धरान/ नैतिकताका आधारमा राजीनामा नदिए बर्खास्तीसम्ममा जाने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको चेतावनी आइरहेका बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले घुमाउरो भाषामा तीनजना पदाधिकारीको बहिर्गमन हुनुपर्ने अडान लिएका छन् ।

उनले शनिबार व्यक्तिगत तवरबाट विज्ञप्ति जारी गर्दै आफू तीनजना पदाधिकारीको कोपभाजनमा परिरहेकाले प्रतिष्ठानको हितका लागि तीनजना पदाधिकारीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरेका छन् । बीपी प्रतिष्ठानमा झण्डै ५२ दिनसम्म चलेको चिकित्सक, कर्मचारी, नर्ससम्मिलित संयुक्त सङ्घर्ष समितिले भने प्रतिष्ठानका चारैजना पदाधिकारीको बहिर्गमनलाई लिएर आन्दोलन गर्दै आएका थिए । प्रतिष्ठानमा समितिको करिब दुई महिने आन्दोलन चर्किएपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलले स्वास्थ्य उपचार, शैक्षिक, पदाधिकारीहरूबीचको वैमनश्यता, आरोप–प्रत्यारोप, उपकरण खरिदलगायतमा भ्रष्टाचार भएको ठह¥याएको थियो । साउन १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । जहाँ बीपी प्रतिष्ठानको ऐन २०४९, नियमावली २०५५ लगायत संशोधन गर्नुपर्नेसम्मको सुझाव दिइएको थियो ।

उक्त प्रतिवेदनपश्चात् नै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले चारैजना पदाधिकारीलाई नैतिकताका आधारमा राजीनामा नदिए प्रतिष्ठानको सञ्चालक परिषद्को बैठकमार्फत् बर्खास्तीको प्रक्रियामा जानेसम्म चेतावनी दिएका थिए । प्रतिष्ठानको ऐन २०४९ अनुसार पनि पदाधिकारीलाई बर्खास्त गर्न सकिने प्रावधान रहेको छ ।

प्रतिष्ठानमा चलेको लामो आन्दोलन, सरकारी प्रतिवेदनलगायतका कारण पनि प्रतिष्ठानका पदाधिकारी निकै आलोच्य बनेका छन् । जस क्रममा अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले विज्ञप्ति प्रकाशित गर्दै तीनजना पदाधिकारीले राजीनामा दिएर मार्ग खुलाउनुपर्ने उल्लेख गरेका छन् । उनले प्रतिष्ठान बचाउनका लागि हरदम तयार रहेको उल्लेख गरेका छन् । उनले घुमाउरो भाषामा प्रतिष्ठान बचाउनका लागि आफूबाहेक उपकुलपतिसहितले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनले आफूले तीन–तीनजना उपकुलपतिसँग कामको अनुभव बटुलेकाले पनि सबैले आर्थिक रूपमा फाइदाका लागि काम गरेको आरोप लगाएका छन् । उनले आर्थिक फाइदाका लागि आफूलाई जिम्मेवारीबाट बाहिर समेत राखेको उल्लेख गरेका छन् ।

यसबीचमा प्रतिष्ठानमा बढिरहेको बेथिति तथा भ्रष्टाचारलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई नेतृत्वमा काठमाडौं पुगेको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ध्यानाकर्षण गराएको हो । त्यसक्रममा देउवाले छानबिन समितिको प्रतिवेदन अध्ययन गरिरहेकाले प्रक्रिया पु¥याएर दोषीलाई कारबाही गरिने दाबी गरेका थिए । बीपी प्रतिष्ठानलाई बर्बाद हुनबाट जोगाउनका लागि पनि देउवालाई आग्रह गरिएको थियो ।

यता छानबिन समितिको प्रतिवेदनपश्चात् नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं र इटहरीस्थित कार्यालयको टोलीले विभिन्न कागजात नियन्त्रणमा लिएको छ । उक्त कागजातउपर अहिले छानबिन चलिरहेको छ । बीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जेठ २७ गतेको पत्रकार भेटघाटमा अख्तियारमा सबैभन्दा बढी मुद्दा बीपीको रहेको दाबी गरेका थिए ।