विराटनगर । प्रतिनिधि र प्रदेशसभातर्फ मोरङका तीन निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । सोमबार रातिसम्म सत्ता गठबन्धन दुई निर्वाचन क्षेत्रमा र एमालेका बागी उम्मेदवारले एक ठाउँमा अग्रता कायम गरेका छन् ।

मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल(जोगी) र क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम गरेका छन् । यो समाचार तयार पार्दासम्म मोरङको क्षेत्र नं. १ र २ मा मतगणना भएको थिएन । मोरङ क्षेत्र नं. ३ मा सामानुपातिकतर्फको गणना भइरहेको छ ।

मोदीले १ हजार १ सय ४८ मत ल्याएर अग्रता कायम राखेका छन् । एमाले नेता विनोद ढकाल ५ सय १७ मतले पछि परेका छन् । ढकालले ६ सय ३१ मत पाएका छन् ।

क्षेत्र नं. ४ मा २ हजार १ सय ४४ मत खसेकोमध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन अधिकृत मणिराज पोखरेलले जानकारी दिए ।

क्षेत्र नं. ४(१) प्रदेशसतर्फ पनि काङ्ग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका जयप्रकाश गच्छदारले ७ सय ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राप्रपाका आशनारयण माझी थारुले २ सय ५५ मत ल्याएका छन् । 

मोरङको क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल जोगीले फराकिलो मतअन्तरका साथ अग्रगता कायम गरेका छन् । २ हजार ९ सय ३६ मत गणना हुँदा जोगीले १ हजार ५ सय ७२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका माओवादी केन्द्रका शिवकुमार मण्डल ९ सय ९६ मतले पछि परेका छन् । मण्डलले ५ सय ७६ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका राजकुमार यादवले २ सय ८९ मत ल्याएका छन् ।

प्रदेशतर्फ काङ्ग्रेसले अग्रता लिएको छ । मोरङ क्षेत्र नं. ५(१) मा काङ्ग्रेसका गयानन्द मण्डल गनगाईंले १ हजार २ सय १९ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका सन्तोषकुमार साहले ८ सय ४८ मत ल्याएका छन् । राप्रपाकी सोनालकुमारी गुप्ताले २ सय २५ मत ल्याएकी छन् ।

मोरङको क्षेत्र नं. ६ मा काङ्ग्रेसका डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् । १ हजार ६ सय ७४ मत गणना गर्दा कोइरालाले ७ सय २१ मत ल्याएका छन् । यहाँ एमालेका लालबाबु पण्डितले ५ सय ३४ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाका गोपाल कटुवाल क्षेत्रीले १ सय १ मत ल्याएका छन् । १ हजार ६ सय ७४ मत गणना गर्दा ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशतर्फ एमालेले अग्रता लिएको छ । मोरङ क्षेत्र नं. ६(१) मा एमालेकी रीता न्यौपाने ६ सय ६२ मत ल्याएर अगाडि रहेकी छन् । यहाँ माओवादी केन्द्रका जीवन आचार्यले ५ सय ५७ मत ल्याएर पछ्याइरहेका छन् ।