घटना १ः गत  जेठ ४ गते राति मोरङको रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको हत्या भयो । अनिता आफ्नै १९ वर्षीय देवर विनोद यादवबाट मारिएकी थिइन् । सामान्य घरझगडामा विनोदले आफ्नै भाउजूको विभत्स तरिकाले हत्या गरेका थिए । उनले धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर भाउजूको हत्या गरेका थिए । विनोदले घरदेखि करिब डेढ किलोमिटर दक्षिण नहरमा भाउजूको हत्या गरेका थिए । भाउजूको हत्या आरोपमा पक्राउ परेका यादव अहिले पुपक्र्षको लागि मोरङ कारागारमा छन् ।

घटना २ः गत  असार १९ गते श्रीमतीको ‘किच्किच’ सहन नसकेपछि मोरङको बेलबारी नगरपालिका–७ का दैलपुरका ५४ वर्षीय अम्विका घिमिरेले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बेलबारी नगरपालिका–७ दैलतपुरकी ४८ वर्षीया सीता घिमिरेको हत्या आरोपमा पति अम्विका पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो । अम्विकाले श्रीमतीको किच्किच सहन नसकेपछि मदिराको नशामा लठ्ठिएको बेला हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । हत्या आरोपी घिमिरे पनि पुर्पक्षको लागि मोरङ कारागारमा छन् ।

घटना ३: गत मङ्सिर ८ गते झापाको कमल गाउँपालिका–६ का ४७ वर्षीय चूडामणि भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे । चूडामणिका ३९ वर्षीय श्रीमती टीकादेवी पौडेल र दमक नगरपालिका–२ का २५ वर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासि आवेशमा आई दुवैमाथि खुकुरी प्रहार गर्दा टीकादेवीको घटनास्थलमै मृत्यु भयो ।

घटना ४ः विराटनगर–१० मधुमारामा आफ्नै श्रीमतीको योजनामा औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको जेठ ३ गते राति हत्या भयो । प्रहरी अनुसन्धानपछि ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलालले आफ्ना प्रेमी सिरहा लहानका २१ वर्षीय ब्रह्मदेव र इटहरीका २० वर्षीय सोनु साहको साथ लिँदै दुलालको हत्या गरेको खुल्यो । ब्रह्मदेवसँगको प्रेमसम्बन्ध श्रीमान्ले थाहा पाएपछि मीनाकै योजनामा दुलालको हत्या भएको प्रहरी अनुसन्धानले देखायो । हत्यामा संलग्न तीनै जनालाई घटना भएको २४ घण्टा बित्न नपाउँदै प्रहरीले पक्राउ गर्यो ।

घटना ५ः तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरे । कञ्चनले वैशाख २५ गते ४२ वर्षीया आमा रूपेनी लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ । बाबु खेतमा काम गर्न गएका बेला आमालाई बञ्चरोले हानेर हत्या गरेका थिए । आमाको हत्या गर्ने कञ्चनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

विराटनगर / पछिल्लो समयमा भएका जघन्य अपराधका यस्ता घटनामा धेरैतिर परिवारकै सदस्यबाट हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । आफ्नो निहीत स्वार्थपूर्तिका लागि जीवनभरि साथ दिने परिवारभित्रकै सदस्य काल बनेर आउने गरेको घटना सार्वजनिक हँुदै आएको छ । सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर प्रदेश १ मा बढेको छ ।

भनाभनबाट सुरु हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको सङ्ख्या पनि लगातार प्रदेशमा बढिरहेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्याङ्क केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । प्रदेशमा पछिल्लो समयमा देखापरेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ ।

१४ जिल्ला रहेको प्रदेश १ मा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएकामध्ये आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४३ वटा कर्तव्य ज्यानमुद्दाको घटनामा परिवारिक हत्याका मात्रै ५५ वटा घटना भएका छन् । एक वर्षमा ५५ वटा हत्याको घटनामा ५६ जना मारिएका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । आर्थिक वर्षमा भएका घटनामा ज्यान गुमाउने अधिकांश गृहिणी महिला छन् ।

पारिवारिक विवादमा ४६ महिला मारिएको प्रवक्ता एसपी राईले बताए । ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’–प्रवक्ता राईले भने । सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच–पाँच, इलाम र उदयपुरमा चार–चार, खोटाङमा तीन, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा, पाँचथर र सङ्खुवासभामा दुई–दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको बताए । उनले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैतृक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्याले सबैलाई चिन्तित तुल्याएको बताए ।

‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्नेलगायतका कारण सुसुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ’ डीआईजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्तिइरहेको थुप्रै उदाहरण छन् ।’ उनका अनुसार परिवारभित्रको हत्यालगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी गराए ।

‘पछिल्लो समय बढ्दै गएको आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ’ डीआईजी बिसीले भने, ‘कोभिड–१९ सहज भएपछि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।’ स्टक होल्डर र सामुदायिक प्रहरी साझेदारीमार्फत् कार्यक्रम सञ्चालन गर्ने डीआईजी बिसीले जानकारी गराए ।

सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईं पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक  र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हाबी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ सामाजिक असमानतको कारणले पनि यस्तो घटना हुने गरेको छ । उनका अनुसार कुनै पनि व्यक्तिलाई चाहिनेभन्दा बढी रिस उठ्नु यस्तो समस्याको प्रारम्भिक लक्षण हो । त्यस्तो बेलामा परिवारले उसलाई बुझ्ने वा उसको समस्या समाधान गरिदिने तत्परता देखाउनुपर्छ, सहयोग गर्नुपर्छ । अन्यथा त्यसले डरलाग्दो रूप लिनसक्ने उनले बताए ।

महिलामाथिको हिंसा बढ्यो
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा महिलामाथि घरेलु हिंसाको घटना बढेको देखिएको छ ।

लकडाउनको चैतदेखि भदौसम्म प्रदेश १ मा २ सय १६ वटा महिलामाथिको हिंसाको घटना भएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसाको घटना बढेको बुझिएको छ ।

सङ्क्रमण जोखिमका कारण घरबाहिर निस्किन नहुने स्वास्थ्य सुरक्षाको मापदण्ड छ, तर महिलाहरू घरभित्रै परिवारबाट असुरक्षित भइरहेका छन् । स्वास्थ्य जोगाउन घरमा बस्दा ज्यानकै जोखिम रहेको कतिपय पीडितको भनाइ छ । १४ जिल्ला रहेको प्रदेश १ मा तीन वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा दैनिक सरदर २ जनाभन्दा बढी महिला घरेलु हिंसाको सिकारमा पर्ने गरेको अभिलेखमा देखिन्छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखअनुसार तीन वर्षमा २ हजार ४ सय २८ वटा हिंसाको घटना भएको पाइएको छ । लैङ्गिक हिंसामा सबैभन्दा बढी जबरजस्ती करणीको घटना बढिरहेको छ । तीन वर्षमा प्रदेशभित्र १ हजार ३ सय १६ वटा जबरजस्ती करणीको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस्तै ४ सय ६४ जबरजस्ती करणी उद्योग, मानव बेचबिखन १ सय १२, बहुविवाह ४ सय १८, बालविवाह २२ र बोक्सी आरोपका घटना १८ वटा भएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ७ सय ६१ वटा लैङ्गिक हिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले  जानकारी दिए । आ.व. ०७४/७५ मा भन्दा ०७५/७६ मा ७२ वटा लैङ्गिक हिंसाको घटना बढेको छ । आ.व. ०७५/७६ मा ८ सय ३३ वटा हिंसाको घटना घटेको प्रहरीको अभिलेखमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६/७७ मा हिंसाका घटना न्यून सङ्ख्यामा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा ८ सय ३४ वटा हिंसाको घटना भएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा  ९ सय ७७  महिला हिंसाको घटना भएको प्रदेश प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको साउनसम्ममा १ सय ९५ वटा महिला हिंंसाको मुद्दा दर्ता प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

मेलमिलापमा टुङ्गिन्छ घरेलु हिंसा
लैङ्गिक हिंसामा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अवैध गर्भपतन, बोक्सीको आरोप, मानव बेचविखन, बहुविवाह, बालविवाह, घरेलु हिंसा, भेदभावजन्य व्यवहार (छाउपडी, जातीय छुवाछुत आदि), महिलाको प्रजनन् अङ्गको छेदन र पारिवारिक प्रतिष्ठाका लागि गरिने हत्या (पारिवारिक हत्या) लाई सामावेश गरिएको छ ।

विपन्न होस् या सम्पन्न, जुनसुकै जातजाति होस्, महिलाहरू घरेलु हिंसाको पीडामा परिरहेका छन् । मानसिक तनाव, कुटपिट, यातना र दुव्र्यवहारको कुरा एक त पीडित महिलाले बाहिर ल्याउँदैनन्, प्रहरी–प्रशासनमा गइहाले पनि मिलेर बस्नू भनेर पठाइन्छ । जसका कारण घरेलु हिंसाको सिलसिला चलिरहन्छ । फलस्वरूप, एउटा बिन्दुमा हिंसा सहनै नसकेर कतिपय महिलाहरूले आत्महत्या गरेको पाइएको छ । कतिको परिवारबाटै हत्या भएको छ ।

