धरान । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित क्याम्ब्रिज अङ्ग्रेजी मा.वि.का दुई बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पार्किङ गरी राखिएको अवस्थामा दुवै बसमा एकैपटक आगो लागेको थियो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । को.१ ख २०५० र मे.१ ख १८१६ नम्बरको बसमा एकसाथ आगलागी भएको प्रहरीले जनाएको छ । बसको बीचको भाग जलेको छ । विद्यार्थी बस्ने सिटहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्यालयले भने पार्किङ क्षेत्रमा विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने जनाएको छ । तर, स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ, ‘पार्किङस्थल र विद्युत् रहेको क्षेत्र १० मिटरको दूरीमा पर्छ ।’
त्यसकारण आगलागीको घटना शङ्कास्पद रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । एकै पटक दुईवटा बसमा के कसरी आगलागी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । उक्त विद्यालय प्रिन्सिपल रामप्रसाद सुहाङले सञ्चालन गर्दै आइरहेका छन् । उनी प्याब्सन शिवसताक्षीका नगर अध्यक्ष हुन् । प्रिन्सिपल सुहाङका अनुसार दुइटै बस कामै नलाग्ने गरी क्षति भएको छ । ‘करिब ३२ लाख रुपैयाँको क्षति भएको छ’ उनले फोनमा भने, ‘अपरान्ह ३ बजे विद्यार्थीहरू पुर्याएर राखेको गाडीमा साँझ ८ बजेतिर आगलागी भयो भनेर स्थानीयले मलाई खबर गरे ।’
उनले
कसैले आगो लगाइदिएको हुनसक्ने जानकारी दिए । ‘गाडीबाटै सर्ट भएर लाग्ने
अवस्थै छैन, किनकि म ७ बजेर २० मिनेटपछि मात्रै घर आएको थिएँ’ उनले भने, ‘८
बजेर १ मिनेटमा मलाई स्थानीयले खबर गरेर तपाईंको गाडीमा आगलागी भइरहेको छ
तुरुन्त आउनूस् भनेर फोन गरी जानकारी गराएका थिए । म पुग्दा पूरै आगो
लागिरहेको थियो ।’ उनका अनुसार शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको
बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिए पनि बस चाहिँ कामै नलाग्ने
अवस्थामा रहेको छ । यसबारे प्रहरीलाई जानकारी गराइसकेको उनले बताए ।