धनकुटा । धरान धनकुटा सडकखण्ड अन्तर्गत धनकुटा नगरपालिका–६ फोक्ल्याण्ड टापुमा मंगलवार अपरान्ह भएको सडक दुर्घटनामा  परी एकजनाको ज्यान गएको छ । 

संखुवासभाको चैनपुर नगरपालिका–२ चित्लाङबाट मोरङको बेलबारीतर्फ आउँदै गरेका ४० वर्षीय हरि भट्टराईको दुर्घटनामा परी निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईका दाजु वर्ष ४२ का तुलसी भट्टराई भने गम्भीर घाइते बनेका छन् । उनले चलाएको प्र. १–०२–०४१ प् ९४०९ नम्वरको मोटर साईकललाई को.१ ख.७२४० नम्वरको यात्रुवाहक वसले ठक्कर दिएको थियो ।

मृतकको टाउको फुटेको र अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको थियो । सोही क्रममा उनको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका इनेस्पेक्टर काशीनाथ रेग्मीले जानकारी दिए ।

दुर्घटनामा परेको यात्रुवाहक वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बेलवारी नगरपालिका–८ घर भएका दुई भट्टराई दाजुभाई चैनपुर चित्लाङमा भाइटिकाको दिन वढीआमा स्वर्गारोहण भएको ठाउँमा पुगेर फर्कदै थिए ।