धरान । मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो ३ बजेतिर भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका संखुवासभा मादी गाउँपालिका–९ का ३९ वर्षीय राजु गुरुङलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा उनको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाइजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।