विराटनगर । तिहार नजिकिँदै गर्दा भारतबाट विष्फोटक पदार्थ पटका भित्रिन थालेको छ । मोरङ र सुनसरीको सीमावर्ती नाकाबाट तस्करले पटका भिœयाउन थालेका हुन् ।

मोरङमा मटेरुवा, दरैया, इस्लामपुर, रङ्गेली, डुमरिया, नोचालगायतका नाकाबाट र सुनसरीको भण्टाबारी, हुक्सी, लौकही, अमडुवालगायतका नाकाबाट पटका भित्रिन थालेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोरङको विभिन्न क्षेत्रदेखि भित्र्याइएको ठूलो परिमाणको पटका बरामद गरी नष्ट गरेको छ ।

pataka1

करिब ३ लाख ४८ हजार ८ सय मूल्य बराबरको पटका नष्ट गरिएको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयले पटका नष्ट गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनले विभिन्न मितिमा भित्र्याइएको खोर्सानी पटका ७४ बण्डल, झिरझिरे ३ सय ८८ प्याकेट, फूलझरी पटका २९ बण्डल, बुलेट पटका ९८ प्याकेट, स्काइ फ्लाक्स २ बण्डल, रकेट पटका ३८ प्याकेट बरामद गरिएको बताए ।

यस्तै ग्राउण्ड चक्र ५७ प्याकेट, रेड फ्लावर १ बण्डल बरामद गरिएको थियो । तस्करले खानेतेलको ग्यालेनमा राखेर पटका ल्याउने गरेको पनि प्रहरीले फेला पारेको छ । यस्तै सशस्त्र प्रहरीले १ लाख १० हजार मूल्य बराबरको पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरीले सुपर फ्लावर पटका २०, फ्लावरपोष्ट १ सय ५० थान, नागिन पटका २ सय ५०, कोब्रा २ सय, ग्राउण्ड चक्र १ सय बरामद गरेको हो । ठूला तथा साना आवाज निकाल्ने पटकाको आवाजले कानमा असर गर्ने र त्यसबाट निस्कने आगोले आगलागी हुने तथा मानिसको शरीरका विभिन्न अङ्गमा चोट पुग्न सक्ने भएकोले प्रहरीले यसलाई प्रतिबन्ध लगाएको हो ।