करिब पाँच महिनाअगाडि विराटनगर–१६ रानीमा एक महिलालाई विद्युत् प्राधिकरणमा काम गर्ने श्रीमान्ले वर्षौंदेखि यातना दिने गरेको खुलेको थियो । पछि ती महिलाको माइती पक्षले जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएका थिए । हिंसाको घटनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलायो । दुई सातापछि उनी धरौटीमा रिहा भए ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ऐनअनुसार मेलमिलापमै अधिकांश घटना टुङ्ग्याउँदा घरेलु हिंसापीडितहरूले न्याय नै नपाउने गरेको अवस्था रहेको छ । विशेषगरी घरभित्र र पारिवारिक सम्बन्धमा भएका हिंसाविरुद्ध प्रत्यक्ष आकर्षित हुने गरी बनाइएको यो ऐन लागू भएको १२ वर्ष नाघिसक्यो ।

ऐनको परिभाषा अनुसार, घरेलु सम्बन्ध भन्नाले ‘वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारका रूपमा एकै परिवारमा बसेका व्यक्तिहरूबीच भएको सम्बन्ध हो । सो सम्बन्धले सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँछ । यस्तै, घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो ।’

ऐनको परिभाषामा पर्ने श्रीमान्लगायत घरपरिवारका सदस्यहरूबाट विभिन्न बहानामा कुटिने, डामिनेदेखि मारिने र बाध्य भएर आत्महत्या गरेका घटनामा कुनै कमी आउन सकेको छैन । यस प्रकारका मुद्दा हेर्ने र पीडितका पक्षमा काम गर्नेहरू यो ऐन संशोधन गर्नुपर्ने बताउँछन् । घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ अनुसार, घरेलु हिंसाको पीडकलाई अधिकतम् २५ हजार रुपैयाँ जरिबाना र ६ महिनासम्म जेल सजाय वा दुवै हुने व्यवस्था छ ।

सोही घटना दोहोर्याए पटकैपिच्छे दोब्बर सजाय हुने व्यवस्था छ । तर, एक त अदालतमा मुद्दा नै एकदमै थोरै पुग्ने र पुगे पनि अदालतले माथिल्लो हदको सजाय नै नतोक्ने अधिकारकर्मीहरू बताउँछन् । ओरेक नेपालकी वरिष्ठ कार्यक्रम संयोजक लक्ष्मी अर्याल वर्षौंसम्म घरेलु हिंसा भोग्नेहरूका लागि यो ऐनमा भएको दण्डसजायको व्यवस्था न्यून भएको बताउँछिन् । न्यायिक निकायले नै घरेलु हिंसा (कसुर र सजाय) ऐनलाई ‘मिलापत्रको कानून’ भने जसरी बुझेकाले ऐन संशोधन गरेर हिंसा गरेको समयको हिसाबले दण्डसजाय हुनुपर्ने अर्याल सुझाव दिन्छिन् । यस्तै मिलापत्र गराउने निकायले मिलापत्रपछिको अवस्थालाई फलोअप गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

आफन्त अभियुक्त
आफन्तहरू नै आपराधिक घटनामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जबरजस्ती करणीको घटनामा समग्र अपराधको ६९.६५५ मुद्दामा परिवारकै सदस्य, छिमेकी, साथी, आफन्त र अन्य परिचित व्यक्तिहरू अभियुक्त रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । ३०.३५५ अपराधमा मात्र अपरिचित अभियुक्त रहेका छन् । ‘बलात्कारका अधिकांश घटनाका प्रतिवादी आफन्त नै छन्’ उनले भने, ‘लैङ्गिक हिंसा न्यूनीकरण गरी जनसचेतना फैलाउने र अपराधीलाई कानूनी कारबाहीका लागि प्रहरीले तत्काल रेस्पोन्स गर्दै आएको छ ।’

हिंसा न्यूनीकरण गर्न अभियान
लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ सय २६ पटक कार्यक्रम सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । आ.व. २०७५/७६ मा ६ सय ७४, आ.व. २०७६/७७ मा ३ सय २ र चालु आर्थिक वर्ष २०७७/७८ को हालसम्म २४ पटक कार्यक्रम सञ्चालन गरिसकिएको प्रदेश प्रहरीले जनाएको छ ।