विराटनगर । कमिसन भन्दै पाँच हजार रुपैयाँ नदिँदा विराटनगर एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । 

विराटनगर ८ अशोक चौकका ५२ वर्षीय अफाक आलमलाई बुधबार बिहान ७ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको हो । 

कार्यलय जाने क्रममा  बाटो छेकेर  आलममाथि विराटनगर ८ का  २० वर्षीय मो. साराजुन, २० वर्षीय मो. अन्सारुल, ४५ वर्षीय मो. बाजील, २२ वर्षीय मो. सोनु, का ३० वर्षीय मो. कादिर,  र दुई जना नाम नखुलेको व्यक्तिले आक्रमण गरेको आरोप छ । आक्रमण गर्ने मध्ये पनि मुख्य व्यक्ति साराजुन रहेको घाइते आलमले बताएका छन् । 

बुधबार बिहान सबेरै खाना खाएपछि सधैँ झैँ उनी कार्यालय हिँडेका थिए । उनी इटहरीस्थित बुलेट मोटरसाइकलको स्वरुम ‘रोयल इन फिल्ट’ मा काम गर्दै आएका छन् । 

उनी स्वरुमको इन्चार्ज हुन् । तर, बुधबार बिहान खाना खाएपछि ८ बजे घरबाट स्कुटरमा कार्यालय हिँडेको २० मिनेट बित्न नपाउँदै उनी आक्रमणमा परे । ७ जना युवाको समूहले घरदेखि करिब २ किलोमिटर उत्तरमा रहेको हरिहर चौकमा आलममाथि खुकुरी प्रहार रहेका हुन् ।

घाइते भएका आलमको खुट्टा, हातलगायत शरिरको विभिन्न भागमा चोटपटक लागेको छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भएको छ । आलमकी श्रीमती हसिदा खातुनले आरोपी पाँच जना विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएकी छिन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जाहेरी परिसकेकाले घटनामा संलग्नको खोजी कार्य जारी राखेको बताए ।

‘जाहेरी परेपछि पीडितको घाउ जाँच पनि भएको छ । घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएका छौँ,’ उनले भने, ‘घटनामा संलग्न फरार छन् । हामीले उनीहरूलाई खोजी गर्दै आएका छौँ । अहिलेसम्म घटनामा संलग्नलाई भेटिएको छैन । ’

Khukari hana sarajun

यस कारण भयो आक्रमण 

घाइते आलमका अनुसार आक्रमण गर्ने मध्ये मो. साराजुनले मागेको पाँच हजार रुपैयाँ नदिँदा केटाहरू ल्याएर आफूमाथि खुकुरी प्रहार गरेको बताएका छन् । ‘साराजुनले केही समय अगाडी मोटरसाइकल स्वरुम (कार्यालय) मा एउटा मोटरसाइकल सर्भिस गर्न पढाएका थिए ।

त्यस बेला मोटरसाइकल मर्मत खर्चको बिल ११ हजार रुपैयाँ जति भएको थियो । उक्त मोटरसाइकल बनाउन पठाए बापतको कमिसन भन्दै आक्रमण गर्ने साराजुनले मलाई पाँच हजार रुपैयाँ माग्दै आएका थिए,’ घाइते आलमले भने, ‘कमिसन बापतको रकम नदिँदा आफूमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।’

मंगलबार पनि मो. साराजुन पैसा माग्दै आलमको घरमा पुगेका थिए । पैसा नदिँदा आलमकी श्रीमती  खातुनसँग झगडा गरेर फर्किएको उनीहरूको भनाई छ । 

यता आक्रमण गरेको आरोप खेपेको मो. कादिरले घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । ‘ घटनामा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भने, ‘उहाँको पारिवारिक विवाद भन्ने मैले पनि सुनेको चाही हो । किन कसरी यस घटनामा मलाई पनि मुछेको छन् भन्ने कुरा मैले पनि सुनेको छु ।’