विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरुवा गरिएपछि कैदी बन्दी दिनभरि आन्दोलनमा उत्रिएका छन् । 

गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि विरोधमा यहाँका कैदीहरूलेहरूले दिनभरि आन्दोलनमा उत्रिएका थिए । कारागारभित्र कैदीबन्दीहरू छत र जस्तापाता माथि बसेर ‘कैदीबन्दीलाई यातना र असुली धन्दा चलाउने गिरीलाई ल्याउन पाइँदैन’ भन्दै यहाँका कैदीबन्दीहरुले निरन्तर आन्दोलनमा उत्रिए ।

कैदीबन्दी आन्दोलनमा उत्रिएपछि कारागार बाहिर र भित्र ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको थियो । कैदीबन्दीको आन्दोलन साम्य पार्न प्रदेश प्रहरी गण विराटनगरदेखि मोरङ प्रहरीदेखि ठुलो सङ्ख्यामा प्रहरी परिचालन भयो । कारागारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, डिएसपी दिपक श्रेष्ठसहितको टोली थियो । 

ठुलो सङ्ख्या कैदीबन्दीहरूले मंगलबार बिहानदेखि निरन्तर रूपमा आन्दोलनमा उत्रिएपछि गिरीलाई जेलभित्र पस्न नदिने भएपछि उनलाई सप्तरी कारागार पठाएको मोरङ कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘उनी बिहानै कारागार हाताभित्र प्रवेश गरे पनि जेलभित्र छिर्न पाएनन्, कैदीहरूले उनलाई इन्ट्री नदिइयोस् भनेर आन्दोलन निरन्तर गरेका थिए,’ उनले भने ।

कारागारमा आन्दोलन भएपछि गिरीलाई तत्कालका लागि सप्तरी कारागार पठाइएको उनले बताए । गिरीलाई सप्तरी पठाएपछि कैदीबन्दीले आन्दोलन रोकेका छन् ।

कारागार व्यवस्थापन विभागले गिरीलाई गत भदौ १७ गते नै सरुवा गरेको थियो । सरुवा लगत्तै विरोध सुरु भएपछि विभागले उक्त निर्णय कार्यान्वयनमा नआउने बताएको थियो । विभागले राजनीतिक दबाबमा गिरीलाई मोरङ पठाएको बुझिएको छ । गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन् ।

मोरङ कारागारमा रहँदा गिरीले जेल भित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो । गिरीलाई काँग्रेस नेतृत्वमा सरकार बने लगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खानसँग ‘लबिङ’ सुरु गरेको बुझिएको छ । 

पहिले मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए । चौकीदारले जेलभित्र राम्रो आम्दानी गर्छन् । गिरीलाई चौकीदार बनाउने योजनाअनुसार भदौ १७ गते उनलाई सरुवा गरिएको थियो । 

गिरीको सरुवाअघि चौकीदार रहेका नवीन राईलाई झुम्का कारागार सरुवा गरिएको थियो । तर, विभागको निर्णय तत्काल कार्यान्वयनमा नआएपछि मोरङ कारागारमा कर्तव्य ज्यान मुद्दा दोषी किरण गुरुङ चौकीदार बनाइएको छ । 

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए । रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो । रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए ।

यही प्रकरणमा गिरी जेलमा छन् । गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ । पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए ।


जेलमा चौकीदार बन्न किन मरिहत्ते ?

कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन् । चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’हरू हुन्छन् । कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ । उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन् । त्यसबाहेक पनि चौकीदार दिनभरि बाहिर घुम्न र स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउँछन् ।

साझासम्म कारागार प्रवेश गरिसक्नुपर्ने दिनभरि जहाँ पनि हिँड्न मिल्ने र दिनभरिमा आफ्नो गृह नगरीमा अरू पनि धन्दा चलाउन पाइने भएकोले पनि गिरी मोरङ कारागार आउन खोजेका हुन् । यसअघि गिरी मोरङ कारागारको चौकीदार रहँदा दिनभरि हिँडडुल गरी ठेक्का पट्टा चलाउने देखि कारागार भित्र कैदीबन्दिलाई यातना दिनेदेखि असुली धन्दामा लाग्ने गरेको यहाँका कैदी बन्दी बताउँछन् ।

राजनीतिक दलसँग निकट र सहयोगी रहेका व्यक्तिले त नेताहरूलाई प्रयोग गरेर जेलभित्र आफ्नो प्रभाव बढाउन खोज्छन् । गिरीले पनि त्यही चाहेको देखिन्छ ।

चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दी बिच सहमति वा चुनावै पनि हुने गर्छ । त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा कुरा पुर्याइन्छ । प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्छ ।

तर, काँग्रेस सत्तामा आएपछि पावरको भरमा गिरीले मोरङ कारागार सरुवा मिलाएका थिए । ९ सय ७२ जना कैदी बन्दी रहेका छन् । जसमा ७२ जना महिला रहेका छन् ।