धनकुटा । गएको श्रावण २४ गते विहान धरान– धनकुटा सडक खण्डको पात्ले वेँसीमा भएको रात्री बस दुर्घटनामा परेका एक जना बिरामीले आफुले जिल्ला अस्पतालमा उपचार गराउने क्रममा म्याद गुज्रिएको औषधी पाएको गुनासो गरेका छन् ।
काठमाण्डौबाट भोजपुरको लागी आईरहेको वा.५ ख. ५६२४ नम्वरको रात्री वस श्रावण २४ गते विहान ३.४० बजे धनपा–१० पात्ले वेँसीमा रोकि राखेको को.१ ख. ४२२८ नम्वरको ट्रकलाई ठक्कर दिदा ८ जना यात्रु घाईते भएका थिए ।
घट्ना लगत्तै घाईतेहरु स्थानिय र प्रहरीले उपचारको लागी जिल्ला अस्पताल धनकुटा पुर्याएका थिए । बिहानीको चिरनिन्द्रा नै हराम हुने गरी एक्कासी दुर्घटनामा परेका वसका यात्रुहरु मध्ये ८ जना घाईते भएका थिए । घाईते मध्ये एक थिए भोजपुर वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख ५४ वर्षिया पर्वत राई ।
उनी लगायत ८ जना घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको थियो भने केहीलाई थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । घाईते मध्ये केहीको स्वास्थ्य अवस्था निक्कै गम्भिर थियो । उनी मध्ये २ जना बिरामी धरान तर्फ थप उपचारको लागी लगिएको र आफू लगायत अन्य ६ जना भने प्राथमिक उपचार पछि घर फर्किएको राईले बताए ।
तिनै घाईते मध्येका पुर्व क्याम्पस प्रमुख पर्वत राईको दाहिने खुट्टा र शरिरको अन्य भागमा चोट लागेको थियो । उनलाई जिल्ला अस्पताल धनकुटाका डाक्टरले दिएको प्रेस्क्रिपसन लिएर अस्ताल नजिकै रहेको एक औषधी पसलबाट खरिद गरिएको औषधी म्याद गुज्रिएको भेटिएको घाईते राईले टेलिफोन मार्फत ब्लाष्टलाई बताए ।
राईलाई कुन अस्पतालबाट औषधी ल्याएको थाहा नभएपनि रोसिन नाम गरेको घाउँमा लगाउने औषधी म्याद गुज्रिएको आफ्नै घर भोजपुरमा पुगेर थाहा भएको बताए । राईले आफू जस्तै अरु धेरै बिरामीलाई जिल्ला अस्पताल धनकुटाको आसपासमा रहेको मेडिकलहरुले म्याद गुज्रिएको औषधी विक्रि गर्ने गरेको हुन सक्ने बताए ।
खुलेआम जिल्ला अस्पताल धनकुटामा म्याद गुज्रिएको औषधी बिक्री वितरण भैरहँदा नियमनकारी निकाय भने मुख दर्शक बनेर जनताको स्वास्थ्यमा खेलवाड गर्नु ठिक नभएको घाईते राईको तर्क थियो । राई लगायत धेरै उपभोक्ताले म्याद गुज्रिएको औषधी खरिद गरेर सेवन गरिरहेको हुन सक्छ ।
उनले चाँडो भन्दा चाँडो म्याद गुज्रिएको औषधी विक्रि गर्ने मेडिकललाई पत्तालगाएर कार्वाही गर्न औषधी व्यवस्था विभागलाई अनुरोध गरेका छन् । धनकुटा जिल्ला अस्पताल र आसपासमा साझा औषधी पसल सहित सात वटा निजि औषधी पसलहरु रहेका छन् ।
तर कुन औषधी पसलले म्याद गुज्रिएको औषधी विक्रि गर्यो भन्ने पत्ता लगाएर कार्वाही गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको एक निजि क्षेत्रबाटै मेडिकल संचालन गरिहेका संचालकले ब्लाष्टलाई बताए । औषधी त बिक्रि गर्नु पर्छ तर म्याद गुज्रिएको विक्रि गर्न नहुने उनको तर्क थियो । उनले आफुलाई म्याद गुज्रिएको औषधी बिक्री गर्ने पसलको नाम थाहा भएपनि नबताउने दावी गरे ।