विराटनगर । मोरङ कारागारभित्र चौकीदार किरण गुरुङको मनोमानी, अत्याचार र कैदीबन्दीलाई चरम यातना दिएको कारणले दोहोरो झडप भएको पाइएको छ । 

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइ नाइकेले अनावश्यक र निर्मम यातना दिएको कैदीबन्दीको दुखेसो छ । असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि मंगलबार १० बजेपछि दोहोरो झडप भएको हो । 

दोहोरो झडपमा चौकीदार गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते हुनेहरूमा नाइके गुरुङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता छन् । उनीहरूको टाउको, हात र नाकमा सामान्य चोटपटक लागेपछि कोशी अस्पतालमा उपचार भएको थियो । 

झडपका कारण कैदीबन्दीले भरिभराउ रहेको कारागार अशान्त बनेको छ । आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको जेलर पोखरेलले जानकारी दिए । झडपमा कारागारभित्र मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग भएको पाइएको छ । 

gaitha-ko-upachari-hudai

‘चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरू कैदीबन्दी रुष्ट बनेका थिए,’ स्रोतले भन्यो, ‘त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो ।’ चौकीदार गुरुङले कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरूलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप लागेको थियो । 

स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरुद्ध अर्को समूह जाइलागेको हो । चौकीदारको समूहविरुद्ध अरू कैदीबन्दी आन्दोलितसमेत भएका छन् ।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइ नाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरू कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ । 

karagara-ma-afanta-ko-bhid

आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेर समेत राखिदिएका छन् । कैदीबन्दीले चौकीदार गुरुङ, नाइके र भाइ नाइकेसहित पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईसमेतका कैदीबन्दीलाई एउटा कोठामा थुनेका हुन् ।

एउटा कोठामा थुनेर राखिएका कैदीबन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर राखेको थियो । उनीहरूलाई बाहिर निकालिएपछि कारागारभित्रको तनाव मत्थर भएको थियो । कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि नाइके गुरुङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागारमा स्थानान्तरण गरिएको जेलर पोखरेलले जानकारी दिए । 

झुम्का कारागार स्थानान्तरण हुनेहरूमा शेखर राई, सुर्यदिप गुप्ता, निर्मल ढकाल र पदम कुमार लिम्बु रहेका छन् । यस्तै झापा कारागारमा स्थानान्तरण हुनेहरूमा एलएक्स नेपाली, राम बहादुर लिम्बु, रोशन दाहाल, डिल्ली देवान, कपिल कुमार साह, बिशाल तामाङ्ग, रमेश मण्डल, मुस्कान भन्ने बबिहाङ राई र राजु राई छन् । गुरुङको स्थानान्तरण भएपछि मोरङ कारागारको चौकीदारको जिम्मेवारी तत्कालको लागि कार्तिक कामतलाई दिएको छ । कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन् । 

झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीसहितको टोली थियो । 

karagara-polish

काठमाडौँस्थित डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा नियमित जसो तनाव भइरहेको छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका आपराधिक पृष्ठभूमिका गुन्डा नाइके हुन् । 

आपराधिक धन्दा चलाइरहेका उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेसँगै मोरङ कारागारको चौकीदार बनाएर ल्याउन खोजिएको थियो । डिल्ली बजार लैजानुअघि गिरी मोरङ कारागारमै चौकीदार थिए । कारागारभित्र भिन्नै साम्राज्य खडा गर्दै विभिन्न आपराधिक गतिविधि गरिरहेको खुलेपछि उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो । गिरी र उनको समूहले कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरूलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरिरहेको थियो । 

गिरीलाई डिल्ली बजार पठाएपछि मोरङमा चौकीदारको जिम्मेवारी नवीन राईलाई दिइएको थियो । पुनः गिरीलाई मोरङ ल्याउने भएपछि जिम्मेवारीमुक्त गर्दै राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरियो । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राईले समेत कारागारभित्र बसेर आपराधिक गतिविधि गरिरहेको र अकूत सम्पत्ति आर्जन गरेको खुले पनि उनीमाथि कुनै छानबिन एवं कारबाही हुन सकिरहेको छैन । 

gaitha-ko-upachar-hudai

चौकीदारका लागि मोरङ कारागार आम्दानीको राम्रो स्रोत मानिन्छ । त्यही भएर कारागारको चौकीदार बन्न मरिहत्ते गर्ने गर्दछन् । कारागार भित्रको टेलिफोन, पसल र खानाबाट मात्रै चौकीदारले दैनिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको बताइन्छ । गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा गत भदौ १७ गते डिल्ली बजारबाट मोरङ सरुवा गरिएका गिरीलाई गत कात्तिक १६ गते मोरङ ल्याइएको थियो । तर, कैदीबन्दीका आफन्त र कारागारभित्र रहेका कैदीबन्दीसमेत आन्दोलित बनेपछि उनलाई सप्तरी कारागार लगिएको छ । आफू मोरङ बस्न नपाएपछि उनकै उक्साहटमा विवाद झिकेर गिरीनिकटका अरू कैदीबन्दी आक्रमणमा उत्रँदा दोहोरो झडप भएको अनुमान गरिएको छ । 

कारागार भित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बराबर एक जना भाइ नाकाइे हुन्छ । २० देखि २५ जना कैदीबन्दी बराबर एक नाइके बन्ने प्रावधान रहेको छ । कारागार भित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८ सय ९७ जना पुरुष कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।

जेलमा चौकीदार बन्न किन मरिहत्ते ?

कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन् । चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’ र भाइ नाइकेहरू हुन्छन् । कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ । 

उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन् । त्यसबाहेक पनि चौकीदार दिनभरि बाहिर घुम्न र स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउँछन् । झाससम्म कारागार प्रवेश गरिसक्नुपर्ने दिनभरि जहाँ पनि हिँड्न मिल्ने र दिनभरिमा अरू पनि धन्दा चलाउन पाइने भएकोले पनि कारागारको चौकीदार बन्न मरिहत्ते गर्दछन् । 

चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दीबीच सहमति वा चुनावै पनि हुने गर्छ । त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा कुरा पुर्याइन्छ । प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्छ ।