विराटनगर । विभिन्न गरगहना बनाएर भारतबाट चाँदीका तयारी सामान नेपालतर्फ तस्करी हुने गरेको पाइएको छ । पूजामा प्रयोग हुने विभिन्न सामग्री बनाएर भारतबाट नेपालतर्फ तयारी चाँदी तस्करी हुने गरेको खुलेको हो ।
नेपालबाट भारततर्फ चाँदी तस्करी हुने र त्यही चाँदीबाट विभिन्न सामग्री बनाई फेरि नेपालतर्फ नै अवैध ढङ्गले पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) रानीले विराटनगर–१६ बाट करिब २ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर १५ का ४५ वर्षीय बलराम सिंह छन् । उनी भरिया रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले धन्तेरा ठूला गणेश लक्ष्मी १४ थान, धन्तेरा सानो गणेश लक्ष्मी १७ थान, पत्थर जडित चाँदीको औंठी २४ थान र चाँदीको सिक्का १ सय थान बरामद भएको सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पक्राउ परेका सिंहको साथबाट चाँदी तस्करी गर्ने झोला पनि प्रहरीले बरामद गरेको छ । शरीरमा उक्त झोला बाँधेपछि तस्करीको चाँदी त्यही झोलामा राख्ने गरेको पाइएको छ ।
‘अवैध रूपमा चाँदी भारततर्फ तस्करी हुने गरेको पाइएको छ’ एसपी पौडेलले भने, ‘भारतबाट विभिन्न आकार दिँदै सामग्री तयार पारी नेपालतर्फ तस्करी गर्ने गरेको पाइएको छ ।’ चाँदीका मूर्ति र विभिन्न सामग्री शरीरमा कपडाले बाँधेर ल्याउँदै गरेको अवस्थामा सिंह पक्राउ परेका परेका थिए । पक्राउ परेकाको साथबाट प्रहरीले करिब २ किलो चाँदीको तयारी विभिन्न सामग्री बरामद गरेको बुझिएको छ । यसअघि पनि रानी नाकादेखि प्रहरीले दुई किलो एक सय ६२ ग्राम चाँदीबाट निर्मित सामग्री बरामद गरेको थियो ।
तिहारमा चाँदीको कारोबार बढी हुने गर्दछ । नेपालबाट काँचो चाँदी भारतर्फ पठाउने र उत्ताबाट तयारी सामान बनाएर विराटनगरतर्फ भरियामार्फत् तस्करी गरी ल्याउने गरेका छन् । ‘नेपालमा भन्दा भारतमा तयारी सामग्रीको राम्रो डिजाइन हुने भएकाले यहाँका केही ज्वेसर्लले काँचो चाँदी भरिया प्रयोग गरी पठाउने र उत्ताबाट तयारी सामग्री बनाएर ल्याउने गरेको पाइएको छ’–स्रोतले भने ।
पूजापाठ र गरगहनाका रूपमा प्रयोग गर्न मिल्ने गरी सामग्री बनाएर नेपालतर्फ अवैध रूपमा ल्याउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसअघि पनि गरगहना बनाएर भारतबाट नेपालतर्फ चाँदी तस्करी हुने गरेको थियो । चाँदीबाट मूर्ति, चम्चा, आचमनी, पञ्चपात्र, छत्री, माछा र विभिन्न गरगहना बनाएर भारतबाट तयारी सामान तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।
तिहारमा बिक्रीका लागि चाँदीका सामग्री तस्करी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । धन्तेरसको दिन चाँदीको कारोबार बढी हुने गर्दछ । त्यही भएर यहाँका केही व्यापारीले भरियालाई निश्चित रकम दिएर चाँदीको तस्करी गरी विराटनगर ल्याउने गर्दछन् । बरामद सामग्री कसको हो भन्ने खुलेको छैन । पक्राउ परेका युवा भरिया मात्र रहेको प्रहरीले जनाएको छ ।
‘विभिन्न सामग्री बनाएर ल्याउने नाममा चाँदी तस्करी हुन थालेको पाइएको छ’ उनले भने, ‘प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ ।’ अभियुक्तले ‘विराटनगरमा एकजनालाई लगेर दिनू’ भनेर आफूलाई चाँदी बोकाएर पठाएको बयान दिए पनि विराटनगरका सम्पर्क व्यक्ति र उनलाई जोगबनीमा चाँदीबाट निर्मित सामग्री दिनेको नाम भने नखुलाएको प्रहरीले जनाएको छ ।
उनले ती सामग्री विराटनगर ल्याइदिए बापत आफूले पाँच सय रुपैयाँ पाउने गरेको बयान प्रहरीलाई दिएका छन् । चाँदी तस्करीमा ठूलै गिरोहको संलग्नता रहेको प्रहरीको आशङ्का छ । तस्करको ठूलै सञ्जाल छ । प्रहरी त्यो सञ्जाल तोडेर सीमा क्षेत्रबाट हुने चाँदी तस्करी पूरै नियन्त्रण गर्ने अभियानमा लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले गत जेठ २९ गते पनि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट तीन किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको थियो । २०७३ साल चैत २४ गते रङ्गेली नगरपालिका–७ बाट प्रहरीले १० किलो चाँदी र चाँदीका गरगहना बरामद गरेको थियो । त्यस्तै २०७३ चैत २९ गते भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रङ्गेली–७ बाटै पाँच किलो चाँदीका गरगहना प्रहरीले बरामद गरेको थियो ।