मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको लेखनाथ पुस्तकालय तथा वाचनालयको आयोजनामा मिक्लाजुङ गाउँपालिकामा रहेका ९ वटा  वडा स्वास्थ्य चौकी तथा  कोभिड अस्पताल मिक्लाजुङलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

बुधबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री वितरण गरिएको लेखनाथ पुस्तकालय तथा वाचनालयका सचिव पुष्प बरालले बताए ।

वितरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १० थान थर्मल गन, १० थान पल्स अक्सीमीटर, १० थान सेनीटाइजर, १० प्याकेट मास्क, १० प्याकेट ग्लोभ, स्व.अध्ययन सामग्री  लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको पुस्तकालयका अध्यक्ष गोविन्द बस्नेतले बताए ।  उक्त स्वास्थ्य सामग्री मिक्लाजुङका ९ वटै वडा स्वास्थ्य चौकी र कोभिड अस्पताललाई  लक्षित गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बस्नेतले बताए ।

कोभिड १९ को संक्रमणले  हाल विश्वलाई नै समस्या पारिहेको यो वर्तमान अवस्थामा सामाजिक संघ संस्थाहरुको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष फाइदा पुर्याउने किसिमका   स्वास्थ्य सामग्री वितरण गरेकोमा  कार्यक्रमकी प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले धन्यबाद ज्ञापन गरिन् । 

कोभिड १९ लाई नियन्त्रण गर्न मिक्लाजुङ गाउँपालिका समेत स्थानीय तहमा गम्भीर भएर लागेको र यसमा समुदायको सहयोग मुख्य रहने राईले बताइन्। 

रिड नेपाल काठमाण्डौको सहयोगमा लेखनाथ पुस्तकालय तथा बाचनालय मिक्लाजुङले मिक्लाजुङ क्षेत्रमा बिभिन्न प्रकारका कोभिड १९ प्रतिकार्य कार्यक्रम संचालन गर्दै आएको छ । पुस्तकालयले प्रचार पसार, सक्रिय संक्रमितहरुलाई घरघरमा गई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गरिसकेको पुस्तकालयका सचिब पुष्प बरालले बताए ।

अब चाडै पुस्तकालयले कोभिड १९ का कारण ज्यान गुमाएका र रोजगारी गुमाएका परिवारलाई खाद्यान्न सहितको राहत कार्यक्रम संचालन गर्ने पुस्तकालयका अध्यक्ष गोविन्द बस्नेतले बताए ।