भद्रपुर । झापामा ज्यान सम्बन्धी तीन महिनामा ५७ वटा घटना घटेका छन् । जसमध्ये कर्तव्य ज्यान ५, ज्यान मार्ने उद्योग ४, भवितव्य ज्यान २८, वेवारिसे  ज्यान २, आत्महत्या गर्न दुरुत्साहन गरेको २, मृत अवस्थामा फेला परेको १५ र गर्भ संरक्षणविरुद्धको कसुरमा दुई वटा गरी ५७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 चालु आर्थिक वर्षको साउन देखी असोज मसान्त सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ९ वटा मुद्दा फछ्र्यौट भए पनि अझै ४८ वटा ज्यान सम्वन्धी मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।  ज्यान सम्वन्धी मुद्दामा प्रहरीले १० पुरुष सहित १२ जनालाई पक्राउ गरे पनि एक पुरुषसहित ४ महिला अझै फरार रहेको डिएसपी थापाले बताए ।

त्यसैगरी पछिल्लो तीन महिनामा जिल्लामा भएका अपराधका ३ सय २१ वटा घटनामध्ये आर्थिकपछि सामाजिक अपराधका घटना धेरै घटेका छन् । प्रहरीका अनुसार सामाजिक अपराध अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नौतिकताविरुद्धको कसुरमा मात्रै ५० वटा उजुरी प्रहरी समक्ष दर्ता भएका छन् । त्यस्तै कुटपिट र अङ्गभङ्ग कसुरमा दुई वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

 त्यस्तै चालू आर्थिक वर्षको तीन महिनामा आर्थिक अपराधका ५९ वटा घटना घटेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । जसअन्र्तगत लागूऔषधका धेरै घटना प्रहरी समक्ष दर्ता भएका छन् । आर्थिक अपराधभित्र पर्ने लागूऔषध अन्तर्गतका ४९ वटा उजुरी प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

यस अवधिमा लागूऔषध सम्बन्धि अपराधमा संलग्न ६९ जना पुरुष र ७ महिला पक्राउ परेका छन् भने एक ÷एक महिला तथा पुरुष अझैं फरार रहेको प्रहरीको भनाइ छ । आर्थिक अपराध अन्तर्गत प्रहरीले जुवा तास खेल्ने वा सट्टेबाजी गर्न नहुने तीन वटा मुद्दामा संलग्न ३४ जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै ठगी, आपराधिक, विश्वासघात सम्वन्धी कसुरका ६ वटा उजुरी प्रहरी समक्ष दर्ता भएको र त्यसमा ५ पुरुष तथा तीन महिला पक्राउ परेका छन् । आपराधिक विश्वासघात सम्वन्धि एउटा मुद्दा अझैं फछ्र्यौैट हुन बाँकी रहेको बताइएको छ । आपराधिक विश्वासघात सम्वन्धी अपराधमा सम्लग्न तीन पुरुष र चार महिला अझै फरार छन् ।

आर्थिक अपराध अन्तर्गत अपहरण वा शरीर बन्धक सम्वन्धी कसुरमा एउटा उजुरी दर्ता भएको छ । तर, सो कसुर फछ्र्यौट हुन बाँकी रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घटनामा संलग्न चार जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आर्थिक अपराध अन्तरगत ५९ वटा घटनामध्ये ५४ वटा घटना फछ्र्यौट भएका छन् भने ५ वटा अझै फछ्र्यौट हुन बाँकी रहेका छन् । आर्थिक अपराधका घटनामा संलग्न एक सय १० जना पुरुष पक्राउ परेका छन् । सात जना महिला समेत आर्थिक अपराध मुद्दामा पक्राउ परेको प्रहरीले जनाएको छ । आर्थिक अपराध सम्वन्धी मुद्दाका घटनामा संलग्न ४ जना पुरुष र ५ जना महिला अझै फरार रहेको जनाइएको छ ।

प्रहरीका अनुसार सामाजिक अपराध अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नौतिकताविरुद्धको कसुरमा परेका उजुरीमध्ये ६४ जना पुरुष र एक महिला घटनामा संलग्न भएको आरोप छ । सामाजिक अपराधका ५२ वटा घटना मध्ये ४८ वटा मुद्दा फछ्र्यौट भएका छन् ।

त्यस्तै महिला तथा बालबालिकाबिरुद्धको कसुरमा ४३ वटा मुद्दा दर्ता छन् । जसमध्ये सबैभन्दा धेरै २३ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । तीन महिनाको अवधिमा मात्रै बाल यौनदुराचारका ६, जवरजस्ती करणी उद्योगका ४, अप्राकृतिक मैथुन १, बोक्सीको आरोप १ र वहुविवाह सम्वन्धी ८ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै झुण्डिएर र विष सेवन गरेर मात्रै ४५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुनाउनेमध्ये ३९ जनाले झुण्डिएर र ६ जनाले विष सेवन गर्दै आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी साउन, भदौ र असोज महिनामा १८ वटा चोरीका घटना घटेका छन् । जसमध्ये डाका चोरी एउटा र अन्य १७ वटा चोरीका घटना घटेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नमध्ये २५ जना पुरुष र दुई महिलालाई समेत पक्राउ गरेको छ ।

पछिल्लो तीन महिनामा सवारी ज्यानमा २४ वटा मुद्दा दर्ता छन् । जसमध्ये २१ वटा मुद्दा फछ्र्यौट भएका छन् । मानव बेचबिखन तथा तथा जवरजस्ती करणीको एउटा, बैंकिङ कसुरका २१ वटा मुद्दा विविध शीर्षकमा र पशु सम्वन्धी एउटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरी समक्ष दर्ता भएका मुद्दामध्ये एक सय ८६ वटा मुद्दा फछ्र्यौट भएका छन् भने एक सय ३५ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छन् । विभिन्न मुद्दामा २ सय ७० जना पुरुष र १८ महिला पक्राउ परेका छन् । अझै ६० पुरुष र २० महिला फरार रहेको प्रहरीले जनाएको छ ।