५ दशमलव ८ प्रतिशत खर्च भएको तथ्याङ्कले देखाएको छ ।
निर्मित भवनको संरचनात्मक सुधार खर्च ४८ लाख ४० हजार रुपैयाँ विनियोजित बजेटको २२ दशमलव ७४ प्रतिशत खर्च भएको हो । पुँजीगत निर्माण सुधार खर्च सार्वजनिक निर्माणमा १ करोड ५ लाख ८६ हजार ६ सय २२ रुपैयाँ विनियोजित बजेटको ८ दशमलव ०१ प्रतिशत खर्च भएको छ । चालु खर्चतर्फ भने कुल बजेटको २५ दशमलव १८ प्रतिशत खर्च भएको नगरको तथ्याङ्कले देखाएको छ ।