भद्रपुर । पछिल्लो समय झापामा परीक्षणको ६० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको पाइएको छ । कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि केन्द्रीय कोभिड व्यवस्थापन केन्द्र(सिसिएमसि)को टोलीले झापा जिल्लाका कोभिड अतिप्रभावित स्थानहरूको निरीक्षण गरेको हो ।

चिकित्सकसहित सिसिएमसिका प्रमुखको नेतृत्वमा काठमाडौँबाट सुरक्षा निकायका उच्च अधिकारीसहित जिल्ला अनुगमनमा आएको टोलीले झापाका कोभिड अतिप्रभावित क्षेत्र, होल्डिङ सेन्टरसहित सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेको थियो ।

निरीक्षण टोलीमा सिसिएमसिका प्रमुख बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान कोइराला, तीनवटै सुरक्षा निकायका उच्च अधिकारीलगायत प्रतिनिधिहरूको सहभागिता रहेका थियो ।

टोलीले जिल्लाको कोरोना अतिप्रभावित पालिका बुद्धशान्तिले सञ्चालन गरेको आइसोलेसन सेन्टरको अनुगमन र निरीक्षण गरेको थियो । टोलीले जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसीका प्रतिनिधिसँग छलफल समेत गरेको थियो ।

छलफलमा सिसिएमसिका प्रतिनिधिले जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण लागि गरिँदै आएका कार्यक्रम लगायत सम्पूर्ण गतिविधिहरूको बारेमा जानकारी लिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइले जानकारी दिए ।

जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरूले आँङ्कलन गर्दैगर्दा स्वास्थ्यकर्मीसहित सिसिएमसिको टोली जिल्ला अनुगमनमा आएको हो । 

सरकारले देशका १७ वटा जिल्लालाई कोरोना सङ्क्रमणको अति उच्च जोखिममा राखेको छ । त्यसमध्ये झापा पहिलो नम्बरमा रहेको छ । ५ सयभन्दा माथि सक्रिय सङ्क्रमित हुने जिल्लालाई सरकारले जोखिमयुक्त क्षेत्रको रुपमा सूचीकृत गरेको छ ।

झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३२३ रहेको छ । जिल्लाका १५ वटा पालिकाको सङ्क्रमण दरलाई हेर्दा बिर्तामोड , दमक , मेचीनगर र भद्रपुर रेडजोनमा रहेका छन् ।

शहरी क्षेत्रमा जनसङ्ख्याको चापसँगै बढी भीडभाड हुने भएकाले सङ्क्रमण दर उच्च पाइएको कोभिड फोकल पर्सन चौलागाईले बताए ।

त्यस्तै सङ्क्रमितहरुको उमेर समूहलाई हेर्ने हो भने दोस्रो लहरमा १९ देखि ६० वर्षसम्म ४६.०८ प्रतिशत र ६१ वर्षदेखि माथि ५३.९२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।