विराटनगर – स्वास्थ्य क्षेत्रको हबको रूपमा विकास हुँदै गएको प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा दर्ता बेगारको औषधी पसल ९ फार्मेसी० हरू छ्यापछ्याप्ती रहेको पाइएको छ ।
औषधी व्यवस्था विभाग विराटनगरले बुधबार विराटनगरको नोबेल मेडिकल कलेज अगाडी गरेको अनुगमनको क्रममा आधा दर्जन फार्मेसी दर्ता बेगारको भेटिएको हो ।
औषधी व्यवस्था विभागमा दर्ता गरेपछि मात्र औषधी जस्तो संवेदनशील बस्तु बिक्री वितरण गरिनुपर्ने हो । तर, स्वास्थ्य क्षेत्रका माफियाहरूले बिरामीमाथि खेलबाड गर्दै मनलाग्दी रूपमा प्रक्रिया पुरा नगरी औषधी बिक्री वितरण गर्ने गरेका हुन् ।
यसरी बिना दर्ता औषधी बिक्री वितरण गरेको पाइएपछि विभागले विराटनगरका आधा दर्जन फार्मेसी सिलबन्दी गरेको छ । विराटनगर ४ नबोल अगाडी विसाल साह, जाहवेद अन्सारी र अविशेषले सञ्चालन गरेको फार्मेसी दर्ता बेगार सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको औषधी व्यवस्था विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।
नोबेल अगाडी रहेका अन्य आधा दर्जन फार्मेसी अनुगमन टोलीलाई देखेपछि दर्ता बेगार सञ्चालन भएका फार्मेसी सञ्चालकहरू फरार भएका थिए । ‘दर्ता बेगार सञ्चालन भएको तीन वटा फार्मेसी सिलबन्दी गरेपछि यहाँका दर्ता बेगारका अन्य फार्मेसीहरू फरार भएका थिए,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘दर्ता बेगार सञ्चालनमा आएका फार्मेसीलाई औषधी ऐन अनुसार कारबाहीको प्रक्रियामा अगाडी बढाउनेछौँ ।’
यस्तै अनुगमनको क्रममा जनता सेवा, नमितम ड्रग डिस्टुबेटर र हरीहोम फार्मेसीमा व्यवसायी अनुपस्थित रहेको पाइएपछि यी फार्मेसीहरू पनि बन्द गरिएको फार्मेसी निरीक्षक खड्काले जानकारी दिए ।
यसअघि अनुगमनको क्रममा प्रदेश १ को तराइ र पहाडी जिल्लाको ग्रामिण र दूर दराज क्षेत्रमा दर्ता बेगार औषधी पसलहरू सञ्चालन हुने गरेको थियो । तर, पछिल्लो समय सहरी क्षेत्रमा खुलेको फार्मेसीहरू पनि दर्ता बेगार सञ्चालन गर्ने गरेको पाइएको हो ।
नियमकारी निकायको चासो कम पार्ने भन्दै कमाउ धन्दामा लागेका व्यक्तिले औषधी व्यवस्था विभागमा दर्ता बेगार फार्मेसीहरू सञ्चालन गरेको पाइएको हो । विशेष गरी तराइको सुनसरी, मोरङ, झापा, उदयपुर, सिराहा, सप्तरीको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्र नजिक खोलेको फार्मेसीहरू दर्ता बेगार सञ्चालनमा आउने गरेका छन् । तराई बाहेक पनि पहाडी जिल्लाहरूमा दर्ता बेगार औषधी पसल सञ्चालन हुने गरेको पाइएको हो ।
औषधी व्यवस्था विभागले यसअघि १७ वटा फार्मेसी अनुगमनको क्रममा सुनसरीमा मात्र चार वटा विभागमा दर्ता बेगार खुलेआम सञ्चालन गरेको भेटिएको छ । सुनसरीको ग्रामीण क्षेत्रको दूर दराज बस्तीमा पुगेर अनुगमन गर्दा ४ वटा फार्मेसी दर्ता बेगार सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।
यसरी दर्ता बेगार सञ्चालन भएका फार्मेसीहरू सुनसरीको बराहक्षेत्र नगरपालिका भित्रका रहेका छन् । बरहाक्षेत्र नगरपालिका ४ का शर्मिला राईले सञ्चालन गरेको नाम बेगरको फार्मेसी औषधि व्यवस्था विभागले अनुगमन गरी सिलबन्दी गरेको छ । यस्तै उत्तिमलाल साहले सञ्चालन गरेको मनकामना स्वास्थ्य क्लिनिक पनि दर्ता बेगार सञ्चालन गरेको भेटिएपछि सिलबन्दी गरिएको थियो ।
दर्ता बेगार सञ्चालन भएको फार्मेसी सिलबन्दी गरी एक हप्ता भित्रमा विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ । ‘दर्ता बेगारको फार्मेसीलाई कानुनी दायरामा ल्याएर प्रक्रियामा ल्याउन हामीले अभियान चलाएका छौँ,’ उनले भने, ‘अहिले अनुगमन गर्दै दर्ता बेगार सञ्चालन भएका फार्मेसीलाई दर्ता प्रक्रियामा ल्याउन लागि परेका छौँ । त्यही भएर अहिले अनुगमनलाई पनि तीव्रता दिएका हो ।