विराटनगर  । विराटनगर कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदी बन्दीहरू बिच दोहोरा झडप भएको हो । झडपमा परि चौकीदार गुरुङसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा नाइके किरण गुरुङ, शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सुर्यदिप गुप्ता रहेका छन् । घाइते हुने कैदी बन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पढाएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।

चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै यहाँका कैदी बन्दीहरू आन्दोलित भएका थिए । चौकीदार गुरुङको शोषण र यातना सहन नसकेपछि गुरुङसहित उनका समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई यहाँका कैदी बन्दीहरूले एउटा कोठामा थुनिदिए ।

त्यसपछि कैदी बन्दीहरूबिच दोहोरो झडप भएको कारागार स्रोतले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङले कैदी बन्दीहरूलाई यातना दिने गरेको आरोप छ ।

यातना र अत्याचार  सहन नसकेपछि अन्य कैदी बन्दीहरूले चौकीदार गुरुङसहित नाइके र भाइ नाइकेहरू पदम कुमार लिम्बु, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सुर्यदिप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनिदिएका थिए । थुनिएका कैदी बन्दीहरूलाई अहिले बाहिर निकालेपछि कारागार भित्रको माहौल शान्त भएको जेलर पोखरेलले बताए ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखिएको छ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहौल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने वातावरण नहुने भएपछि उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने भन्ने निर्णय भने भई नसकेको उनले बताए ।

यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरुवा गरिएपछि कैदी बन्दी दिनभरि आन्दोलनमा उत्रिएका थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूले दिनभरि आन्दोलनमा उत्रिए । त्यस बेला चौकीदार गुरुङको नेतृत्वमा यहाँका कैदी बन्दी आन्दोलित बनेका थिए ।

दिनभरि कैदी बन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागार पठाएको छ ।