विराटनगर । मोरङको प्रतिनिधि र प्रदेशसभातर्फको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । मोरङको ६ प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ ।
मङ्गलबार रातिसम्म निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार मोरङको २–२ स्थानमा एमाले, काङ्ग्रेस १–१ मा माओवादी र एमालेका बागी उम्मेदवार अगाडि रहेका छन् । मोरङ निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार घनश्याम खतिवडा सुरुवातदेखि अग्रता कायम राखेका छन् । उनले ३ हजार ८ सय ६२ मत ल्याएर अगाडि रहेका छन् ।
काङ्ग्रेसका डिगबहादुर लिम्बूले ३ हजार ९५ मत ल्याएर पछ्याएका छन् । मोरङ २ मा काङ्ग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा भएको छ । पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग कडा प्रतिस्पर्धा सुरु भएको छ ।
पछिल्लो सार्वजनिक मतपरिणामअनुसार काङ्ग्रेसकी कोइरालाले ४ हजार ३ सय ७० मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिकेश पोखरेलले ४ हजार ३ सय १३ मत ल्याएर पछ्याएका छन् । मोरङ ३ मा ५ काङ्ग्रेसका सुनिल शर्माले फराकिलो मतअन्तरले अग्रता लिएका छन् । शर्माले ५ हजार ८६ मत ल्याएर अगाडि रहेका छन् । एमालेका भानुभक्त ढकालले २ हजार ५ सय ४८ मत ल्याएर पछ्याएका छन् ।
मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । मोदीले १० हजार १ सय ५७ मत ल्याएर सुरुवातदेखि अग्रता कायम गरेका हुन् । उनका निकटम् प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद ढकालभन्दा मोदी ३ हजार ५ सय ६७ मतले अगाडि रहेका छन् । ढकालले ६ हजार ५ सय ८८ मत ल्याएर पछ्याउँदैछन् ।
मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल ८ हजार ५ सय ९४ मत ल्याएर अगाडि रहेका छन् । माओवादी केन्द्रका शिवकुमार मण्डलले ५ हजार ७ सय ६४ मत ल्याएर पछ्याउँदैछन् । यहाँ जसपाका राजकुमार यादवले ५ हजार १ सय ८९ मत ल्याएका छन् । मोरङ ६ मा काङ्ग्रेसका डा. शेखर कोइराला ३ हजार ५ सय ४४ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका लालबावु पण्डित २ हजार ७ सय ६८ मत ल्याएर पछ्याएका छन् ।
प्रदेशमा काङ्ग्रेस, एमाले ३—३ र माओवादीको एक क्षेत्रमा अग्रता
मोरङको प्रदेशतर्फ १२ निर्वाचन क्षेत्रमध्ये अहिले ७ निर्वाचन क्षेत्रमा गणना भइरहेको छ । मङ्गलबार रातिसम्मको मतपरिणामअनुसार काङ्ग्रेस तीनमा, एमाले दुई र माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । मोरङ १(१) मा एमालेका उमाकान्त गौतमले ४ हजार १ सय ६५ मत ल्याएर अग्रता कायम गरेका छन् । माओवादीका कुलप्रसाद साम्बा २ हजार ८ सय ४७ मत ल्याएर पछ्याउँदैछन् । राप्रपाका पूर्णबहादुर वाइबा तामाङले २ हजार ४ सय ५९ मत ल्याएका छन् ।
मोरङ २(१) मा गणेश उप्रेती सुशीलले २ हजार ७ सय ३८ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका दानबहादुर कार्कीले २ हजार ४ सय ९९ मत ल्याएर पछि परेका छन् । मोरङ २(२) मा एमालेका लीलावल्लभ अधिकारी ३ हजार ३ सय २५ मत ल्याएर अगाडि रहेका छन् । काङ्ग्रेसका विनोद कार्कीले २ हजार ६ सय ३४ मत ल्याएर पछि परेका छन् ।
मोरङ ३(१) मा काङ्ग्रेसका मानबहादुर लिम्बूले ७ हजार ४ सय ५३ मत ल्याएर अगाडि रहेका छन् । एमालेका दिलिपकुमार राईले ६ हजार ७ सय ६३ मत ल्याएर पछ्याउँदैछन् । मोरङ ४(१) मा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरीले मतान्तर घटाउँदै लगेका छन् । ग्रामथान गाउँपालिकाभित्रको वडाहरूको गणना सुरु भएपछि चौधरीले मतान्तर घटाउँदै गएका हुन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनबाट काङ्ग्रेसका उम्मेदवार गुरुराज घिमिरे १ सय ५७ मतले मात्र अगाडि रहेका छन् । घिमिरेले ७ हजार ८ सय ३२ मत ल्याउँदा एमालेका चौधरीले ७ हजार ६ सय ७५ मत ल्याएर पछ्याएका छन् । कटहरी गाउँपालिकाभित्रका चार वटा वडाको मत गणना गर्दा घिमिरेले फराकिलो मतान्तरले अगाडि रहेका थिए । मङ्गलबार बिहानदेखि ग्रामथान गाउँपालिका—१, २ र ३ नम्बर वडाको मतगणना सकिँदा चौधरीले मतअन्तर घटाएका हुन् । अहिले कटहरीको ४, ५, ६, र ७ ग्रामथानको १, २, ३ वडाको मतगणना सकिएको छ ।
मोरङ ५(१) मा काङ्ग्रेसका गयानन्द मण्डल जित नजिक पुगेका छन् । मण्डलले प्रतिस्पर्धी एमालेका सन्तोषकुमार साहलाई फराकिलो मतान्तरले पराजित गरी जित्ने निश्चित भएका छन् । मण्डलले १३ हजार ६५ मत ल्याएर जित नजिक रहँदा एमालेका सन्तोष राईले ८ हजार ३ सय २२ मत ल्याएर पछ्याएका छन् । मोरङ ६(१) मा एमालेकी रीता न्यौपाने ५ हजार १ सय १५ मतले अगाडि रहेकी छन् । माओवादीका जीवन आचार्य ३ हजार ८ सय ७६ मत ल्याएर पछ्याउँदैछन् ।