धनकुटा । धनकुटा नगरपालिका वडा नं.५ कर्मीटारकी मेनुका श्रेष्ठको पसल रहेको २ तले काठको घरमा मंगलवार राति आगलागी हुँदा २० लाख वरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मध्यराती एक्कासी मेनुकाको पसल घरमा भएको आगलागीले भाँडा, वर्तन, खाद्यन्न, दोकानको सम्पुर्ण सामाग्री जलेको छ । आगलागीले उनको १० वटा खसी सहित १२ वटा वाख्रा जलेर खरानी भएको छ । आगलागी पछि मेनुकाको ५ जनाको परिवार बिचल्नीमा परेका छन् । आगलागीका कारण मेनुकाको पसलमा भएका सम्पुर्ण खाद्य सामाग्रीहरु जलेर खरानी भएको छ । अहिले उनीसंग एक दाना पनि अन्न नरहेको र पकाई खाने भाँडा कुडा समेत नभएको पिडित मेनुकाले वताईन । आगालगीबाट नगद २५ हजार समेत जलेको छ ।
स्थानियले खसी वाख्रा २ लाख, ५० हजार, नयाँ घर वनाउन राखेको काठपात ५ लाख, दोकानको विक्रिको लागि राखिएको खाद्य सामाग्रीहरु १५ लाख, भाँडा वर्तन, फर्निचर, खाद्यन्न आदि २० लाख वरावरको क्षति भएको हुन सक्ने अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी नरेन्द्र कुँवरले पनि आगलागीबाट अनुमानित २० लाख रुपयाँ वरावरको क्षति भएको बताएका छन् । प्रहरी विधुत सर्ट भएर आगालागी भएको हुन सक्ने अनुमान गरे पनि दोकान घरमा आगालगी भैरहँदा अर्को घरमा रहेको एमसिबी अफ नभै वत्ति बलिरहेको पिडित परिवारले वताएका छन् । घट्नाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।
आगो कसरी लाग्यो भन्ने आफूलाई थाहा नभएको मेनुकाले वताएकी छन् । मंगलवार राति २ वजेको समयमा पसल घरमा आगो दनदनी बलिरहेको अवस्थामा मेनुकाको आमाजु भगवती श्रेष्ठले सवै भन्दा पहिले देखेको बताईन । आगो हुर्कि सकेकाले तत्काल कोहि कसैबाट केहि गरेर नियन्त्रणमा लिन नसकेको भगवतीले वताईन । उनले शुरुमा देख्दा घर सग्लो थियो, तर, तत्काल उद्धार गर्न नसक्दा आँखा अगाडी घर सहित सम्पुर्ण सामाग्री, पशु चौपाय खरानी भएको वताए । उनले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको दमकल ढिलो आएको गुनासो गरिन । आगोले सवै खाई सकेपछि सुरक्षाकर्मी र दमकल आएको भन्दै आक्रोस पोखिन ।
मेनुकाको श्रीमान सुन्दर श्रेष्ठको केहि वर्ष पहिले मृत्यु भएको थियो । उनका २ छोरी, १ छोरा र आमाजु भगवतीको साथमा उनी वस्दै आएका थिए । उनकै स्वर्गिय श्रीमान सुन्दर श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी धनकुटाको जिल्ला कार्यालय स्थापना गर्न अहिले आगलागी भएको घरसंगै जोडिएको १ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । जहाँ अहिले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको कार्यालय रहेको छ ।