विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ५ मा एक बालकको रहमस्य मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्त र गाउँलेहरूले न्याय माग्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले १४ वर्षीय निश्चल रायकोे अपहरणपछि यातना दिएर हत्या भएको भन्दै घटनाको अनुसन्धान गरि दोषिलाई कारवाही र पीडितलाई न्यायको अनुभुति दिलाउनु पर्ने माग राख्दै आइतबार निमुवा प्रहरी चौकी अगाडी प्रर्दशन गरेका हुन् ।

सोमबार अर्थात कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैचादेखि हराएको निश्चलकोे शव हराएको तीन दिनपछि बुधबार विहान घरदेखि एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोलामा मृत भेटिएका थिए ।

रहस्यमय तरिकाले मृत्यु भएको निश्चलको एक साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको भन्दै उनीहरुले मृतकको घरदेखि करिब तीन सय मिटर पश्चिम निमुवा प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् ।

उनीहरूले सत्य तथ्य छानविन गर, दोषिलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, मृतक परिवारलाई क्षतिपूर्तीको व्यवस्था गरलगायतको नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका थिए ।

शवको प्रकृति हेर्दा निश्चलकोे शरिर भरी चोटपटक लागेकोले अपहरणपछि यातना दिएर हत्या गरेको हुन सक्ने भन्दै मृतकका परिवारले घटनाको गहन अनुसन्धान गरि दोषिलाई सार्वजनिक गरि कारवाहीको दायरमा ल्याउनु पर्ने माग राखेका छन् ।

मृतकका बावु उपेन्द्र रायका अनुसार छारोको तिग्रामा डोरीले बाधेको डाम, घाँटीमा जुत्ताले कुटेको डाम, ओठ र गालामा पनि चोटपटक र नाइटोमा इन्जेक्सन लगाएकोले छोराको भवितब्य दुर्घटना नभए सुनयोजित तरिकाले हत्या भएको दाबी गरेका छन् ।

यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनालाई गम्भिरता पुर्वक लिएर शुष्म तरिकाले अनुसन्धान सुरु गरेको बताए । ‘यस घटनलाई प्रहरीले गम्भिरता पुर्वक लिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’

मृतकको पोस्टमार्टम रिपोर्ट आइ नसकेकोले प्रहरीले निश्चलको हत्या हो कि मृत्यु हो यस विषयमा केही बोलेको छैन । कोशी अस्पतालमा गरेको पोस्मार्टम रिपोर्ट  आउन एक साता लाग्नेछ । मृतक रायको पोस्टमार्टम बिहीबार भएको थियो ।