सुनसरी । सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित हुँदै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०।०८१ मा १० हजार ६ सय ४१ हेक्टर क्षेत्रफल जमिनमा मकै खेती भएको छ । त्यसबाट करिब ८३ हजार मेट्रिक टन मकै उत्पादन भएको छ ।
जबकि आर्थिक वर्ष ०७९।८० मा जम्मा ९ हजार ६ सय ७४ हेक्टरमा मात्रै मकै खेती भएको थियो । जसबाट करिब ७५ हजार ५ सय मेट्रिक टन मकै उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७८।७९ मा ९ हजार २ सय १४ हेक्टरमा र आर्थिक वर्ष ०७७।७८ मा नौ हजार ३४ हेक्टरमा मकै खेती भएको कृषि ज्ञान केन्द्र सुनसरीका वार्षिक प्रतिवेदनहरूले देखाएका छन् ।
हिउँदे बालीमा अन्य बालीभन्दा मकै खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित हुँदै गएको ज्ञान केन्द्र सुनसरीका सहायक बागवानी विकास अधिकृत तथा सूचना अधिकारी प्रवीणलाल श्रेष्ठ बताउँछन् । ‘हिउँदे बालीमा मकै राम्रो देखियो । किसानलाई बजारको समस्या छैन । घाँसका रूपमा पनि बिक्री हुने, दाना बनाएर बेच्न पनि मिल्ने भएपछि किसानलाई सजिलो भएको छ’ श्रेष्ठ भन्छन्, ‘सुनसरीमा प्रत्येक वर्ष मकै उत्पादनको क्षेत्रफल पनि बढ्दो छ । उत्पादन पनि बढ्दै गएको छ ।’
धेरै प्राविधिक ज्ञानको आवश्यकता नपर्ने, तुलनात्मक रूपमा मिहिनेत कम लाग्ने, खेतीमा प्रविधिको प्रयोग गर्न सकिने र बजारको पनि समस्या नभएका कारण मकै खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । त्यस्तै साइलेज घाँसका लागि हरियो मकैको प्रयोग मकै खेतीमा आकर्षणको कारण बनेको उनको भनाइ छ ।
‘गहुँ
खेती घटिरहेको देखिन्छ । तोरी कमै लगाइएको देखिन्छ । त्यसको सट्टा मकै खेती
बढ्दो क्रममा छ । सहज बजार छ यसको’ प्रमुख सिंहले भने, ‘यो चैं बोटदेखि नै
घरायसी घाँसको रूपमा पनि प्रयोग हुने भयो । साइलेज घाँसका लागि हरियो मकै
खेत–बारीबाटै बिक्री हुने गर्दछ ।’ किसानहरू परम्परागत खेतीबाट व्यावसायिक
खेतीतर्फ अग्रसर हुँदै गएकाले बढी नाफा हुने देखेपछि मकै खेतीतर्फ आकर्षित
हुन थालेको प्रमुख सिंहको भनाइ छ ।