जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा खुकुलो बनाएपछि मंगलबारदेखि बजारमा चहल पहल बढेको छ । बजार खुल्ला भएपछि कोरोना संक्रमण झन बढ्ने त्रास उत्पन्न भएको छ ।
कोरोना संक्रमित बढेपछि झापाका १० पालिकाले साउन पहिलो सातादेखि ‘लक डाउन’ गरेका थिए । जिल्ला प्रशासन कार्यालयले साउन १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण पालिकाले आह्वान गरेको लक डाउन त्यसैमा ‘मर्ज’ भयो ।
दुई सातादेखि निषेधाज्ञा भएपछि झापाका ब्यापारी, ब्यवसायी, राजनीतिक दलका नेता लगायतले निषेधाज्ञा खुकुलो बनाउन प्रशासनलाई दवाव दिएका थिए । उनीहरुको दवावका कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो मात्र बनाएन, सबै खालका ब्यापार, ब्यवसाय सञ्चालन गर्न पाइने सूचना जारी गर्यो । बिद्यालय, सिनेमा हल, जीम क्लब, सैलुन लगायतलाई भने प्रशासनको बन्देज कायम छ । यद्यपी प्रशासनले अन्य ब्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम राख्नुपर्ने क्लज भने राखेको छ ।
प्रशासनले निषेधाज्ञा जारी गरेपछि पनि संक्रमण नघटेको तथ्यांकले देखाएको छ । साउन १३ गते ३३४ जना संक्रमित हुँदा ४ जनाले ज्यान गुमाएका थिए । १४ गते २९७ संक्रमित तथा ६ जनाको मृत्यु भएको थियो । यसैगरी १५ गते २१७ जना संक्रमित भए भने १ जनाको संक्रमणका कारण निधन भएको थियो । लगातार संक्रमण बढेको भन्दै प्रशासनलाई त्यो समयमा निषेधाज्ञा जारी गर्ने चौतर्फी दवाव परेको थियो । प्रशासनले पनि साउन १६ गतेदेखि झापामा निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले निषेधाज्ञा जारी गरेपनि झापामा त्यो कढाईँका साथ कार्यान्वयन भने नभएको गुनासो छ । जिल्लाका मुख्य शहरमा पनि निर्वाध रुपमा उद्योग धन्दा, कल कारखाना तथा ब्यापार, ब्यवसाय सञ्चालनमा आएका थिए ।
निषेधाज्ञाकै क्रममा समेत झापामा संक्रमितको संख्या नघटेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । साउन ३० गते ११४ जना संक्रमित हुँदा ३ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी ३१ गते १८४ संक्रमित भएका थिए । झापामा सो दिन ५ जनाको ज्यान गएको थियो । साउन ३२ गते २३४ संक्रमित र ४ जनाको मृत्यु भएको छ ।
यतिधेरै संक्रमित थपिंदा र मृत्युको ग्राफ क्रमशः उकालो लागिरहेको अवस्थामा पनि किन निषेधाज्ञा खुकुलो पारियो ? बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले निषेधाज्ञा फितलो भएका कारण तालिका बनाएर खुल्ला गर्न प्रशासनसँगको छलफलमा सहमति भएको जानकारी दिए ।
‘झापा जिल्लामा मात्र निषेधाज्ञा लगाएर नहुने रहेछ, न्यौपानेले भने–‘बिमानस्थल, पुर्व–पश्चिम राजमार्ग, लोकसेवाको परीक्षा, कक्षा–१२ को परीक्षा जिल्लाले स्थगित गर्न सक्दैन, त्यसकारण मुख्य शहरमा मात्र निषेधाज्ञा जारी गर्नुभन्दा तालिका मिलाएर खोल्न प्रमुख जिल्ला अधिकारीलाई हामीले सुझाव दिएका हौं ।’ प्रशासनले निषेधाज्ञा लगाएको भएपनि चोक बजार बाहिरका सम्पुर्ण ब्यवसाय निरन्तर सञ्चालन भएकाले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै खुला गरिएको उनले बताए ।
झापाका सहायक प्रजिअ तिलोचन रिमालले झापासँग सिमाना जोडिएका अन्य जिल्ला खुल्ला भएका कारण झापामा निषेधाज्ञामा कढाईँ गर्न नसकिएको बताए । उनले नागरिकले गरेको लापरवाहीका कारण संक्रमण अपेक्षित रुपमा नियन्त्रणमा आउन नसकेको आरोप लगाए । जिल्ला प्रशासन कार्यालय र हरेक पालिकाको अनुगमन समितिले निरन्तर अनुगमन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न कढाईँ गर्ने प्रजिअ रिमालले जानकारी दिए ।
बिर्तामोडमा अनुगमन
निषेधाज्ञा खुकुलो पारेको पहिलो दिन झापाका बिर्तामोडमा अनुगमन गरिएको छ । स्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन भए/नभएको बारेमा बारेमा सम्बन्धित निकायले मंगलवार बिर्तामोडमा अनुगमन गरेको हो ।
सोमवार वसेको डिसीसीएमसी झापाको वैठकले स्वास्थ्यको मापदण्ड पूरा गरेर यातायात र पसल मंगलवारदेखि तालिका बनाएर खुकुलो गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयण्को टोलीले संयुक्तरुपमा बिर्तामोडमा सचेतना तथा अनुगमन कार्यक्रम गरेका छन् ।
स्वास्थ्यका मापदण्ड पालना नगरेका पसल तथा व्यवसायलाई मास्क, सेनिटाइजर वितरण गर्दै स्वास्थ्यको मापदण्ड अनुसार ब्यवसाय सञ्चालन गर्न अनुरोध गरेको बताइएको छ । डिसीसीएमसीको सोमबारको बैठकले झापामा बिहान १० बजेसम्म खाद्यान्न तथा त्यसपछि अन्य ब्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरेको थियो ।