इटहरी । ‘होस्टेल’ को सिक्वेल ‘होस्टेल ३’ आजबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदै छ । 

निर्माता पक्षले बुधबार इटहरीमा पत्रकार भेटघाट गर्दै टिकट बुकिङ खुल्ला भएको जानकारी दिए । प्रदर्शन अगावै फिल्मले ३५ प्रतिशत टिकट बिक्री गरेको निर्माता पक्षले जनाएको छ ।  बिद्यार्थीहरूको जीवनमा आउने उत्तार चढाव, प्रेम प्रसङ्गलगायत केही सस्पेन्स र द्वन्द्व समावेश गरी निर्माण गरिएको हुँदा ‘होस्टेल ३’ ले आकर्षक कमाइ गर्नेमा निर्माता पक्ष ढुक्क छ । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् ।

निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । कर्ण साङ्ग्रीला बैङ्कका माइक्रोफाइनान्स प्रमुख हुन् । ‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ । 

रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरिसकेको छ । सशान कँडेल ‘सन्तोष’ ले निर्देशक गरेको फिल्ममा कूल ब्वाय नामले चर्चित पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँलगायतका कलाकार छन् ।