विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक युवाको ज्यान गएको छ ।
दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको आइतबार राति हत्या भएको हो । बूढीगङ्गा–६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन आइतबार राति उनको घर गएका थिए ।
जन्मदिनको पार्टीका क्रममा दुई युवा समूहबीच विवाद भएको हो । बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६–७ जनाको समूहसँग दाहालको विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि जन्मदिन मनाएको घरमा झगडा नगर भन्दै त्यहाँबाट भगाएका थिए । नानुको घरदेखि हिँडेका रिजनलाई बूढीगङ्गा–६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित ७ जनाको समूहले खुकुरी प्रहार गरेको स्थानीयको भनाइ छ ।
टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । झगडा छुट्याउन गएका रिजनका साथी नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन् ।
लिम्बूको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका आएका थिए । दुवैजना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेका थिए ।
घटनाको कारण
शनिबार राति रिजन र बूढीगङ्गा–६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङबीच झगडा भएको थियो । झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड गालामा हानेका थिए ।
त्यही झापड हानेको रिस फेर्न धनबहादुर जन्मदिनको पार्टीमा गई विवाद झिकेका थिए । ‘यही हो मौका भन्दै धनबहादुरले गाउँका ६–७ जना युवाको समूह लिएर बर्थ–डे भएको घरमा गएको देखिन्छ । त्यहीँ आक्रमणको प्रयास गरेपछि स्थानीयले छुट्याएका थिए ।
नानुको घरदेखि रिजन स्थानीय नवीन लिम्बूको घरतिर हिँडेको देखिन्छ । तर, बाटैमा उनीमाथि आक्रमण भयो’–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । उनका अनुसार अघिल्लो दिन रिजन र धनबहादुरबीच झगडा भएपछि नवीनको घरमा पुगेर रिजनले माफी पनि मागेका रहेछन् । माफी मागेपछि मिलेर आ–आफ्नो गन्तव्यतिर लागेका थिए ।
तर, झापड हानेको इख धनबहादुरले लिइरहेका रहेछन् । त्यही झापड हानेको रिस फेर्न धनबहादुरले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । सोही आक्रमणमा परी रिजनको ज्यान गएको छ । घटनामा संलग्नहरू फरार रहेकोले खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।