इनरुवा ।इटहरीका व्यापारीले इनरुवा पुगेर कोभिड विरुद्धको खोप लगाएका छन् । इटहरी उद्योग वाणिज्य संघको पहलमा इनरुवा अस्पताल पुगेर व्यापारीहरुले खोप लगाएका हुन् ।
खोप लगाउन इनरुवा पुगेकाहरुले इटहरी उपमहानगरपालिकाले समन्वय नगरेकाले सास्ती झेल्नु परेको बताएका छन् । उनीहरुले मेयर द्वारिकलाल चौधरीले आफुहरुलाई उपेक्षा गरेको बताएका छन् ।
इनरुवा पुगेर जोन्सन एण्ड जोन्सन खोप लगाउन लाइनमा बसेका अधिकांशले स्थानीय तहको वेवास्ताले अन्यत्र पुगेर खोप लगाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।
उनीहरुले स्थानीय तहको समन्वयमा जिल्लाका अन्य पालिकामा खोप लगाउने कार्य भैरहँदा आफुहरु भने उपेक्षामा परेको बताए ।
व्यापारीहरुलाई लिएर खोप लगाउन इनरुवा अस्पताल पुगेको उद्योग वाणिज्य संघ इटहरीको टोलीले समेत मेयर चौधरीकै कारण आफुहरुले सास्ती झेल्नु परेको बताएको छ ।
उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोखरेलले आफुहरुको कोटामा परेको खोप समेत मेयरले कटौती गरिदिएको बताए । उनले स्थानीय तहमै खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेपनि चौधरीले वेवास्ता गरेको बताए ।
पोखरेलले मेयर र उपमहानगरपालिकाबाट साथ नमिलेपछि स्वास्थ्य कार्यालय र सुनसरी प्रशासन सँगको समन्वयमा इनरुवा अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइको बताए । उनले प्राथमिकताका आधारमा क्रमशः सबै व्यापारीलाई खोप उपलब्ध गराइने बताए ।