धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० नम्बर वडाक्षेत्रमा धरान प्रहरीले तीन राउन्ड हवाई फायर गरी गाँजा कारोबारी पक्राउ गरेको छ । 

धरान–२० को चिमफुले खोलाबाट गाँजा ओसार–पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाको टोलीले विष्णुपादुकाबाट रेल्वेतर्फ आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि भागेका थिए ।

सामानसहित भाग्ने प्रयास गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर खोल्नुपरेको जनाएको छ । जङ्गलको भित्री पैदल बाटो हुँदै आउँदै गरेको अवस्थामा शङ्का लागी जाँच गर्न खोज्दा उनीहरू जङ्गलतर्फ भागेका थिए । 

प्रहरीले हवाई फायर खोलेपछि एकजना भरिया धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरिएको छ भने अन्य केही भरियाहरू भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार नौ वटा बोरामा प्लाष्टिकसहित प्याक गरेको अवस्थामा २ सय ३० केजी बरामद गरिएको छ भने प्लाष्टिक हटाई तौल गर्दा दुई सय २५ केजी गाँजा बरामद गर्न सफल भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानको राति प्रहरीले सामान बरामद गर्न सफल भएको हो । फरार रहेका अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।